ad ad

कारोबार


नबिल बैंक : पाँच वर्षदेखि उच्च नाफा बनाउँदै सबैभन्दा धेरै आयकर बुझाउँदै

नबिल बैंक : पाँच वर्षदेखि उच्च नाफा बनाउँदै सबैभन्दा धेरै आयकर बुझाउँदै

सन्तोष न्यौपाने
मंसिर ९, २०७७ मंगलबार १०:५३,

नेपालकै जेठो बैंकहरुमा पर्ने नबिल बैंक यसपालि पनि सबैभन्दा धेरै आयकर बुझाउने करदाताबाट सम्मानित हुँदै छ।

३६ वर्ष पुरानो यो बैंक पाँच वर्षदेखि सबैभन्दा धेरै आयकर बुझाउने वित्तीय संस्था रहँदै आएको छ।

बैंकको बहुमत सेयर लिएको अर्बपति विनोद चौधरी परिवारको तर्फबाट निर्वाण चौधरीले सञ्चालकका रुपमा व्यवस्थापकीय कुशलता प्रदर्शन गरिरहेका छन्।

त्यस्तै, ‘सेलिब्रेटी सीईओ’ अनिल शाह हाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छन्।

अनुभवी व्यवस्थापकको दीर्घकालीन योजना र कार्यकुशलताबाट हरेक वर्ष बैंकले उच्च नाफा दिएको छ। परिणामतः बैंक तथा वित्तीय संस्थामा नबिल सबैभन्दा धेरै आयकर बुझाउने करदाता मात्र भएको छैन, सेयर सदस्यलाई पनि राम्रो प्रतिफल दिनेमा पर्छ।

गत वर्ष मात्रै नबिल बैंकले आफ्ना कर्मचारीलाई सात महिनाको तलबबराबरको बोनस बाँड्यो। उच्च नाफा र कार्यप्रगति राम्रो भएकै कारण बैंकले त्यति धेरै बोनस बाँडेको हो। यस अर्थमा नबिल कर्मचारीको आकर्षणको बैंक बनेको छ।

‘जति धेरै नाफा उति धेरै कर’
सरकारले आयकरतर्फ आर्थिक वर्ष २०७५/०७६ मा दाखिला गरेको करका आधारमा नबिल बैंक यसपालि पनि अग्रणी स्थानमा आएको हो। उक्त वर्ष नबिल बैंकले ४ अर्ब २९ करोड रुपैयाँ खुद नाफा गरेको थियो।

उक्त नाफामध्ये ३० प्रतिशत सरकारलाई आयकर बुझाउनुपर्छ। यस हिसाबले हेर्दा नबिलले १ अर्ब २८ करोड ७० लाख रुपैयाँ आयकर बुझाएको छ।

बैंकले गत आर्थिक वर्ष २०७६/०७७ मा ३ अर्ब ५६ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो भने २०७४/०७५ को नाफा ३ अर्ब ९८ करोड थियो।

ग्राहकको सन्तुष्टि र लगानीको राम्रो प्रतिफलका कारण नबिल बैंक पाँच वर्षदेखि सबैभन्दा धेरै आयकर बुझाउने बैंकमा पर्दै आएको नबिल बैंकका डेपुटी जेनेरल म्यानेजर (डीजीएम) मनोज ज्ञवालीले बताए।

‘आयकर बैंकको नाफामा भर पर्ने कुरा हो’, नेपालखबरसँग ज्ञवालीले भने, ‘पाँच वर्षदेखि नबिल बैंक सबैभन्दा बढी नाफा कमाउने बैंक रहँदै आएको छ।’

नाफा धेरै भएसँगै बैंकले सबैभन्दा बढी लाभांश पनि बाँडेको छ।

‘कष्ट अफ डिपोजिट’ कम भएका कारण बैंकको ब्याजमा मार्जिन राम्रो भएको र सस्तो दरमा कर्जा प्रवाह गर्दा पनि बैंकलाई मार्जिन राम्रो बसेको उनको भनाइ छ।

‘बेष्ट फाइनान्सियल पार्टनर’  
नबिल बैंकको अन्य क्षेत्रबाट आउने आम्दानी पनि राम्रो छ। नबिलले पूर्वाधार, हाइड्रोदेखि विविध क्षेत्रमा लगानी गरेको छ। एउटै प्रोजेक्टमा १२–१३ अर्ब लगानी गर्नसक्ने सीमित बैंकमा नबिल पनि पर्ने ज्ञवालीको भनाइ छ।

केही समयअघि मात्र नबिल बैंकलाई एसियाली विकास बैंक (एडीबी) ले ‘बेष्ट फाइनान्सियल पार्टनर’ का रुपमा ‘रिकग्नाइज’ गरेको थियो।

कोरोनासँगै जुध्दै राम्रो प्रस्तुति दिँदै
आठ महिनादेखिको कोरोना संकटको अवधिमा अधिकांश बैंकको नाफा घटेको छ। हरेक बैंकका १० देखि १२ प्रतिशत कर्मचारी कोरोना भाइरस संक्रमणमा परेका छन्।

नबिल बैंकका १२ सय कर्मचारीमध्ये १२५ जना कोरोना संक्रमणमा परेका छन्। बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)देखि प्रायः शाखाका प्रमुखहरु संक्रमित भएका थिए।

यस्तै विषम परिस्थितिका बीच पनि बैंकले ‘पर्फरमेन्स’ उच्च राखेको छ।

बैंकको सेवामा जोडिने ग्राहकको संख्या पछिल्ला वर्षमा तीव्र रुपमा बढ्दै गएको छ। यसको कारण गत वर्ष विस्तार गरिएका ४० वटा नयाँ शाखा पनि हुन्।

‘राष्ट्र बैंकले तोकेका ठाउँसहित विभिन्न क्षेत्रमा नयाँ शाखा विस्तार भएका छन्’, ज्ञवालीले भने, ‘यसले नयाँ ग्राहकको पहुँच बढेको छ भने स्वाभाविक रुपमा ग्राहकको संख्या पनि वृद्धि भएको छ।’

साढे ८ लाख नाघे ग्राहक
डीजीएम ज्ञवालीका अनुसार हाल नबिल बैंकको ८ लाख ५० हजार ग्राहक नाघिसकेका छन्।

बैंकले मुलुकभर १ सय १९ वटा शाखाबाट बैंकिङ सेवा दिनुका साथै ग्राहकको सुविधाको लागि अहिलेसम्म १ सय ८५ एटीएम बुथ स्थापना गरिसकेको छ।

पछिल्लो समय कोरोना भाइरस संक्रमणले अर्थतन्त्रलाई नकारात्मक असर गरेको भए पनि डिजिटल व्यवसायमा भने राम्रो संकेत देखिएको छ।

यही राम्रो संकेतलाई व्यवस्थापकले ‘क्याच’ गर्न चाहन्छ। भविष्य भनेको डिजिटल नै हो भन्ने राम्रो हेक्का व्यवस्थापकलाई छ।

फोनबाटै लोन लिने सुविधा 
त्यसैले ‘नबिल डिजी बैंक’ का रुपमा अनलाइनमा आधारित विभिन्न सेवाहरु बैंकले सुरु गरिसकेको छ।

मोबाइलबाटै ऋण लिन सकिने सुविधा उपलब्ध गराएको छ। ‘नबिल फोन लोन’ का रुपमा आफ्ना ग्राहकलाई एक लाखसम्मको ऋण मोबाइलबाटै लिन सकिने सुविधा नबिलले ल्याएको छ।

साथै मोबाइल बैंकिङ, अकाउन्ट खोल्नेदेखि एटीएमको पिनकोड अनलाइनबाट लिन सकिनेलगायतका सुविधा पनि थपिँदै गएका छन्।

कोरोना संकटको अवधिमा डिजिटल सेवातिर ग्राहकको रुचि बढेको ज्ञवालीकै पनि अनुभव छ।

‘अहिले नै डिजिटलमा ह्वात्तै यति बढे भन्ने छैन तर ग्राहकमा डिजिटलको शिक्षा बढेको छ’, ज्ञवालीले भने, ‘डिजिटल कारोबारमा बढेको चेतनाले भविष्यमा यसतर्फ राम्रो संकेत गरेको छ।’

सन् १९८४ मा स्थापना भएको बैंकको बजार पुँजीकरण ८३ अर्ब ७० करोड ८६ रुपैयाँ रहेको छ। उच्च नाफा गरेसँगै बैंकले आफ्ना सेयर होल्डरलाई पनि सबैभन्दा धेरै बोनस बाँड्दै आएको छ।

सामाजिक कार्यमा उदाहरणीय प्रयास
निर्वाण चौधरीको सक्रियतामा सामाजिक कामतर्फ पनि बैंकले राम्रो स्थान बनाएको छ। बैंकले नेपाल सरकारको कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ६ करोड रुपैयाँ दिएको थियो।

नेपाल उद्योग परिसंघको उपाध्यक्ष समेत रहेका निर्वाण बालबालिकामा कुपोषणविरुद्धको राष्ट्रिय अभियान– बलियो नेपालको अभियानमा समेत संलग्न छन्।

लगानी, नाफा र सामाजिक काममा पनि सफलता हात पारिरहेको बैंकको सञ्चालक पदमा सन् २०१० देखि रहेका निर्वाण चौधरी ग्रुपको प्रबन्धनिर्देशक हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .