दसैँ, तिहार र छठलगायत चाडपर्वमा नेपालको अर्थतन्त्र बढी चलायमान हुन्छ।
दसैँ सकिन लागेको र तिहार तथा छठ पर्वको आगमनसँगै जनकपुरसहित देशभरका बजारहरुमा चहलपहल बढेको छ। बजारमा किनमेल गर्नेहरुको भीड बढ्दै गएको छ। दसैँ सकाएर काममा फर्किनेहरु तथा तिहार र छठपर्व मनाउनका लागि आ–आफ्नो गाउँघर आउनेहरुको क्रम जारी छ।
सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ। कर्मचारीले दुई महिनाको तलब एकै महिना खर्च गर्छन्। यसले पनि दसैँमा अर्थतन्त्र कति चलायमान हुन्छ भन्ने देखाउँछ।
वर्षभरि कर्मचारीले १३ महिनाको तलब पाउँछन्। थप एक महिनाको तलब दसैँ खर्चका लागि दिइने पुरानो चलनका कारण र बजारमा पैसा चलायमान हुने भएकाले दसैँलाई अर्थतन्त्र चलायमान बनाउने एउटा प्रमुख पर्व भएको अर्थशास्त्री डा सुरेन्द्र लाभको भनाइ छ।
दसैँ तिहारलाई लक्षित गरी नयाँ सवारी साधन खरिदमा छुट, सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने घोषणा यही बेला हुनाले पनि अर्थतन्त्र चलायमान हुने गरेको हो।
‘पहिले पनि दसैँ अर्थतन्त्रलाई चलायमान बनाउने एउटा प्रमुख पर्व थियो। पहिले दसैँ विशेषमा मात्र किनमेलका लागि बजार लाग्थ्यो भने हाल पर्याप्त समय निकाल्न नसकेका नेपालीले यही अवसरमा लत्ताकपडासहित सामानको किनमेल गर्ने गर्दछन्। कतिपयमा यही समयमै खरिद गर्नुपर्छ भन्ने मानसिकता समेत विकसित भएको देखिन्छ’ अर्थशास्त्री डा लाभले भने।
व्यवसायीहरुका अनुसार दसैँमा करिब रु १० अर्ब मूल्य बराबरको लत्तकपडा मात्र किनबेच हुन्छ भने त्यसबाहेक पनि खाद्यान्न, माछा, मासु एवम् पेय पदार्थको समेत कारोबार बढ्ने व्यवसायीहरुको भनाइ छ।
जनकपुरमा मात्र हरेक वर्ष दशैंंमा २५ हजार खसिबोका खपत हुने तथ्याङ्क छ। यसरी वर्षमा एकपटक नयाँ लुगा सिलाउने, मासुभात खाने, रमाइलो गर्ने चाड भएकाले पनि खर्च बढ्ने गरेको कतिपय अर्थविद्को भनाइ छ। उनहरुका अनुसार दसैँले अर्थतन्त्रलाई पुनर्जीवन दिन्छ। करिब पाँच लाख कर्मचारीका लागि रु चार अर्बभन्दा बढी रकम दसैँ खर्चबापत मात्र दिइने गरेको अर्थ मन्त्रालयको तथ्याङ्क छ।
यसबाहेक निजी क्षेत्रका सङ्घसंस्था, बैंक तथा वित्तीय संस्थाले पनि कर्मचारीलाई दशैं खर्चबापत बोनस तथा भत्ता दिन्छन्। यसले पनि आर्थिक परिचालनमा मद्दत गरेको छ। पछिल्ला वर्षहरुमा बजारमा चहलपहल बढ्ने अर्को कारण दसैँको समयमा विदेशबाट प्राप्त हुने रेमिट्यान्स भएको अर्थशास्त्रीहरु बताउँछन्। विदेश बस्ने नेपालीले यही समयमा बढी रेमिट्यान्स पठाउने गरेका छन्।
अन्य महिनाको तुलनामा दसैँमा करिब २५ देखि ३० प्रतिशत बढी रकम रेमिट्यान्स आउने गरेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ। राष्ट्र बैंकको तथ्याङ्क अनुसार औषतमा दसैँताका करिब रु १०÷१५ अर्ब रेमिट्यान्स नेपाल भित्रिन्छ। यसमा भारतमा काम गर्न गएका नेपालीले दसैँमा घर फर्किदा लिएर आउने रकम भने जोडिएको छैन। भारतमा हजारौंको सङ्ख्यामा नेपालीहरु कार्यरत रहेकाले पनि यसको हिस्सा नेपालको अर्थतन्त्रमा फराकिलो हुने गर्दछ।
अर्थविद्हरुका अनुसार दसैं अघिका दुई–तीन हप्ताको अवधिमा वर्षभरीको कूल राष्ट्रिय उपभोगको २० प्रतिशत जति उपभोग हुने देखिन्छ। दसैँदेखि छठ पर्वसम्म बजारमा करिब रु पाँच अर्बको कारोबार हुने गरेकाले पनि यो प्रमुख चाडपर्वको अर्थिक पाटो वास्तवमा नै बृहत रहेको अर्थशास्त्री डा सुरेन्द्र लाभको भनाइ छ। खर्च गर्ने प्रवृत्ति बढ्दै जानुले व्यापारीका लागि यो समय एक किसिमले वर्षभरीलाई पुग्नेगरी नाफा कमाउने समय पनि भएको छ।
दसैँअघिको समयमा मात्र अन्य समयको १० महिना बराबर व्यापार हुने गरेको उद्योग वाणिज्य सङ्घ प्रदेश नं २ का अध्यक्ष शिवशंकर साहको भनाइ छ। उनका अनुसार छुट तथा विभिन्न आर्कषक योजनाका कारण पनि यसबेला बजारमा रौनक बढेको हुन्छ।
यतिखेर प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरधाममा दसैँको निकै चहलपहल बढेको छ। दसैंको टीका चलिरहेको र दिपावली नजिकिँदै गर्दा बजारमा किनमेल गर्नेको जनकपुरमा भीड लागेको छ। खाद्यान्न, कपडा, कस्मेटिक तथा गरगहना पसलहरुमा मानिसहरुको भीड लागेको छ।
चाडपर्वका लागि मानिसहरुले खाद्यान्नदेखि लत्ताकपडासम्म अनिवार्य रूपमा किन्ने गरेका छन्। जनकपुरका मुख्य बजारहरु शिव चोक, राम चोक, मुरली चोक, जानकी चोक लगायतका ठाउँहरुमा किनमेल गर्ने मानिसहरुको बाक्लो उपस्थिति देखिन्छ।
गाउँदेखि शहरसम्म धुमधामका साथ मनाइने दसैँमा व्यापारसमेत बढ्ने गर्छ। कुल राष्ट्रिय उपभोगको २० प्रतिशत दशैं अघिको दुई÷तीन साता अवधिमा मात्रै हुने अनुमान गरिएको छ। व्यापारीहरूको पनि वर्षभरीको कमाइ हुने समय भनेकै दसैँ, तिहार, छठजस्ता महान चाडपर्व नै हो।
Shares
प्रतिक्रिया