ad ad

कारोबार


ऊर्जा बचत गर्ने कम्पनीहरुलाई राष्ट्रिय वाणिज्य बैंकले दियो अनुदान

ऊर्जा बचत गर्ने कम्पनीहरुलाई राष्ट्रिय वाणिज्य बैंकले दियो अनुदान

नेपालखबर
मंसिर ९, २०७७ मंगलबार १०:१,

राष्ट्रिय वाणिज्य बैंकले जर्मन सरकारबाट केएफडब्लु बैंकमार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालित ‘इनर्जी एफिसियन्सी प्रोग्राम नेपाल’को अनुदान सहयोग कार्यक्रमअन्तर्गत विभिन्न कम्पनीलाई आर्थिक अनुदान दिएको छ।

बैंकले प्रिमियर अर्गानिक्स प्रालिलाई ५३ लाख ५१ हजार पाँच सय ८४ रुपैयाँ, हुलास स्टील इन्डस्ट्रिज प्रा.लि.लाई ३३ लाख १५ हजार छ सय रुपैंया, प्रिमियर स्टिल प्रा.लि.लाई १७ लाख आठ हजार चार सय छपन्न रुपैंया रकम हस्तान्तरण गरेको छ।

मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी कम्पनीहरुले यन्त्र उपकरण जडान गरेको हुँदा स्वीकृत अनुदान कार्यविधिअनुसार अनुदान सहयोग सम्झौता आदानप्रदान तथा अनुदान रकमको चेक मंगलबार एक समारोहका बीच हस्तान्तरण गरिएको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले चेक हस्तान्तरण गर्दै अन्य उद्योगहरुलाई ऊर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आह्वान गरे। उनले यस्तो अनुदानले उर्जाको बचत गरी राष्ट्रकै लागि योगदान पुग्ने बताए।

नेपाल सरकार र जर्मन सरकारबीच सन् २०१० मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी उर्जा बचत गर्ने सम्झौता बमोजिम राष्ट्रिय वाणिज्य बैंकले इनर्जी एफिसियन्सी प्रोग्राम नेपाल आयोजना कार्यान्वयनको लागि प्रोजेक्ट एक्जिक्युटिङ एजेन्सीको रुपमा सहायतासम्बन्धी कार्य गर्ने गरेको छ।

यस आयोजनाअन्तर्गत नेपालमा सञ्चालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशतसम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंकमार्फत उपलब्ध गराइनेछ।

आयोजनाअन्तर्गत कुनै एक ईकाइले मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्वीकृत अनुदान कार्यविधिभित्र रही अधिकतम एक करोड रुपैयाँसम्मको सहायता रकमका लागि दरखास्त दिन पाइनेछ।

उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकरी अधिकृतहरु सरस्वती अधिकारी, देबेन्द्ररमण खनाल, देवेश प्रसाद लोहनी, विभागीय प्रमुख विनयरमण पौडेल, एडेल्फीका कन्सल्टैण्ट ज्ञानेन्द्र उपाध्याय, अनुदान रकम प्राप्त गर्ने कम्पनीका निर्देशकहरु क्रमशः गौरव सारडा, हितेश गोल्छा, अभिजित सिंहलगायतको उपस्थिति रहेको थियो । उपप्रबन्धक होमराज भट्टराईले कार्यक्रम संचालन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .