कारोबार


तिलोत्तमामा धानको समर्थन मूल्य तोकियो

तिलोत्तमामा धानको समर्थन मूल्य तोकियो

प्रकाश न्यौपाने
कात्तिक १५, २०७७ शनिबार १३:१०,

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा संघीय सरकारले तोकेको समर्थन मूल्यअनुसार नै किसानले उत्पादन गरेको धान खरिद गरिने भएको छ।

नगरपालिकाको सहजीकरणमा नगर क्षेत्रमा रहेका साना किसान कृषि सहकारी संस्थाहरुले संघीय सरकारले तोकेको समर्थन मूल्यअनुसार धान खरिद गर्ने भएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए।

‘किसानले धानको मूल्य पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो। सोहीअनुसार सहकारीहरुलाई सहमत गराएर अघि बढेका छौं। अब नगर क्षेत्रमा सरकारी दररेट बमोजिम किसानले उत्पादन गरेको धान बिक्री हुनेछ’, घिमिरेले भने।

संघ सरकारले चालु आर्थिक वर्षका लागि गएको जेठ २ गते मोटा धानको प्रतिक्विन्टल २ हजार ७ सय ३५ रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल २ हजार ८ सय ८५ रुपैयाँ न्यूनतम समर्थन मूल्य कायम गरेको थियो।

‘यो सरकारले निर्धारण गरेको मूल्य हो। योभन्दा थोरै मूल्यमा कसैले धान खरिद गर्न पाउने छैन। निर्धारित मूल्य पाएमा किसानलाई केही प्रतिशत भए पनि नाफा हुन्छ भन्ने हामीले विश्वास लिएका छौं’, घिमिरेले भने, ‘त्यसैले हामीले सबैको सल्लाह र सहकार्यमा कार्यान्वयन समर्थन मूल्य कार्यान्वयनमा ल्याएका हौं।’

संघीय सरकारले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरे पनि करिब साढे ६ महिना त्यो कार्यान्वयन हुन सकेको थिएन। धानबाली भित्र्याएर सकिँनै लाग्दासमेत सरकारी निर्णय कार्यान्वयन नहुँदा किसान चिन्तित थिए। तिलोत्तमाले कार्यान्वयन सुरु गरेपछि अन्य ठाउँमा पनि समर्थन मूल्अनुसारै धान बिक्री हुने अपेक्षा गरिएको छ । ‘तिलोत्तमाले समर्थन मूल्य कार्यान्वयनमा सहजीकरण गरेको हो । जसले गर्दा नगरका किसान खुसी हुनु भएको छ’, घिमिरेले भने।

नगरपालिकाले बोलाएको बैठकपछि तिलोत्तमाका ६ वटा साना किसान कृषि सहकारीहरु किसानको धान खरिद गर्ने आवश्यक तयारीमा जुट्न सहमत भएका हुन्। नगरपालिकाले सहकारीसँग नगर क्षेत्रमा धान उत्पादनको अवस्था, भण्डारण क्षमता, आर्थिक व्यवस्थापन लगायतका विषयमा छलफल गरेको थियो। साना किसान सहकारीमार्फत् धान खरिद गर्ने गरी कृषि तथा पशुपंछी विकास मन्त्रालयले निर्देशिका समेत जारी गरिसके पनि यस क्षेत्रका सहकारीले किसानको धान तोकिएको न्यूनतम समर्थन मूल्यमा खरिद गरेका थिएनन्।

छलफलपछि सहकारीका पदाधिकारीहरु नगरका वास्तविक किसानले उत्पादन गरेको मापदण्ड अनुसारको धान तोकिएका स्थानमा खरिद गर्न तयार भएका हुन्। यो निर्णयसँगै सहकारीले आवश्यक तयारी गरी किसानको धान तोकिएको मूल्यमा खरिद गर्न सुरु गर्ने नगरपालिकाको विश्वास छ।

कृषि मन्त्रालयले धानको न्यूनतम समर्थन मूल्यमा धान खरिद र व्यवस्थापन गर्नेसम्बन्धी निर्देशिका पारित गर्दै सहकारीलाई प्रतिक्विन्टल ११२ रुपैयाँ अनुदान दिने व्यवस्था गरेको हो। सोहीअनुसार किसानको धान खरिद गरेर भुक्तानी दिएको प्रमाण अनुसार सरकारले सहकारीलाई प्रतिक्विन्टल ११२ रुपैयाँ अनुदान रकम उपलब्ध गराउने छ।

नगरपालिकाले न्यूनतम समर्थन मूल्यमा धान बिक्री गरेर लाभ उठाउन किसानलाई र व्यवसायीलाई समेत सरकारी दररेट अनुसार खरिद गर्न निर्देश गरेको उपप्रमुख जागेश्वरीदेवी चौधरीले बताइन्। सहकारीले १८ प्रतिशत चिस्यान भएको धानलार्ई न्यूनतम समर्थन मूल्यमा खरिद गर्नेछन्। त्यसभन्दा बढी चिस्यान भए किसानलाई तोकिएको मापदण्ड पूरा गर्न वा एक प्रतिशत चिस्यानको १२ सय ग्राम तौल घटाएर मूल्य निर्धारण गर्न सक्नेछन्।

न्यूनतम समर्थन मूल्यको प्रभावकारी कार्यान्वयन हुँदा किसानलाई ठूलो लाभ पुग्ने र कृषिमा सहकारीको भूमिका स्थापित हुँदै जाने चौधरीको भनाई छ।

‘धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी हुँदा बिचौलियाका कारण किसानलाई हुने घाटा रोकिने छ। यसले किसानलाई उत्पादनमा लाग्न थप प्रेरणा मिल्ने छ’, उनले भनिन्।

कृषि अर्थतन्त्रमा सहकारीको भूमिका बढाउँदै लैजाने र भविष्यमा मल, बीउ, गोदाम, कोल्डस्टोर, नर्सरी, उत्पादन लगायत सबै क्षेत्रमा सहकारीको नेतृत्व स्थापित गर्ने सरकारको योजना छ। तिलोत्तमामा टिकुलीगढ, गंगोलिया, करहिया, मधवलिया, शंकरनगर, आनन्दवन साना किसान सहकारी संस्था छन्। तिलोत्तमाको अधिकांश स्थानमा धान खेती हुँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .