ad ad

कारोबार


उखुको मूल्य गत वर्षभन्दा ८ रुपैयाँ बढाउने सरकारको तयारी, किसानले जनाए असहमति

उखुको मूल्य गत वर्षभन्दा ८ रुपैयाँ बढाउने सरकारको तयारी, किसानले जनाए असहमति

नेपालखबर
मंसिर २५, २०७७ बिहिबार ३:४४,

कृषि मन्त्रालयले यस सिजनको लागि उखुको मूल्य प्रतिक्विन्टल ५ सय ४४ रुपैयाँ ३३ पैसा सिफारिस गरेको छ।

तराई क्षेत्रमा उखुको क्रसिङ सिजन सुरु नहुँदै यस वर्ष सरकारले उखुको मूल्य गत वर्षभन्दा ८ रुपैयाँ बढ्ने संकेत गरेको हो। अघिल्लो वर्ष किसानले उखुको मूल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा पाएका थिए।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले उखुको मूल्य निर्धारण गर्नका लागि बुधबार वाणिज्य मन्त्रालयमा प्रस्ताव पेश गरेको छ। कृषि मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीका अनुसार एक/दुई दिन भित्रमा उखुको मूल्य निर्धारण गर्नका लागि मन्त्रिपरिषदमा प्रस्ताव पेश गरिने छ।

कृषकलाई दिने ढुवानी मुनाफा ९२ रुपैयाँ ८९ पैसा, सरकारले दिने अनुदान ६५ रुपैेयाँ २८ पैसा र कृषकको उखुको लागत ३ सय ८६ रुपैयाँ १६ पैसा गरेर प्रतिक्विटल पाँच ४४ रुपैयाँ ३३ पैसा मूल्य सिफारिस गरिएको सहकायक प्रवक्ता केसीले जानकारी दिइन्।

उखु किसानका प्रतिनिधिले भने कृषि मन्त्रालयले सिफारिस गरेको मूल्यमा चित्त बुझाएका छैनन्। ‘यस वर्ष उखुको न्यायोचित मूल्य प्रतिक्विन्टल ६ सय १७ रुपैयाँ हुनुपर्ने हाम्रो माग छ,’ सर्लाहीका किसान नेता कमल बुढाथोकीले नेपालखबरसँग भने, ‘सरकारले उद्योगीको हितमा उनीहरुकै सल्लाह अनुसार मूल्य सिफारिस गरेको हुनसक्छ। यसमा किसानको सहमति छैन।’

सरकारले निर्धारण गर्न खोजेको ५४४ रुपैयाँ मूल्यले किसानको लागत पनि नउठ्ने उनले बताए। मिलगेट उखु उत्पादक समिति सर्लाहीले यस सिजनको लागि उखुको मूल्य प्रतिक्विन्टल ६ सय १७ रुपैयाँ कायम हुनुपर्ने माग गर्दै गत साता जिल्ला प्रशासन कार्यालय सर्लाही मार्फत् कृषि विकास मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको थियो।

यसै साता सर्लाही, महोत्तरीसहित तराईका अधिकांश चिनी उद्योगहरु सञ्चालनमा आउँदै छन्। देशकै सबैभन्दा धेरै उखु क्रसिङ गर्दै आएको सर्लाहीको हरिवनस्थित इन्दु शंकर चिनी उद्योगले भोली ढुंगा पूजाको तयारी गरेको छ।

सरकारले यो वर्षका लागि मूल्य निर्धारण गर्ने प्रक्रिया अघि बढाए पनि किसानले अघिल्लो वर्षकै उखुको भुक्तानीसमेत पाउन सकेका छैनन् । चार वटा चिनी उद्योगले किसानलाई उखुको पुरानो भुक्तानी गरेका छैनन्। मन्त्रालयका अनुसार नबलपरासीको लुम्बिनी चिनी उद्योगले ८ करोड ४१ लाख ४१ हजार ५ सय ८६ रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

त्यस्तै नवलपरासीमा रहेको इन्दिरा सुगर एण्ड एग्रो इन्ड्रिटिजले ४ करोड ७० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ भने सर्लाहीमा रहेको अन्नपूर्ण सुगर एण्ड जेनेरल इन्डष्ट्रिज प्रालिले ३३ करोड १० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

त्यसैगरी रौतहटमा रहेको श्री राम सुगर मिल्सले किसानलाई २६ करोड ७७ लाख ७८ हजार ६ सय रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको मन्त्रालयले जनाएको छ। उखुको भूक्तानी माग गर्दै सर्लाहीका किसानले २८ मंसिरदेखि काठमाडौंमा धर्ना सुरु गरिने घोषणा गरेका छन्।

तराई–मधेशका झण्डै डेढ दर्जन जिल्लाका लाखौँ किसान व्यवसायिक उखु खेती गर्दै आएका छन्। तर, उत्पादन लागत अनुसार उचित मूल्य नपाउँदा, सरकारले तोकेकै मूल्य पनि उद्योगीले नदिँदा, समयमै भुक्तानी नपाउँदा उखु किसान निरास छन् । यही निरासाको कारण धेरै किसानले उखु खेतीसमेत छाडिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .