कारोबार


३३/११ केभीको लाँकुरी सब–स्टेसन चार्ज

३३/११ केभीको लाँकुरी सब–स्टेसन चार्ज

नेपालखबर
मंसिर १६, २०७७ मंगलबार ११:५३,

रोल्पा रोल्पाको लाँकुरीमा नेपाल विद्युत प्राधिकरणको ३३/११ केभी सब–स्टेसन चार्ज भएको छ।

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले प्राधिकरणको पूर्ण स्वामित्वमा रोल्पा नगरपालिका– ३ लाँकुरीमा नवनिर्मित सब–स्टेसनको सोमबार उद्घाटन गरेसँगै त्यसबाट विद्युत वितरण सुरु भएको छ।

योसँगै रोल्पाका अधिकांश क्षेत्रका ग्राहकले भरपर्दो विद्युत सेवा पाउने भएका छन्। सव–स्टेसन अभावमा यसअघि जिल्लामा पटकपटक विद्युत सेवा अवरुद्ध हुने गरेको थियो । यसअघि रोल्पामा रहेको ३३ केभीको वितरण प्रणाली नयाँ सब–स्टेसन सञ्चालनमा आएसँगै विस्थापित भएको छ।

सब–स्टेसनको सञ्चालनपछि एक स्थानमा समस्या हुँदा सबैतिर अँध्यारो हुने, प्राविधिक चुहावट कम हुने तथा उद्योग सञ्चालनका लागि विद्युत सेवा नियमित उपलब्ध हुने भएको छ।

No description available.

भारतको एटू–जेड इन्फ्रा इन्जिनियरिङ र नेपालको त्रिपुरेश्वर–जयदुर्गे जेभीले निर्माण गरेको उक्त सब–स्टेसन एसियाली विकास बैंकको १० करोड रुपैयाँको सहयोगमा निर्माण सम्पन्न भएको हो। सब–स्टेसनबाट रोल्पाका सुनील स्मृति गाउँपालिका, लुङ्ग्र गाउँपालिका, सुनछहरी गाउँपालिका, रुण्टीगढी गाउँपालिका र रोल्पा नगरपालिकाका ग्राहकले विद्युत सेवा पाउनेछन्। यसअघि रोल्पामा प्यूठानको झिम्रुक सब–स्टेसनबाट विद्युत वितरण हुँदै आएको थियो।

उज्यालो समृद्धिको प्रतीकः मन्त्री
सब–स्टेसन उदघाटन समारोहमा मन्त्री पुनले आगामी दुई वर्षभित्र देशका अधिकांश भू–भागमा विद्युतीकरण गरिसक्ने बताए।

उज्यालो समृद्धि र विकासको प्रतीक भएकाले सरकारले उज्यालोलाई प्राथमिकतामा राखेको उनको भनाइ थियो। ‘उज्यालो समृद्धिको प्रतीक हो, समृद्धिको ढोका हो’, मन्त्री पुनले भने, ‘सरकारले दुई वर्षभित्र हरेक नेपालीको घरमा विद्युत पु¥याउने गरी काम गरिरहेको छ।’

मन्त्री पुनले रोल्पामा बन्न लागेको १ सय ५६ मेगावाटको माडी जलासययुक्त आयोजनाको विस्तृत आयोजना अध्ययन करिब सकिएकाले अब छिट्टै निर्माणको प्रक्रिया अघि बढ्ने जानकारी दिए। मन्त्री पुनले दुई वर्षभित्र रोल्पाका हरेक गाउँमा विद्युतीकरण हुने गरी काम भइरहेको चर्चा गरे। आफू मन्त्री हुनुअघि जिल्लामा विद्युतका ८ हजार ५ सय ग्राहक रहेकामा हाल २३ हजार पुगेको भन्दै उनले विद्युतको पर्याप्त उपलब्धता र संचरना विस्तारसँगै यही वर्ष ग्राहक संख्या ३० हजार पुग्ने बताए।

कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरण जनताको घरमा बिजुली पु¥याउने मात्र नभई विद्युत सेवालाई थप गुणस्तरीय र भरपर्दो बनाउने काममा सक्रिय रहेको बताए।

प्राधिकरण विद्युत उत्पादनका साथै वितरण प्रणालीको विस्तार र सुदृढीकरणमा विशेष योजनाका साथ लागपरेको उनको भनाइ थियो।

विद्युत अर्थतन्त्रको इन्जिन भएको चर्चा गर्दै शाक्यले लाँकुरी सब–स्टेसन चार्ज भएसँगै घरेलु र ठूला उद्योग सञ्चालन भई जिल्लामा आर्थिक गतिविधि बढ्ने उल्लेख गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad