ad ad

कारोबार


भूकम्पले भत्किएका संरचना निर्माणमा खर्च भयो ३ खर्ब ३९ अर्ब

भूकम्पले भत्किएका संरचना निर्माणमा खर्च भयो ३ खर्ब ३९ अर्ब

नेपालखबर
पुस १०, २०७७ शुक्रबार १०:२४,

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछि भत्किएका संरचना बनाउन ३ खर्ब ३९ अर्ब खर्च गरेको छ।

पुनर्निर्माणका लागि ४ खर्ब ८८ अर्बको पञ्चवर्षीय पुनर्निर्माण तथा पुनर्स्थापना योजनाअनुसार उक्त खर्च भएको प्राधिकरणले जनाएको छ।

२०७२ को भूकम्पपछि भएको दाता सम्मेलनमा प्रतिबद्धता भएको ४ खर्ब १० अर्बमध्ये ६७ अर्ब राहत तथा उद्धार कार्यमा खर्च भएको प्राधिकरणको भनाइ छ।

दाता सम्मेलनमा भारतले १ खर्ब सहयोग गर्ने प्रतिबद्धता गरेअनुसार २५ अर्ब अनुदान र ७५ अर्ब ऋण दिने समझदारी भएको थियो। ७५ अर्ब ऋणमध्ये ४९ अर्ब ऋण नेपाल सरकारतर्फ स्रोतान्तरण भएको हुँदा सम्मेलनको वास्तविक प्रतिबद्धता २ खर्ब ९४ अर्ब मात्रै रहेको प्राधिकरणले जनाएको छ।

यसका अलावा गैरसरकारी संस्थाहरुसँग ९० अर्ब रुपैयाँ परिचालनको सम्झौता भई ७२ अर्ब रुपैयाँ खर्च भइसकेको छ।

प्राधिकरणको छैठौं स्थापना दिवसको अवसरमा प्राधिकरणका सीईओ सुशील ज्ञवालीले ५ वर्षमा उल्लेख्य प्रगति भएको बताए। उनले निजी आवास पुनर्निर्माणमा ९० प्रतिशत प्रगति हासिल गरेको दाबी समेत गरे।

‘हामीले पुनर्निर्माणका लागि ७ लाख ९६ हजार लाभग्राहीसँग अनुदान सम्झौता गरेकोमा ५ लाख ५६ हजार घर पुनर्निर्माण भएको छ’, सीईओले ज्ञवालीले भने, ‘बाँकी १ लाख ६८ हजार पुनर्निर्माणको अन्तिम चरणमा छन्।’

उनले निर्माणाधीन १३० एकीकृत बस्तीमध्ये ५० वटा बस्तीको पुनर्निर्माण सकिएको बताए।

उनका अनुसार सांस्कृतिक तथा पुरातात्विक सम्पदाको जीर्णोद्धार तथा पुनर्निर्माणमा ९ सय २० वटा सम्पदामध्ये ४ सय ६५ वटा सम्पन्न भइसकेका छन् । रानीपोखरी पुनर्निर्माणको कार्य सकिएको छ भने धरहराको २०औँ तल्लाको पुनर्निर्माण भइरहेको छ।

सिंहदरबारको मुख्य प्रशासनिक भवनको उत्तर, दक्षिण र पूर्वी भाग पुस महिनाभित्र सम्पन्न गरी माघ महिनामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सार्ने तयारी भएको छ।

भूकम्पबाट क्षतिग्रस्त कुल ७ हजार ५ सय विद्यालयमध्ये ५ हजार अर्थात् ८१ प्रतिशत पुनर्निर्माण सम्पन्न भएका छन्।

कुल ४ सय १५ सरकारी भवनमध्ये ३ सय ७४ वटा अर्थात् ९० प्रतिशत पुनर्निर्माण सम्पन्न भइसकेका छन्। त्यसैगरी सुरक्षा निकायका २ सय १६ भवनमध्ये २ वटा पुनर्निर्माण बाँकी छ।

गुम्बा पुनर्निर्माणले समेत गति लिएको ज्ञवालीले जानकारी दिए। यसअनुसार क्षति भएका १ हजार ३ सय गुम्बामध्ये ८ सय ९५ वटा पुनर्निर्माण गर्नुपर्ने अवस्थामा छन्।

पुनर्निर्माणका क्रममा विभिन्न जिल्लामा ७ सय ६२ किमि सडक पुनर्निर्माणमध्ये ४ सय ४३ किमि सम्पन्न भइसकेको छ।

प्राधिकरणले कोरोना भाइरसलगायतको कारणले ५ वर्षमा सबै काम सम्पन्न गर्न नसकेको भन्दै १ वर्षका समयवधि थपिएको छ।

ज्ञवालीले आगमी असार मसान्तसम्म सबै पुनर्निर्माणका काम सकी पुससम्म सबै सम्पत्ति नेपाल सरकारलाई हस्तान्तरण गर्ने बताए।

नेपालको पुनर्निर्माण भारत र पाकिस्तानभन्दा छिटो भएको उनको दाबी छ।

‘नेपालको जस्तो ८ लाख घर पुनर्निर्माण गर्नुपर्ने अन्य देशको अवस्था बनेको थिएन’, ज्ञवालीले भने, ‘नेपालको स्रोतको अभाव तथा भौगोलिक कठिनाइका बीच विश्वलाई राम्रो काम गरेको सन्देश दिएका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .