ad ad

कारोबार


झ्याप झ्याप बिजुली जान्छ, फेरि लोडसेडिङ सुरु भएको हो?

झ्याप झ्याप बिजुली जान्छ, फेरि लोडसेडिङ सुरु भएको हो?

वसन्त अर्याल
पुस १६, २०७७ बिहिबार १०:५६,

छ महिना अघिसम्म नेपालमा उत्पादन भएको विद्युत् खेर गएको बताउने नेपाल विद्युत् प्राधिकरणले अहिले पिक समयमा विद्युत् व्यवस्थापन गर्न नसक्दा उपभोक्ता मारमा परेका छन्।

प्राधिकरणको व्यवस्थापकीय कमजोरीको कारण दिनमा ४/५ पटक विद्युत् जाने गरेपछि पछिल्लो समय प्राधिकरणप्रति जनगुनासो त बढेको छ नै, फेरि लोडसेडिङ गर्नखोजेको आशंका गरिनथालेको छ।

यद्यपि प्राधिकरण यसलाई मान्न तयार छैन। उसकै भनाइअनुसार नेपालमा लोडसेडिङ हुने कुरा हल्लामात्रै हो। तर किन बेलाबखत विद्युत् आपूर्तिमा समस्या देखियो त!

अहिले पनि प्राधिकरणले भारतबाट ६ सय मेगावाटसम्म विद्युत् आपूर्ति गरिरहेको छ। यसका बाबजुद पिक आवरको लोड भने धान्नसकेको छैन। प्राधिकरणकै कर्मचारी नयाँ व्यवस्थापनको कमजोरीका कारण विद्युत् वितरणमा समस्या आएको बताउँछन्।

तर प्राधिकरणका प्रवक्ता मदन तिम्सिना बढी लोड भएको कारण समस्या भएको बताउँछन्। उनले गत वर्षको पुस १५ को तुलनामा यो वर्ष करिब सय मेगावाट विद्युत् खपत बढेको बताए।

‘नयाँ व्यवस्थापनको कमजोरीका कारण विद्युत् आपूर्तिमा समस्या होइन। गत वर्षभन्दा बढी विद्युत् माग भएको छ’, तिम्सिनाले नेपालखबरसँग भने, ‘विद्युत् माग बढी भए पनि लोडसेडिङ सुरु भएको छैन।’

प्राधिकरणले जाडोको समयमा बढीमा ५ सय मेगावाट विद्युत आपूर्ति गर्ने योजना बनाएकोमा ६ सय मेगावाटसम्म आपूर्ति गर्दा समेत व्यवस्थापन गर्नसकेको छैन।

उनले लोडसेडिङ ३ वर्षअघि नै हटेको भन्दै अब लोडसेडिङ हुन्छ भन्नु मनोवैज्ञानिक त्रास मात्रै भएको बताए।

‘कुलमान घिसिङले नेतृत्व गरेको समयमा प्राधिकरणले नेपालबाट लोडसेडिङ हटाउन सफल भयो’, उनले भने, ‘कुलमान प्राधिकरणबाट बाहिरिएसँगै लोडसेडिङ सुरु भयो भन्नु मनोवैज्ञानिक डर मात्रै हो।’

केही दिनअघि सिस्टममा आएको खराबीका कारण बारम्बार विद्युत् जाने गरेको प्रवक्ता तिम्सिनको भनाइ छ।

‘सिस्टममा आएको खराबीले २÷३ दिन साँझको समयमा विद्युत् गएको हो। लोडसेडिङ भएको होइन’, उनले भने।

तर प्राधिकरणकै कर्मचारी भने व्यवस्थापकीय कमजोरीका कारण सिस्टममा खराबी आएको बताउँछन्।

विद्युत् जानुका दुई कारण
तिम्सिनाले नेपालमा विद्युत् जानुका दुई कारण रहेको बताए। एउटा केही मर्मतसम्भारको समयमा विद्युत् गएको हुन्छ। कुनै समस्या आउनुअगावै त्यसलाई निराकरण गर्न केही समय लाइन काटेर मर्मत गर्नुपर्ने अवस्थामा यस्तो हुने उनको भनाइ छ।

उदाहरण दिँदै उनले भने, ‘विद्युतको पोल सार्नुपर्दा, ट्रान्फर्मर परिवर्तन गर्नुपर्दा वा वितरणका पुराना संरचनालाई नयाँ बनाउनुपर्ने बेलामा विद्युत् जानसक्छ तर प्राधिकरणले पहिल्यै उपभोक्तालाई पहिले जानकारी दिने गरेको छ।’

त्यस्तै अर्को कारणचाहिँ ‘अन सेडुल’ विद्युत् जानु हो। उनका अनुसार प्राविधिक कारणले यसो हुन्छ। नेपालको विद्युत प्रसारण प्रणाली पुरानो हुँदा बेला–बेला बिग्रिने समस्याले विद्युत् जान्छ।

‘उपभोक्ताको मागअनुसार विद्युत् पु¥याउन सकिएन भने लोडसेडिङ हुन्छ। अहिले त्यस्तो अवस्था होइन। लोडसेडिङ हटेको ३ वर्ष भइसक्यो। यो दुई कारणले हरेक वर्ष विद्युत् जाने गर्छ’, प्रवक्ता तिम्सिनाले भने, ‘नेपालमा एउटा सिस्टममा अवरोध हुनेबित्तिकै अर्को सिस्टमबाट विद्युत् बाल्ने प्रणाली छैन।’

उनले अहिलेकै अवस्थामा सक्दो ग्राहकलाई कम अवरोध हुने गरी काम गरिरहेको दाबी गरे।

१४५० मेगावाटसम्म विद्युत् खपत
नेपाल विद्युत् प्राधिकरणले अहिले १४५० मेगावाटसम्म विद्युत् खपत भएको बताएको छ। साँझ ६ बजेदेखि ९ बजेको समयमा सार्वजनिक विद्युत् खपत हुने गरेको छ।

‘निजी क्षेत्रको विद्युत् उत्पादन क्षमता साढे सात सय मेगावाट छ। सुख्खायाममा विद्युतको उत्पादन घटेर ३५०–४०० मेगावाटमा झरेको छ’, तिम्सिनाले भने, ‘प्राधिकरणको कुलेखानी, कालीगण्डकी, मर्स्याङ्दी ४–५ घण्टामात्रै सञ्चालन गर्न सकिन्छ। बाँकी विद्युत् भारतबाट ल्याइने गरेको छ।’

उनले अहिले पनि रातिको समयमा ९ सय मेगावाट विद्युत् मात्रै खपत हुने गरेको बताएका छन्। प्राधिकरणलाई पिक आवरमा विद्युत् व्यवस्थापन गर्न अप्ठ्यारो भएको उनको भनाइ छ।

कुलमान घिसिङले प्राधिकरणको नेतृत्व सम्हालेपछि पिकआवरमा उद्योगको विद्युत् कटौती गरी सर्वसाधारणलाई वितरण गर्ने व्यवस्था गरेका थिए। पछिल्लो वर्षमा सर्वसाधारणसँगै उद्योगमा समेत नियमित विद्युत् आपूर्ति हुँदै आएको थियो।

‘अहिलेको अवस्थामा भारतबाट थप १५० मेगावाटसम्म विद्युत् ल्याउन सक्छौँ’, तिमसिनाले भने, ‘अहिले उद्योग वा सर्वसाधारणको विद्युत् कटौती गर्ने अवस्था आएको छैन।’

उनले नेपालले प्राविधिक कारणबाहेक विद्युत् आपूर्तिमा समस्या नहुने दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .