ad ad

कारोबार


बन्दीपुर केबलकारका लागि एसबीआई र एनएमबी बैंकको कर्जा

बन्दीपुर केबलकारका लागि एसबीआई र एनएमबी बैंकको कर्जा

नेपालखबर
मंसिर ११, २०७७ बिहिबार ८:५०,

तनहुँको पर्यटकीय गन्तव्य बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकार परियोजनाका लागि दुई बैंकले कर्जा लगानी गर्ने भएका छन्। दक्षिण एशियामै नमूना प्रविधिमा निर्माण हुन लागेको केबलकार परियोजनाका लागि नेपाल एसबिआई बैंक र एनएमबी बैंकले कर्जा लगानी गर्ने भएका हुन्।

बन्दीपुर केबुलकार एण्ड टुरिज्म लिमिटेड र बैंकबीच कर्जा लगानी गर्ने सम्बन्धमा हस्ताक्षर भएको छ। बैंकिङ पार्टनरका रुपमा एसबीआइ र एनएमबीसहितले एकार्कासँग सहवित्तीयकरण गरेका छन्। नेपाल एसबिआई बैंकका कमर्सियल शाखा काठमाडौँका चिफ म्यानेजर विनोद ढुंगेल र एनएमबी बैंक प्रोजेक्ट फाइनान्स हेड विशाल थापाले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।

बन्दीपुर केबलकार एण्ड टुरिज्मको लागत रु एक अर्ब ६६ करोड ८९ लाख रहेकामा स्वपूँजी र कर्जा अनुपात ३९÷६१ छ। आगामी असोज मसान्तभित्र पहिलो चरणको कमर्सियल अप्रेशन गर्ने गरी जम्मा रु ७० करोड व्यवस्थापन गरिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए। सोअन्तर्गत केबलकार, रेष्ट्रो जोन र मनोरञ्जनस्थल व्यावसायिक रुपमा खुला हुनेछन्। कर्जा विभाजनअनुरुप ७२.८५ प्रतिशत एसबिआई र २७।१४ प्रतिशत एनएमबी बैंकले प्रवाह गर्नेछन्।

त्यस्तै दोस्रो चरणको होटेलसहितको पूर्वाधार सञ्चालन ल्याउने गरी निर्माण गर्न एसबिआई र एनएमबी बैंकको सहवित्तीयकरणमा थप रु ३५ करोडको कर्जाको सुनिश्चितता गरिएको छ जसमा एनएमबीको ३१.४३ प्रतिशत लगानी रहनेछ। साथै सो पूँजी व्यवस्थापनका लागि आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन लिमिटेड र टुरिज्म इन्भेष्टमेन्ट फण्ड लिमिटेडको ६१ प्रतिशत, पञ्चासे केबलकार एण्ड टुर्स लिमिटेडको २५ प्रतिशत र बन्दीपुर गाउँपालिकालगायत स्थानीय लगानीकर्ताको १४ प्रतिशत शेयर रहने शर्माले जानकारी दिए।

आर्थिक व्यवस्थापनका विषयमा कम्पनी प्रष्ट र योजनाबद्धसहित अगाडि बढेको शर्माले बताए। यसले आगामी दश वर्षभित्र बन्दीपुर पर्यटन अवधारणा देशव्यापी रुपमा स्थापित हुने र दश हजारमाथिको रोजगारीको सुनिश्चितता गर्नेछ। एसबीआई बैंकका तर्फबाट उक्त लक्ष्य पूरा गर्न बन्दीपुर परियोजनासँग जोडिएका स्थानीयवासी शेयरधनीलाई थप व्यावसायिक रुपमा प्रवद्र्धन गर्न तीन प्रतिशत ब्याजदर निर्धारण गरी रु २० करोड बराबरको सहुलियतपूर्ण कर्जा सुविधा उपलब्ध गराउने घोषणा गरिएको छ।

सो कर्जाका लागि बन्दीपुर केबलकारले यसअघि नै बैंकसँग प्रस्ताव र जमानीको सुनिश्चितता गर्ने सहमति जनाएको थियो। अध्यक्ष शर्माका अनुसार ग्रामीण अर्थतन्त्रको सम्बद्र्धन नगरेसम्म देशको अर्थतन्त्र दीर्घकालीन नहुने भएकाले समुदायसँग मिलेर काम गर्ने योजना बनाइएको छ।

बन्दीपुर केबलकार परियोजना दक्षिण एशियामा नै फरक उद्देश्यसहित निर्माण भइरहेको छ। केबलकार सीधै चारतारे होटेलमा प्रवेश गर्नेछ। त्यहाँबाट सूर्योदय, सिस महल, वाक्स म्युजियम, वेधशाला, भूतबंगला देख्न सकिन्छ। त्यहाँ एक हजार क्षमताको सम्मेलन केन्द्र, रेष्ट्रो जोन, स्वीमिङ पुल र ६६ कोठा रहनेछ।

कम्पनीले परियोजना थप आकर्षक बनाउन संसारकै अग्लो बञ्जीजम्प, अग्लो मेकानिकल स्वीङ र म्युजिकल वाटर शोसमेत बनाउने तयारी गरेको छ। परियोजनाले दशौँ हजार पर्यटक बन्दीपुरमा भित्र्याउने रणनीतिक योजना बुनेको कम्पनीको जिकिर छ। निकट महिनामा नै बटम स्टेशनमा सुविधासम्पन्न रेष्ट्रो जोनको कमर्सियल अप्रेशन गरी पर्यटक कोर्टका रुपमा वार्म अप बिजनेश गर्ने घोषणासमेत कम्पनीले गरेको छ जहाँ पाँच सय सवारी साधन एकै पटक पार्किङ गर्न सकिने सुविधा रहनेछ।

बन्दीपुर गाउँपालिका–४ ठूल्ढुंगामा तल्लो स्टेशन र सोही वडाको बरालथोकमा माथिल्लो स्टेशन निर्माण भइरहेको छ। माथिल्लो स्टेशनमा रु ८० करोडको लागतमा चारतारे होटल पनि निर्माण हुनेछ। चारतारे होटल निर्माणको जिम्मा काठमाडौंस्थित चन्द्र निर्माण सेवाले पाएको छ।

ठूल्ढुङ्गाश्वाराबाट बरालथोकसम्म जोडिने केवलकारबाट घण्टामा दुई सय जना वारपार गर्न सक्नेछन्। एशियाकै ठूलो जिकिर गरिएको विमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त बन्दीपुर घुम्न आउने पर्यटकका लागि केबलकार आकर्षणको केन्द्रविन्दु बन्ने विश्वास लिइएको छ। ठूल्ढुङ्गाश्वाराबाट शुरू हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ। केवलकारले एक किलोमिटर ६०० मिटर यात्रा गर्नेछ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .