एक वर्षको अन्तरमा दोस्रोपटक बक्यौता रकम भुक्तानीको लागि आन्दोलनरत उखु किसानले सरकारले वार्तामा बस्न गरेको आग्रह अस्वीकार गरेका छन्।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज किसानहरुलाई छलफलका लागि वार्तामा बोलाएको थियो। तर उनीहरु आउन नमानेको मन्त्रालय स्रोतले जानकारी दियो।
‘उहाँहरुलाई मन्त्रालयले छलफल गर्न बोलाएको थियो तर मान्नुभएन’, उखु किसानको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘उहाँहरुले बक्यौता रकम लिएर उद्योगमन्त्रीज्यू (लेखराज भट्टलाई) नै माइतीघरमै आउनुपर्छ भन्ने सन्देश पठाउनुभयो।’
यसअघि हिजो मन्त्रालयले चिनी उद्योगीहरुसँग छलफल गरेको थियो। सो क्रममा उद्योगीहरुले किसानको बक्यौता तिर्ने प्रतिबद्धता जनाएका थिए।
मन्त्रालयले उद्योगीहरुसँगको छलफलमा किसानलाई तिर्नुपर्ने रकम सार्वजनिक गर्न निर्देशन दिएको थियो।
उद्योगीले किसानको उखु किनेर पनि लामो समयसम्म पैसा नदिएपछि पोहोरदेखि नै किसानहरु काठमाडौं नै आएर आन्दोलन गर्दै आएका छन्। गत वर्ष पुसमा सरकारले बक्यौता उठाइदिने भनी सम्झौता गरेपछि किसानहरु फर्किएका थिए तर उद्योगमन्त्री भट्टले पुनः उनीहरुको मागमा उदासीनता देखाएपछि फेरि आन्दोलन गरिरहेका छन्।
गत २८ गतेदेखि नै उखु किसानले माइतीघरमा आन्दोलन गरेका हुन्।
उखु किसानहरुलाई चिनी मिलले ६४ करोड ५५ लाख रुपैयाँ भुक्तानी दिन बाँकी रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ।
कुन उद्योगको कति बक्यौता?
एभरेष्ट सुगर मिलले किसानलाई अझै ८ लाख २० हजार रुपैयाँ भुक्तानी दिएको छैन।
त्यस्तै, महालक्ष्मी सुगर मिलले २० लाख, अन्नपूर्ण सुगर एण्ड जनरल कम्पनीले १७ करोड, इन्दिरा सुगर मिलले ४ करोड ७० लाख, श्रीराम सुगर मिलले २६ करोड (कर्मचारीको तलब बक्यौता समेत) र लुम्बिनी सुगर मिलले किसानहरुको ८ करोड ४१ लाख रुपैयाँ तिरेको छैन।
Shares

प्रतिक्रिया