उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा १३ महिना राज्यमन्त्रीको रुपमा काम गरेर बाहिरिएका मोतीलाल दुगडले आफू बाहिरिँदा व्यवसायीहरु धुरुधुरु राेएकाे बताएका छन्।
आफूले मन्त्री हुँदा धेरै व्यवसायीको समस्या सल्टाएको र अहिले मन्त्रालयबाट बाहिरिँदा व्यवसायीहरु फोन गरेर र भेटेरै रोएको उनले बताए।
‘निजी क्षेत्र नेपालको अर्थतन्त्रमा ७० प्रतिशतको अंग हो। निजी क्षेत्रलाई धेरैले गलत नजरले पनि हेर्ने गरेका छन्। उनीहरुको योगदानको कदर हुँदैनथ्यो’, उनले भने , ‘उनीहरु आफ्नो समस्या लिएर विभिन्न निकायमा झुलिरहन्थे। उचित खालको समस्या समाधानका लागि मैले धेरै पहल गर्ने गरेको थिएँ।समस्या लिएर मन्त्रालय आउने जोकोही व्यवसायाीलाई समन्वय गर्ने गरेको थिएँ। त्यसलाई सम्झेर अहिले धेरै व्यवसायीहरु फोनमा तथा भेटेर आशुँ नै झारिरहेका छन्।’
उनले राज्यमन्त्रीको अधिकार धेरै नहुने भएपनि समन्वय गरिदिने काम गरेको बताए।
‘म मन्त्रालयमा छँदा कुनै पनि सेवाग्राहीकाे काम ३ दिन भित्र जसरी पनि गरिनुपर्ने नियम नै बसालेको थिएँ। त्यसले पनि धेरै महत्व राखेको थियो’ उनले भने।

आफू सबैको पहुँचमा रहेको र पहिला सेवाग्राही रहेका कारणले पनि समस्या बुझ्न र त्यसको समाधानको पहल गर्न सक्षम भएको उनी बताउँछन्।
उनले भने, ‘त्यसले गर्दा निजी क्षेत्रको आत्मबल पनि बढिरहेको थियो। तर अहिले मन्त्रीबाट बाहिरिँदा व्यवसायीहरु आत्तिएका छन्।’
तर मन्त्रीबाट हटाउँदा पार्टीले विकल्प दिएको पनि उनले खुलासा गरे। मन्त्रीमानै बस्ने कि पार्टीको अरु जिम्मेवारी लिने भनेर सोधिएकोमा आफूले १३ महिना सरकारमा रहेर काम गरिसकेकाले अर्को नयाँ जिम्मेवारी रोजेको उनले बताए।
‘अहिले पार्टीले मलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिएको छ। त्यसलाई निर्वाह गर्नुपर्ने छ। अर्को कुरा आफू राजनीतिमा अझै धेरै अघि बढ्न चाहेको छु’ उनले थपे, ‘पार्टीले समानुपातिक तर्फबाट आफूलाई सांसद छानेको छ। अहिले केन्द्रीय सदस्य पनि बनाएको छ। आगामी दिनमा प्रत्यक्ष निर्वाचनमा जान योग्य हुने गरि त्यसमा लाग्नेछु।’

प्रतिक्रिया