ad ad

कारोबार


महंगीको मारमा उपभोक्ताको भान्सा, खानेतेलमा उच्च मूल्यवृद्धि

महंगीको मारमा उपभोक्ताको भान्सा, खानेतेलमा उच्च मूल्यवृद्धि

सन्तोष न्यौपाने
मंसिर २३, २०७७ मंगलबार ११:३१,

कोरोना संकटले उपभोक्ताको क्रयशक्ति कमजोर भइरहेको बेला भान्सामा दैनिक उपभोग हुने खानेतेलको उच्च मूल्यवृद्धि भएको छ।

दसैँ तिहारजस्तो चाडपर्वमा पनि मूल्यवृद्धि नभएको खानेतेल पछिल्लो एक हप्तामा उच्च दरमा बढेपछि उपभोक्ताको भान्सा झन् महंगिने भएको हो।

अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको निहुँमा नेपाली व्यवसायीहरुले खानेतेलको उच्च मूल्यवृद्धि गरेका हुन्।

खुद्रा व्यवसायीहरुका अनुसार पछिल्लो एक हप्तामा खानेतेलको मूल्य प्रतिलिटर २० रुपैयाँसम्म वृद्धि गरिएको छ। विदेशबाट कच्चा पदार्थ आयात गरेर नेपालमा तेल उत्पादन गर्ने कम्पनीहरुले नै तेलको मूल्यमा उच्च वृद्धि गरेपछि त्यसको असर खुद्रा बजारमा परेको छ।

खुद्रा व्यवसायी महासंघका पूर्वअध्यक्ष पवित्रमान वज्राचार्यले होलसेलमै खानेतेलको मूल्यवृद्धि भएको बताए।

‘समग्रमा हेर्दा खानेतेलको मूल्य उपभोक्ताले प्रतिलिटर २० रुपैयाँसम्म बढी तिर्नुपर्ने भएको छ’, उनले नेपालखबरसँग भने, ‘विदेशबाट कच्चा तेल महंगो भएको हामीलाई जानकारी आएको छ।’

उनका अनुसार एक हप्ताअघि प्रतिलिटर १७० रुपैयाँमा खुद्रा मूल्यमा बिक्री भइरहेको सनफ्लावर तेल होलसेलमै १८५ रुपैयाँ पुगेको छ। खुद्रा बजारमा यो तेल अब प्रतिलिटर कम्तीमा १९० रुपैयाँ पर्ने वज्राचार्य बताउँछन्।

त्यस्तै, प्रतिलिटर १६५ रुपैयाँमा बिक्री भइरहेको सोयाबिन तेल अहिले होलसेलमै १७८ रुपैयाँ पुगेको छ। खुद्रा बजारमा प्रतिलिटर १७० मा बिक्री भइरहेको यो तेल अब उपभोक्ताले प्रतिलिटर १८० भन्दा धेरै तिर्नुपर्ने भएको छ।

‘होलसेलमै यसरी महंगिएर आएको छ, हामीले अब कतिमा बेच्ने होला?’, उनले प्रश्न गरे।

नेपालमा तेल उत्पादन गर्ने उद्योगहरुले विदेशमै कच्चा पदार्थको मूल्यवृद्धि भएकाले मूल्य बढाउनुपरेको प्रतिक्रिया दिएका छन्।

‘उहाँहरुले विदेशमै बढेको भन्नुहुन्छ’, वज्राचार्यले भने, ‘खोइ, कच्चा खानेतेलको मूल्य बढेको भनेर समाचार सुनिएको छैन।’

सरकारले वास्ता गरेन
यसरी महंगो भइरहेको बेलामा पनि सरकारले भने कुनै चासो दिएको छैन। बजारमा दुई रुपैयाँ बढाएको भनेर खुद्रा व्यवसायीलाई समात्ने सरकारले ठूला व्यापारीलाई भने साथ लिएको खुद्रा व्यवसायीहरुको आरोप छ।

बजारमा अन्य खाद्यान्नको मूल्यमा पनि वृद्धि भएको छ। कोरोना संक्रमण बढेपछि भएको लकडाउन खुलेसँगै हरेक सामानमा कम्तीमा १० प्रतिशतले मूल्यवृद्धि भएको थियो।

खाद्यान्नमा मात्र नभएर बिस्कुट, कर्नफ्लेक्स, स्याम्पोजस्ता उपभोग्य वस्तुको मूल्य पनि वृद्धि भएको छ। दसैँ तिहारको बेलामा खाद्यान्नमा १० प्रतिशतले मूल्यवृद्धि भएको थियो।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले खानेतेलमा उद्योगअनुसार थोरैदेखि धेरै मूल्यवृद्धि गरेको पाइएको बताए।

‘केही उद्योगले अलि बढी नै बढाएका छन्’, तिमल्सिनाले भने, ‘अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको भनेर बढाएको देखिन्छ।’

अन्तर्राष्ट्रिय बजारमा केही मूल्यवृद्धि भए पनि नेपालमा केही उद्योगले भने उच्च वृद्धि गरेको उनको भनाइ छ। नेपालबाट भारतमा समेत निर्यात गर्दा समस्या उत्पन्न भएको उनले बताए।

कतिले एमआरपी नै परिवर्तन गरेको र केहीले भने व्यवसायीको कमिसन कटाएर मूल्य समायोजन गरेको तिमल्सिनाले बताए।

‘नेपाल सकारसँग मूल्य नियन्त्रण गर्ने संयन्त्र नहुँदा तेलसहित अन्य खाद्यान्नको मूल्यवृद्धि भइरहेको छ’, तिमल्सिनाले भने, ‘बजार अनुगमन गर्ने र मूल्य नियन्त्रणको संयन्त्र, विश्लेषण गर्ने संयन्त्र नहुँदा यो स्थिति भएको हो।’

कोरोना संकटले गर्दा बजारमा खाद्यान्नसहित अन्य वस्तुको बिक्रीसमेत घटेको छ।

लकडाउनमा खाद्यान्नको व्यवसाय नरोकिए पनि त्यसले गर्दा खाद्यान्न बिक्रीमा ४० प्रतिशतसम्म कमी आएको वज्राचार्यले बताए।

‘उपभोक्ताले पहिलेजस्तो सामान उपभोग गरेका छैनन्’, वज्राचार्यले भने, ‘दसैँ, तिहार पर्वमा पनि यस्ता सामान बिक्री भएनन्। अहिले केही बढेको छ।’

मुलुकमा हरेक वर्ष अर्बौँ रुपैयाँको कच्चा तेल आयात हुन्छ। भन्सार विभागको तथ्यांकअनुसार पछिल्लो चार महिनामा नेपालमा १५ अर्बभन्दा धैको कच्चा तेल आयात भएको छ।

तथ्यांकअनुसार चार महिनामा क्रुड सनफ्लावर ४ अर्ब २० करोड ६६ लाख २६ हजारको आयात भएको छ भने क्रुड सोयाबिन तेल ११ अर्बभन्दा धेरैको आयात भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .