प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले तराईमा आएको बाढी र डुबानको विषयमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनसंग छलफल गरेका छन्।
प्रदेशका भौतिकमन्त्री जितेन्द्र सोनलसहित ऊर्जा मन्त्रालय पुगेका मुख्यमन्त्री राउतले तराईमा भइरहेको बाढी डुबानको विषयमा मन्त्री पुनसँग छलफल गरेका हुन्।
भेटमा मन्त्री पुनले तराई डुबानको समस्या दीर्घकालीन समाधानका लागि एकीकृत योजना बनाउने प्रस्ताव गरेको ऊर्जामन्त्रीको सचिवालयले जनाएको छ। उनले बाढी र डुवान समस्यालगायत प्राकृतिक प्रकोपविरुद्ध केन्द्र सरकार र प्रदेश मिलेर अघि बढ्नुपर्ने धारणा राखे।
मन्त्री पुनले प्रदेश नम्बर २ बाढी डुबानबाट सवैभन्दा बढी प्रभावित भएको भन्दै स्थानीय जनतासँगको सहकार्यमा दुवै सरकारले काम गर्नुपर्ने बताए।
‘डुबानको जरो कुरा पत्ता लगाउनका लागि एकीकृत योजना बनाएरै अघि बढौँ, दुवै सरकारबीच समन्वय गरेर एकीकृत योजना बनाए मात्र दीर्घकालीन समस्या समाधान हुन्छ । नभए राज्यले हरेक वर्ष लगानी गरेर फाइदा हुँदैन’, मन्त्री पुनले भने।
उनले तत्कालीन समाधानले राज्यको अर्बौँ पैसा खेर गएको भन्दै समस्याका समाधानका लागि एकीकृत योजना बनाउनुको विकल्प नभएको बताए।
प्रदेश २ का मुख्यमन्त्री राउतले तराईमा हुने बाढी र डुवानको समस्याको दीर्घकालीन समाधान नखोजे अवस्था भयावह हुने चेतावनी दिए।
उनले टालटुले समाधानले समस्याको हल नभएको भन्दै केन्द्र सरकारले दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिए। मुख्ययमन्त्री राउतले केन्द्र सरकारको ध्यान ठूला नदी व्यवस्थापनमा मात्र गएको भन्दै तराईमा रहेका साना नदीले पनि क्षति पुर्याउने गरेको जानकारी दिए।
उनले ऊर्जामन्त्री पुनसँग तराईमा बाढी र डुवानका कारण अर्बौँको धनजनको क्षति भएको भन्दै आगामी दिनमा समस्याको समाधानको लागि दीर्घकालीन योजना बनाईदिन आग्रह गरे।
‘अहिलेसम्म टालटुल मर्मत गर्ने काम मात्र भयो, यसले हाम्रो समस्या समाधान भएन। अब व्यापक तटबन्ध निर्माण गर्नुपर्यो, दीर्घकालीन समाधान नखोज्ने हो भने समग्र भूभाग नै खतरामा पर्ने सम्भावना छ’, मुख्यमन्त्री राउतले भने ।
Shares

प्रतिक्रिया