कारोबार


अर्थमन्त्री पौडेलद्वारा भैरहवा भन्सारको निरीक्षण, कर्मचारीलाई लोभलालचमा नपरी काम गर्न निर्देशन

अर्थमन्त्री पौडेलद्वारा भैरहवा भन्सारको निरीक्षण, कर्मचारीलाई लोभलालचमा नपरी काम गर्न निर्देशन

प्रकाश न्यौपाने
मंसिर ११, २०७७ बिहिबार १४:५,

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुक अहिले अप्ठ्यारो परिस्थितिमा रहेकाले सबै कर्मचारीले राज्यको काँध थाप्नु पर्ने बेला भएको बताएका छन्।

बिहीबार भैरहवा भन्सार कार्यालयको निरीक्षण गर्दै अर्थमन्त्री पौडेलले कोरोना भाइरसका कारण राज्यलाई स्रोत जुटाउन र परिचालनमा समस्या भएको बताउँदै राजश्व चुहावटलाई नियन्त्रण गरी राज्यलाई काँध थाप्न कर्मचारीलाई आग्रह गरेका हुन्।

‘यो बेला भनेको सबैले राज्यलाई सहयोग गर्ने बेला हो, अझ कर्मचारी साथीहरुको विशेष भूमिका हुन्छ। त्यसैले तपाईंहरुले दृढताकासाथ काम गर्नोस्’, उनले भने।

मन्त्री पौडेलले आफूले कहीँकतै हस्तक्षेपकारी भूमिका नखेल्ने जनाउँदै कामको परिणाम चाहिएको जनाए।

‘मैले सबैलाई भन्ने गरेको छु, कहीँकतै मबाट असहयोग भन्ने हुँदैन तर कर्मचारी साथीहरुले गुनासो नआउने गरी परिणाम निस्कने गरेर काम गर्नुस्’, उनले भने।

मन्त्री पौडेलले काम गर्ने क्रममा कहीँकतै लोभलालचमा नपरी राजश्व संकलनमा लाग्नसमेत निर्देशन दिए।

‘काम गर्ने क्रममा तपाईंहरु कतै लोभलालचमा नपर्नुहोला, आफ्नो भूमिका सही ढंगले निभाउनुहोला, गुनासो सुन्न नपरोस्’, उनले भने। नेकपा महासचिव समेत रहेका अर्थमन्त्री पौडेलले बजेटमा स्रोत व्यवस्थापन गर्न धौधौ भइरहेको जनाउँदै स्रोत व्यवस्थापन गर्न नसके राष्ट्रकै आर्थिक जीवनमा अवसर पर्ने बताए। उनले यसका लागि सबैले आआफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरे।

मन्त्री पौडेलले भन्सारका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको भन्दै बजेट अभावले काम हुन सकेन भन्ने अवस्था आउन नदिने जनाए। उनले भैरहवा नाकामा एकीकृत जाँच चौकी (आईसीपी) निर्माण अघि बढाउन पहल भइरहेको बताए।

‘नेपालगञ्जमा आईसीपी निर्माण सुरु गर्दा भैरहवामा पनि उद्घाटन गर्ने नेपाल सरकारको चाहना थियो। तर हामी एक्कैले गरेर हुँदैन। यस विषयमा भारतसँग पहल गर्नेछौं’, उनले भने।

१५ वर्ष अघि भारत सरकारको लगानीमा भैरहवा नाकामा आईसीपी निर्माण गर्ने सम्झौता भए पनि भारतीय पक्षको उदासीनताका कारण काम अघि बढ्न सकेको छैन। जसले गर्दा भैरहवा भन्सारको दैनिकी कामहरु सहजरुपमा हुन सकेको छैन।

यस्तै, मन्त्री पौडेलले बेलहिया–बुटवल व्यापारिक मार्ग अब चाँडै नै निर्माण सम्पन्न हुने जनाए।
‘यो सडक निर्माण अझै सकिएको छैन। यसले समस्या भइरहेको छ। मैले आयोजना प्रमुख र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवसँग कुरा गरेको छु। केही समयमै सडक निर्माण भइसक्ने छ र हामीले चाँडै नै उद्घाटन गर्न पाउने छौं’, उनले भने।

प्रमुख भन्सार भन्सार अधिकृत मनिराम पौडेलले आईसीपी निर्माणलाई चाँडो अघि बढाउन पहल गर्न मन्त्री पौडेलसँग आग्रह गरे। उनले पार्किङ अभावमा भन्सारमा जामको समस्या भएको बताउँदै अहिले गाडी पार्किङ गर्ने ठाउँ साँघुरो हुँदा चेकजाँचमा समेत ढिलाई भएको जनाए। यस्तै, उनले बेलहिया नाकाको सडक समयमै निर्माण नहुँदासमेत कठिनाई भएको जनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad