ad ad

कारोबार


निगमको १० वर्षे कार्ययोजना : ८ नयाँ गन्तव्य, ५ अर्ब ३० करोड नाफा

निगमको १० वर्षे कार्ययोजना : ८ नयाँ गन्तव्य, ५ अर्ब ३० करोड नाफा

नेपालखबर
मंसिर २९, २०७७ सोमबार ११:११,

नेपाल वायुसेवा निगमले २०३० सम्म ५ अर्ब ३० करोड नाफा गर्ने योजना बनाएको छ।

निगमले सन् २०२१ देखि २०३० सम्मको १० वर्षे व्यावसायिक योजनामा मन्त्रालयमा बुझाउँदै थप ८ अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्ने बताएको छ।

निगमका महाप्रबन्धक डिम प्रकाश पौडेलले सन् २०२१ देखि २०३० सम्मको व्यावसायिक कार्ययोजना संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई बुझाउँदै सुरुका ३ वर्ष नोक्सान नै भए पनि त्यसपछि निगम नाफामा जाने उल्लेख गरेका छन्।

उनले सोमबार मन्त्री भट्टराईलाई बुझाएको कार्ययोजनाअनुसार अघि बढ्दा सन् २०२१ मा वार्षिक २३ अर्ब ७६ करोड खर्च हुने र प्रत्येक वर्ष ९ प्रतिशतले खर्च वृद्धि हुने प्रक्षेपण गरिएको छ।

निगमले सो योजनाअनुसार २०२४ बाट नाफामा जानका लागि अन्तर्राष्ट्रिय उडानतर्फ सिड्नी, कोलम्बो, संघाई, इन्डोनेसिया, रियाद लगायत ८ नयाँ गन्तव्य थप्नुपर्ने भन्दै ती नयाँ गन्तव्यमा सेवा दिन न्यारोबडी ४ वटा र वाइडबडी २ वटा गरी ६ जहाज आवश्यक पर्ने जनाएको छ।

त्यस्तै, आन्तरिक उडानतर्फ सुधारका लागि पनि काठमाडौं, नेपालगञ्ज, पोखरा र विराटनगरलाई पहाडी क्षेत्र उडानको मुख्य आधार बनाएर उडान गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।

नेपाल सरकारको १५औं पञ्चवर्षीय योजना, सरकारको नीति तथा कार्यक्रम, हवाइ नीति २०६३, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रतिवेदन, सुधार सुझाव समितिको सिफारिस र विगतमा तयार भएका व्यावसायिक योजनाको पुनरवलोकनलाई आधार बनाएर यो व्यावसाियक योजना तयार पारिएको महाप्रबन्धक पौडेलले बताएका छन्।

यो पनि –
१० वर्षभित्र १२ नयाँ जहाज किन्ने निगमको कार्ययोजना

योजना प्रतिवेदनमा निगमको वित्तीय अवस्था, बजार विश्लेषण, कोभिड–१० ले निगममा पारेको असर, नेपाल सरकारबाट गरिएको अपेक्षालगायतका विषयवस्तुलाई सूक्ष्मरुपमा उल्लेख गरिएको छ।

प्रतिवेदन बुझ्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सुशासन र चुहावट नियन्त्रणलाई कडाइका साथ पालना गराउन नेपाल वायुसेवा निगमको नेतृत्वलाई निर्देशन दिए।

निगमले तयार पारेको १० वर्षे एकीकृत व्यावसायिक योजना प्रतिवेदन बुझ्दै मन्त्री भट्टराईले त्यहाँभित्रको सुशासन र चुहावट नियन्त्रणजस्ता काम भएका सरकारले राष्ट्रिय ध्वजावाहक हुनुको नाताले निगमलाई सहुलियत प्रदान गर्ने बताए।

१० वर्षे एकीकृत व्यावसायिक योजनाले निगम कुन बाटोमा हिँड्ने भन्ने राजमार्ग तयार भएको उल्लेख गर्दै उनले उक्त राजमार्गबाट दायाँबायाँ नगरी अहिले घाटामा रहेको निगमलाई व्यावसायिकरुपमा सफल बनाउनुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .