ad ad

कारोबार


चक्रपथ सडक विस्तार : स्वयम्भू विश्वसम्पदा क्षेत्र बचाऔँ अभियानले आन्दोलन फिर्ता लिने

चक्रपथ सडक विस्तार : स्वयम्भू विश्वसम्पदा क्षेत्र बचाऔँ अभियानले आन्दोलन फिर्ता लिने

नेपालखबर
मंसिर २३, २०७७ मंगलबार ११:४९,

स्वयम्भू विश्वसम्पदा क्षेत्र बचाऔँ अभियानले आन्दोलन फिर्ता लिने भएको छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले बुद्धको हजार मूर्ति भएको चैत्य नभत्काउने आश्वासन दिएसँगै अभियानले आन्दोलन फिर्ता लिने बताएको हो।

बौद्ध धर्मावलम्बीले आफूहरुको आस्था रहेको स्वयम्भूमा विकासको नाममा संस्कृति मास्न नपाइने भन्दै स्वयम्भू बचाऔँ अभियान सुरु गरी आन्दोलनका कार्यक्रम गरेका थिए।

गत शनिबार दीप प्रज्वलन गरी शान्तिपूर्ण आन्दोलन समेत उनीहरुले गरेका थिए।

सडक विभागका अनुसार दोस्रो चरणको चक्रपथ सडक विस्तार आयोजनाभित्र बुद्धको हजार मूर्ति भएको चैत्य पनि पर्छ।

विभागका महानिर्देशक केशव कुमार शर्माले रिङरोडको क्षेत्रभित्र संरचना बनाएको बताएका छन्।

रिङरोड २०२७÷०२८ सालमा बनेको र सडक ऐन २०३१ मा बनेको तर चैत्य २०५७ सालमा सडक मिचेर बनाएको निर्माण भएको उनले बताए।

विभागले चैतसहितको संरचना रिङरोडको ६२ मिटर क्षेत्रमा पर्ने उल्लेख गरेको छ। अहिलेको मापदण्डअनुसार सडक निर्माण गर्दा चैत्यको आधा भाग काटिने उल्लेख गरेको छ।

स्वयम्भू बचाऔँ अभियानका सदस्य समेत रहेका शेर्पाले संघका अध्यक्षले सडकको बीचमा हुने हरियाली भागलाई घटाएर अन्य संरचना बचाउन नसकिए पनि बुद्धको हजार मूर्ति भएको चैत्य बचाउनुपर्ने मन्त्री नेम्वाङलाई आग्रह गरेका थिए।

उनले स्वयम्भू क्षेत्रमा ६२ मिटरको सडकलाई ५४ मिटरमा झार्दा सडकबीचको हरियाली भागलाई कटौती गरी सडकको मापदण्डमा र स्वयम्भू क्षेत्रलाई धेरै प्रभाव नपार्ने प्राविधिक सुझाव दिएका थिए।

No description available.

पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले विश्व सम्पदा सूचीभित्र रहेका कुनै पनि ठाउँमा संरचना निर्माण गर्दा विभाग तथा युनेस्कोको अनुमति लिनुपर्ने बताएको छ। उनले चैत्य निर्माण गर्दा अनुमति नलिएको बताए।

स्वयम्भू विश्वसम्पदा क्षेत्र बचाऔँ अभियानका संयोजक आचार्य नुर्बु शेर्पाले चैत्य निर्माण गर्दा लिखित अनुमति नलिए पनि सरकारको मौखिक अनुमतिमा बनाएको दाबी गरे।

‘२० वर्षअघि त्यो आस्थाको केन्द्र बनिसकेको छ’, उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा भने, ‘सडक निर्माण गर्दा अन्य संरचना बचाउन नसकिए पनि संस्कृति र आस्था जोडिएको बुद्धका हजार मूर्ति भएको चैत्य भत्काउनुहुँदैन।’

पुरातत्व विभागले स्वयम्भू विश्व संम्पदा सूचीभित्र पर्ने भएकाले त्यहाँका संरचना भत्काउँदा वा बनाउँदा संवेदनशील हुनुपर्ने बताएको छ।

विभागले काठमाडौंका कुनै एउटा सम्पदा सूचीबाट हट्दा काठमाडौंका सातै सम्पदा हट्नसक्ने हुँदा संवेदनशील हुनुपर्ने उल्लेख गरेको छ।

एक महिनाअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा स्वयम्भू क्षेत्र काठमाडौं महानगरपालिकाभित्र पर्ने भएकाले सडक क्षेत्रमा पर्ने संरचना हटाउने निर्णय भएको थियो। उक्त निर्णयपछि बौद्ध धर्मावलम्बीले स्वयम्भू बचाऔँ अभियान सुरु गरेका थिए।

मन्त्री नेम्वाङले बुद्धमार्गीहरू शान्त स्वभावका हुने भन्दै सहमति र छलफलबाट सुल्झाउन सकिने कुरामा आन्दोलन नगर्ने विश्वास व्यक्त गरे।

सरकारले विकास निर्माणका काम गर्दा सांस्कृतिक सम्पदा भत्काउने नभई संरक्षण गर्नेमा ध्यान दिएको उनले बताए।

उनले चक्रपथ दोस्रो चरणको काम चीनको सहयोगमा बन्न लागेकाले डिजाइन परिवर्तन गर्दा छलफल दातृराष्ट्र चीनसँग छलफल गर्नुपर्ने उनको भनाइ छ।

‘संस्कृति र सम्पदा जोगाउँदै विकास निर्माणका काममा सरकारको ध्यान छ’, नेम्वाङले भने, ‘हजार बुद्ध मूर्ति भएको चैत्य नभत्काउने गरी डिजाइन परिवर्तन गर्न चीनसँग छलफल गर्छौं। युनेस्को, पुरातत्व विभाग र अभियानका साथीसँग छलफल गरेरै अघि बढ्छौँ।’

No description available.

उनले यसको टुंगो छिटो लगाएर सडक निर्माणको काम अघि बढ्ने बताए। चक्रपथ दोस्रो चरण कलंकीदेखि धोबीघाटसम्मको कुल लम्बाइ ११.६ किमि छ।

भौतिक पूर्वाधार मन्त्रालयले छिट्टै विद्युतीय पोल स्थानान्तरण गर्न नेपाल विद्युत् प्राधिकरणसँग सहमति गरिसकेको छ।

गत महिना ३ महिनाभित्र अनिवार्य रुपमा कारखाना चोक र सानोभ¥याङस्थित हाई भोल्टेज टावर स्थानान्तरण गर्ने निर्णय भएको थियो।

कलंकीदेखि चाबहिलसम्म विस्तार हुने सडकमा २१ सय रूख कटानको काम सम्पन्न भइसकेको छ। बाँकी भौतिक संरचना र खानेपानीका पाइप सार्ने काम छिट्टै सकिने मन्त्रालयले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .