ad ad

कारोबार


उद्योग वाणिज्य महासंघ चुनाव : के छ जिल्लास्तरका व्यवसायी प्रतिनिधिको अपेक्षा?

उद्योग वाणिज्य महासंघ चुनाव : के छ जिल्लास्तरका व्यवसायी प्रतिनिधिको अपेक्षा?

सन्तोष न्यौपाने
मंसिर ४, २०७७ बिहिबार १२:४,

मुलुकको निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ अहिले चुनावी महाधिवेशनमा व्यस्त छ।

कोरोना संक्रमणबीच पनि केन्द्रदेखि जिल्ला, नगरदेखिका प्रतिनिधिहरु मंसिर ११, १२ र १३ गते हुने साधारणसभा र महाधिवेशनको चुनावी माहोलमा होमिएका छन्। महासंघको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधानले सबैको ध्यान वरिष्ठ उपाध्यक्षमा गएको छ।

वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका चन्द्र प्रसाद ढकाल र किशोर प्रधानको दुई प्यानलबीच चुनावमा तीव्र प्रतिस्पर्धा हुने पक्कापक्की छ। यी दुईमध्ये वरिष्ठ उपाध्यक्ष चयन हुने एकले नयाँ अध्यक्ष बन्ने शेखर गोल्छालाई साथ दिनुपर्नेछ।

साधारणसभा सुरु हुन एक हप्ता बाँकी रहँदा जिल्लास्तरका व्यवसायी प्रतिनिधिहरु महासंघको साख कमजोर हुँदै गएकाले नयाँ नेतृत्वले त्यसलाई फर्काउनुपर्ने बताउँछन्।

टीकापुर उद्योग वाणिज्य संघ अध्यक्ष राम बहादुर भण्डारी अध्यक्षमा पुगेर फोटो टाँस्ने मात्र कामले अब महासंघ अगाडि बढ्न नसक्ने बताउँछन्।

‘यसअघिका नेतृत्वबाट जिल्ला नगरका समस्या कुनै तहमा पनि सम्बोधन भएनन्’, भण्डारीले भने, ‘दुर्गम ठाउँका व्यवसायीको समस्या समाधान गर्न सक्ने नेतृत्व आउनुपर्छ।’

ठूलामात्र व्यवसायी हुन् भन्ने सोचलाई परिवर्तन गरेर जिल्लाका साना व्यवसायीको मर्का सुन्ने र समाधान हुनुपर्ने उनको विचार छ।

महासंघले जहिले पनि कर, भ्याट, बैंक तथा वित्त, ब्याजदर, नेपाल राष्ट्र बैंकले अवलम्बन गरेका विभिन्न आर्थिक कारोबारका नीतिहरु, मौद्रिक नीतिका कुराहरु व्यवसायीको हकहितमा बनाउन प्रयास गर्नुपर्ने भएकाले नेतृत्व तहमा आउने अनुहारलाई लिएर विभिन्न अडकलबाजी भइरहेका छन्।

‘यिनै कुराहरुलाई शतप्रतिशत लागू गर्न जुन प्यानल अगाडि बढ्छ र जुन प्यानलमा यसलाई लागू गर्ने विद्वानहरु छन्, तिनैलाई हामीले समर्थन गर्छौँ’, सुर्खेत उद्योग वाणिज्य संघ अध्यक्ष धन बहादुर रावतले भने, ‘त्यसको लागि उनीहरुले घोषणापत्र जारी गर्नुपर्छ।’

महासंघको नेतृत्वमा जान चाहने व्यक्तिले महासंघको काममा प्रशस्त समय दिनुपर्ने उनको विचार छ। मन्त्रिपरिषद्को निर्णयमा पहुँच राख्नसक्ने, मन्त्रालयमा कुरा गर्नसक्ने र समग्र जिल्ला नगर उद्योग वाणिज्य संघको पोर्टफोलियो मेन्टेन गरेर अगाडि बढाउनसक्ने, स्थानीय प्रशासनसँग समन्वय गराउनसक्ने खालको नेतृत्वले चुनाव जित्न जरुरी भएको रावतको भनाइ छ।

यसअघि महासंघको नेतृत्वमा पुग्नेले सरकारसँग काँध मिलाएर बस्ने प्रवृत्ति भएकाले अबको नेतृत्वले त्यसो गरे स्वीकार्य नुहुने उनी बताउँछन्।

अहिलेको अवस्थामा चुनावमा गएर प्यानल बनाउनु राम्रो नभएको कतिपयको भनाइ छ। ‘निजी क्षेत्र भएर पनि राजनीतिक दलमा जस्तै प्यानल भयो’, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर हमालले भने, ‘निजी क्षेत्र एकै ठाउँ होस् र समग्र समस्या एकसाथ मिलेर समाधान हुन भन्ने हाम्रो चाहना हो।’

टुक्रिएर चुनाव लड्दा संस्थामुखीभन्दा पनि व्यक्तिमुखी वातावरण हावी हुने उनको भनाइ छ।

‘दुई प्यानल भएर चुनाव लड्दा हार्ने व्यक्तिलाई महासंघले गुमाउनुपर्छ,’ हमालले भने, ‘त्यसैले एक भएर सहमतिमा जानुपथ्र्यो।’

एक भएर जाने विषयमा पूर्वअध्यक्षहरुको महत्वपूर्ण भूमिका हुने भए पनि त्यस्तो प्रयास नगरेको उनको गुनासो छ।

अहिलेसम्म महासंघको नेतृत्वमा पुगेकाहरुले आफैँले आफैँलाई चिन्नु नसकेको भन्दै लामो समय महासंघमा हुँदा निजी क्षेत्रको निम्ति के गर्यो भनेर मूल्यांकन गर्नुपर्ने उनको विचार छ।

कुशल नेतृत्वले महासंघमा आउनुपर्ने र त्यसले महासंघलाई बलियो बनाउने उनी बताउँछन्।

निजी क्षेत्र प्यानल भएर चुनाव लड्दा त्यसको असर जिल्ला नगरसम्म पर्छ। नेतृत्वमा लड्ने नै प्यानल बनाएपछि प्रत्येक जिल्ला नगर एउटा प्यानलको लबिङमा लागेको हुन्छ।

यसले समग्र निजी क्षेत्रलाई भने हित नहुने पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाको भनाइ छ।

‘दुई प्यानल भएपछि जिल्ला नगर संघहरु पनि एउटा प्यानलको लबिङमा लागिरहेका हुन्छन्,’ कोइरालाले भने, ‘त्यसले निर्वाचनपछि सबै कुरा चुनावमै सीमित राखेर एक भएर जानुपर्छ।’

नयाँ आउने नेतृत्वले व्यवसायीको हकहित, कोरोना संकटले आर्थिक क्षेत्रमा पारेको तहसनहसलाई कसरी उत्थान गर्न सकिन्छ भनेर लाग्नुपर्छ।

हरेक जिल्ला तथा नगर उद्योग वाणिज्य संघ आफैँ सक्षम भएको अवस्थामा महासंघ असल अभिभावक बनाउने ठाउँ भएको कोइरालाको भनाइ छ।

‘सबल नेतृत्व आओस् भन्ने पोखरा उद्योग वाणिज्य संघको चाहना हो’, उनले भने।

महासंघ भनेको केन्द्रीय स्तरको नीति निर्माण गर्ने ठाउँ भएकाले मुलुकको हितका निम्ति काम गर्न सक्नुपर्ने, वैदेशिक लगानी ल्याउनसक्ने खालको हुनुपर्ने उनको भनाइ छ।

दुई प्यानलमध्ये सबै एउटै प्यानलले नजित्ने भएकाले नयाँ बन्ने अध्यक्ष शेखर गोल्छालाई सहयोग हुने वातावरण नयाँ टिमले बनाइदिनुपर्ने उनको विचार छ।

महासंघ कमजोर हुँदै गएकाले यसको साख फर्काउन अबको नेतृत्वको काम भएको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठको भनाइ छ। नयाँ नेतृत्वले महासंघले उठाएको सवाललाई सरकारले सुन्ने बनाउन सक्नुपर्ने उनले बताए।

‘हामीले यस्तो बेला चुनाव नगर्दा ठीक हुन्छ भनेका थियौँ’, श्रेष्ठले भने, ‘चुनाव नगर्दा जिल्ला नगरको एकता कायम रहन्छ। एक भएर जाँदा समस्या समाधान गर्ने प्रेसर दिन सकिन्छ भन्ने हाम्रो विचार थियो।’

नयाँ नेतृत्वले भ्याट, करलगायतका विषयमा सम्बोधन गर्न सक्नुपर्ने उनले बताए।

चुनावको बेलामा गुट बन्नु स्वाभाविकै भए पनि निर्वाचनपछि जो आए पनि मिलेर जानुपर्ने विचार वीरगन्ज उद्योग वाणिज्य संघ अध्यक्ष गोपाल केडियाको भनाइ छ।

‘नेतृत्वमा आउनेले केही गर्छु भनेर नै आउने भएकाले मिलेर काम गर्नुपर्छ,’ उनले भने।

अहिलेसम्मको नेतृत्वले ठूला र घरानीया व्यवसायीलाई मात्र हेरेर काम गरेको भन्दै जिल्ला नगरका समस्या सम्बोधन गर्ने नेतृत्व चाहिएको मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिनाले बताए।

‘चुनावको बेला उमेदवारले यो गर्छौँ र ऊ गर्छौँ भन्छन्। हामी जहिले पनि द्विविधामा पर्छौँ’, तिम्सिनाले भने, ‘चुनाव जितेपछि आफ्नै व्यवसायमा रुमल्लिने, राजनीति गर्ने, सरकारसँग मिल्ने मात्र काम भएको छ।’

चैतमा हुनुपर्ने साधारणसभा यहाँसम्म आइपुग्दा र कोरोना संकटले गर्दा व्यवसायीहरुमा नैराश्य छाएको अवस्थमा महासंघले जसरी भए पनि यसको निकास दिनुपर्ने अहिलेको माग रहेको उनले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .