काठमाडौंको दरबारमार्गमा रहेको पाँचतारे होटल डेला अन्नपूर्ण बन्द हुने भएको छ।
५५ वर्ष पुरानो होटल अन्नपूर्ण कोभिड १९ को महामारीको कारण डिसेम्बर सकिएसँगै बन्द हुने निश्चित भएको होटल व्यवस्थापनले जनाएको हो।
अन्नपूर्ण होटल सञ्चालक तथा होटल एसोसिएसन नेपालकी अध्यक्ष समेत रहेकी सिर्जना राणाले आम्दानीभन्दा खर्च बढेकाले होटल बन्द गर्नुपरेको बताएकी छिन्।
नेपालका पाँचतारे होटल विदेशी पर्यटकका कारण चल्ने गरेका छन्। तर विश्वभर कोभिड १९ को महामारीले पर्यटक आवागमन बन्द भएको छ। पर्यटन व्यवसायीले २०२१ मा पनि पर्यटन क्षेत्र चलायमान नहुने बताएका छन्।
‘आगामी वर्षभर पनि विदेशी पर्यटक आउने सम्भावना छैन’, राणाले भनिन्, ‘हाम्रो आम्दानीले अहिले खर्च धान्न सक्दैन। त्यसैले होटल बन्द गर्ने निर्णय गरेका हौँ।’
दरबारमार्गको ४३.८६ रोपनी क्षेत्रफलमा फैलिएको होटलमा ३६० जना कर्मचारी कार्यरत रहेको राणाले नेपालखबरलाई जानकारी दिइन्।
‘कोरोनाको समयमा बाँचौँ र बचाऔँ भन्ने हाम्रो अभियान रहेको थियो। त्यसको लागि कर्मचारीलाई न्यूनतम तलब दिएर राखेका थियौँ’, राणाले भनिन्, ‘हामीले जतिसुकै होला भन्ने विश्वास गरे पनि २०२१ भरी होटल सञ्चालन हुन सक्दैन।’
उनले कोरोना महामारीका कारण डिसेम्बरसम्म न्यूनतम तलब मात्रै दिएको बताइन्।
राणाका अनुसार कर्मचारीहरुलाई हालसम्मको तलब, सञ्चयकोष लगायतमा रहेको सम्पूर्ण रकम उपलब्ध गराउँदै विदा गरिएको हो।
सोल्टी होटलले स्वैच्छिक अवकाशमा कर्मचारीलाई विदा गर्दै
यसैबीच, देशकै ठूलो पाँचतारे होटल सोल्टीले कर्मचारीलाई स्वैच्छिक अवकाशमा विदाइ गरेको छ। कोभिड १९ महामारीका कारण होटल पूर्णरुपमा सञ्चालन गर्न नसक्दा प्रोत्साहन रकम दिएर अवकाश दिइएको होटलले जानकारी दिएको छ।
होटलका उपाध्यक्ष सोल्टी होटलका उपाध्यक्ष सुदर्शन चापागाईंले १४० कर्मचारीलाई विदा गरिएको बताए।
‘सोल्टीमा करिब ५ सय जना कर्मचारी छन्’, उनले नेपालखबरसँग भने, ‘होटलले ३ चरणमा १४० जनालाई स्वैच्छिक अवकाश दिएको छ।’
चापागाईंले कर्मचारीलाई फोर्सफुलीभन्दा पनि कर्मचारीको इच्छाअनुसार विदा गरिएको बताएका छन्।
केही समयअघि बसेको होटल व्यवस्थापन समितिको बैठकले कर्मचारीहरूमध्ये ४० प्रतिशतलाई विदा गर्ने बताएको थियो। यसअनुसार अहिले कर्मचारीहरूलाई स्वैच्छिक अवकाशका लागि सूचना प्रकाशन गरेको छ।
लामो समयसम्म होटल पूर्णरूपमा सञ्चालनमा नआउने र कर्मचारीहरूलाई पूरै तलब दिनसक्ने अवस्था नरहेका कारणले कर्मचारीहरूकै हितका लागि स्वैच्छिक अवकाशको अवधारणा ल्याइएको होटलले दाबी गरेको छ।
Shares

प्रतिक्रिया