ad ad

कारोबार


भेडा/च्याङ्ग्रा चराउन चीन पुग्छन् नेपाली

भेडा/च्याङ्ग्रा चराउन चीन पुग्छन् नेपाली

नेपालखबर
कात्तिक ११, २०७७ मंगलबार १:५३,

बझाङको हिमाली भेग साइपाल क्षेत्रका किसानको भेडा/च्याङ्ग्रा मासुका रूपमा खपत हुन थालेपछि दैनिकी नै परिर्वतन भएको छ।

कुनै बेला खाद्यान्न ढुवानीमा बढी प्रयोग हुने च्याङ्ग्राहरू विगत पाँच वर्षयता काठमाडौँ, पोखरा लगायतका शहरमा चाडपर्वका बेला बिक्री हुन थालेपछि साइपाल गाउँपालिकामा व्यावसायिक रूपमा भेडा/च्याङ्ग्रा पाल्ने क्रम बढेको छ। यसबाट किसानले मनग्य आम्नादी गर्न थालेका छन्।

दशैंका लागि एक सय १२ वटा भेडा/च्याङ्ग्रा पोखरामा बिक्री गरेर फर्किएका साइपाल गाउँपालिका–१ धलनका उब्जन बोहराले यस वर्ष दसैंमा ३० लाखको च्याङ्ग्रा बेचेको बताए। ‘साइपालबाट बिक्रीका लागि पोखरा पुगेका १४ ट्रक भेडा/च्याङ्ग्रा किनबेच भए’, बोहराले भने, ‘यस पटक नयाँ व्यापारी पनि बझाङ्गबाट त्यहाँ पुगेको भेटियो।’

आफूहरू भेडा/च्याङ्ग्रा चराउन साइपाल हिमालको पाटन हुँदै चीनको उरै भञ्ज्याङ नाका पारिसम्म जाने गरेको उनले सुनाए। ‘उरै नाका वारितर्फ चीनको गोडोहाल्ना र बैँस भन्ने ठाउँमा हामी हरेक वर्ष भेडा/च्याङ्ग्रा चराउन जान्छौं’, उनले भने, ‘वर्षातपछि हिउँ पर्न सुरु हुन्छ, त्यसपछि हामी तल गाउँतिर झर्छौ।’

साइपाल हिमालको पाटन र चीनको सीमावर्ती भूमिमा भेडा/च्याङ्ग्रा चराउँन जाँदा गोठाला उतै टेन्टमा बास बस्ने गरेका छन्। ‘केही समय अघिसम्म चिनियाँहरू पनि हाम्रो क्षेत्रमा चौरीगाई चराउन आउथेँ। अचेल चाहीँ उनीहरु यता आउन छाडे,’ बोहराले भने। चीनले उरैनाकासम्म आफ्नो भूमिमा यातायात सेवा विस्तार गरिसकेको छ। नेपालतर्फ भने यातायातको सुविधा छैन।

केही वर्षअघिसम्म डोटीको पेल्या लेकसम्म पनि बझाङ्गबाट भेडा/च्याङ्ग्रा चराउन आउने गरेको पशुपालक किसानहरूको भनाइ छ। ‘अहिले त्यस क्षेत्रमा रहेका सामुदायिक वनले भेडा/च्याङ्ग्रा चराउन गएवापत प्रति भेडा एक सय राजश्व लिने गरेका छन्’, साइपाल गाउँपालिका–३ काँडाका मोहन बोहराले भने, ‘भेडा/च्याङ्ग्रा पालन व्यवसायमा लाग्ने कृषकलाई राज्यले पनि अनुदान र सहयोग गरेर प्रोत्साहन गर्नुपर्छ।’

यस वर्ष दसैंमा उनले ११० वटा भेडा/च्याङ्ग्रा पोखरामा बिक्री गरेका छन्। ‘पोखरामा बसेर भेडा, च्याङ्ग्रा बिक्री गर्न एक साता जति समय लाग्यो’, उनले भने, ‘गाउँमा प्रायः स्थानीयको व्यवसाय भनेकै भेडा/च्याङ्ग्रा पालन गर्ने हो।’

बझाङ्ग सदरमुकाम चैनपुरबाट साइपाल गाउँपालिका पुग्न दुई दिन पैदल हिड्नु पर्छ। त्यहाँसम्म पुग्न पैदल गोरेटो बाटो निर्माण भइसकेको साइपाल गाउँपालिकाले जनाएको छ।

विगत चार वर्षदेखि चाडपर्वका बेला भेडा/च्याङ्ग्रा खरिद बिक्रीमा स्थानीयले सोही गोरेटो बाटो प्रयोग गर्ने गरेका छन।

यस वर्ष किसानले एउटा च्याङ्ग्रा ३० हजार भन्दा बढी मूल्यमा बिक्री गरेका छन्। साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामीले स्थानीय किसानले वार्षिक डेढ देखि दुई करोडको भेडा/च्याङ्ग्रा बिक्री गर्ने गरेको बताए।

चीनले उत्तरी नाकाको नेपाल–चीन सीमासम्म सडक सञ्जाल विस्तार गरिसकेको छ। पहिले नेपाल–चीन सीमाबाट तीन दिन हिँडेर यो नाका हुँदै कैलाश मानसरोवर तीर्थ यात्रामा जाने गरिन्थ्यो,’ अध्यक्ष धामीले भने, ‘अचेल चीनले सीमासम्म सडक ल्याएपछि एक दिनको यात्रामा पुगिन्छ।’ गाउँपालिका कार्यालयबाट चीनको सीमानामा पुग्न तीन/चार दिन लाग्छ।

स्थानीयलाई मानसरोवर जान गाउँपालिकाको सिफारिसमा चीनले अनुमती दिने गरेको छ। ‘कोरोनाका कारण अहिले यो नाकाबाट आवागमन ठप्प छ’, धामीले भने, ‘अरु बेला यहाँबाट वार्षिक २/३ हजार तीर्थ यात्री कैलाश मानसरोवर जाने गरेका थिए।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .