ad ad

कारोबार


एनआईसी एशिया बैंकद्वारा २० प्रतिशत लाभांश प्रस्ताव

एनआईसी एशिया बैंकद्वारा २० प्रतिशत लाभांश प्रस्ताव

नेपालखबर
कात्तिक ४, २०७७ मंगलबार १२:२८,

एन आई सी एशिया बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

बैंकको मंगलबार सम्पन्न सञ्चालक समितिको ४६० औं बैठकको निर्णयानुसार यस बैंकको आ.व. २०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको २० प्रतिशत लाभांश (रू. १ अर्ब ९४ करोड ३५ लाख) वितरण गर्ने प्रस्ताव गरेको बैंकले जनाएको छ।

बैठकले उक्त प्रस्तावित लाभांश मध्ये १९ प्रतिशत बोनश सेयर (रू. १ अर्ब ८४ करोड ६३ लाख) र १ प्रतिशत नगद लाभांश (रू. ९ करोड ७२ लाख) लाभांश कर प्रयोजनार्थ प्रदान गर्ने निर्णय गरेको छ। उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी २३ औं वार्षिक साधारण सभाको स्वीकृत पश्चात् आवश्यक नियमनकारी प्रक्रिया पुरा गरी बैंकका सेयरधनीहरूलाई वितरण गरिनेछ।

बैंकले गत आ.व. २०७६÷७७ मा प्रति शेयर आम्दानी रू. ३१.८९ आर्जन गर्न सफल भएको थियो भने खुद मुनाफातर्फ वार्षिक बिन्दुगत आधारमा ज्यादै कम वाणिज्य बैंकहरू मध्ये यस बैंकले २.४९ प्रतिशत (रू. ७.५२ करोड) को वृद्धि सहित रू. ३ अर्ब ९ करोड आर्जन गर्न सफल भएको थियो। बैंकको स्व–पुँजीमा प्रतिफल १९.२६ प्रतिशत रहेको छ र यस बैंक स्व–पुँजी प्रतिफलमा मुलुकका निजी क्षेत्रका बैंकहरू मध्ये प्रथम बैंक रहन सफल भएको छ।

बैंकको आ.व. २०७६÷७७ मा कुल कर्जामा बजार अंश ६.२० प्रतिशत रहेको छ भने वार्षिक बिन्दुगत आधारमा रू. २४ अर्बले वृद्धि गरी कुल कर्जा रकम रू. १७४ अर्ब पुगेको छ। जुन वाणिज्य बैंकहरूको गत आर्थिक वर्ष ०७६/०७७ मा भएको कुल कर्जा वृद्धि रकमको ७.४१ प्रतिशत रहेको छ ।

समग्र वाणिज्य बैंकहरूमा गत आर्थिक वर्षमा १३ प्रतिशत (करिब रू. ३२१ अर्ब मर्जरको कारणले भएको वृद्धि समायोजन पश्चात्) ले कर्जा वृद्धि भएकोमा यस बैंकले १६ प्रतिशत (रू. २४ अर्ब) ले कर्जा वृद्धि गर्न सफल भएको छ। जुन वाणिज्य बैंकहरूले सो आर्थिक वर्षमा गरेको वृद्धि मध्ये सबैभन्दा उच्चतम वृद्धि हो।

साथै बैंकको स्वदेशी मुद्राको निक्षेप संकलनतर्फ गत आर्थिक वर्षको अन्त्यमा बजार अंश ६.२० प्रतिशत रहेको छ भने वार्षिक बिन्दुगत आधारमा रू.३८ अर्बले वृद्धि गरी स्वदेशी मुद्राको निक्षेप संकलन रू. २११ अर्ब पु-याउन बैंक सफल भएको छ। जुन वाणिज्य बैंकहरूमा गत आर्थिक वर्ष ०७६/०७७ मा भएको कुल वृद्धिको ७.३ प्रतिशत रहेको छ।

साथै समग्र वाणिज्य बैंकहरूमा गत आर्थिक वर्षमा १६ प्रतिशत (करिब रू.४८३ अर्ब मर्जरको कारणले भएको वृद्धि समायोजन पश्चात्) ले स्वदेशी मुद्राको निक्षेप वृद्धि भएकोमा यस बैंकले २२.५० प्रतिशत (रू.३८ अर्ब) ले स्वदेशी मुद्राको निक्षेप वृद्धि गर्न सफल भएको छ।

बैंकले आफ्नो रणनीति अनुसार कर्जा पोर्टफोलियोमा न्यून जोखिम कायम गर्ने उद्देश्य अनुरूप गत आर्थिक वर्षसम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला कर्जा, रिटेल कर्जा र प्रत्यक्ष विपन्न वर्ग कर्जामा रणनीतिक क्षेत्रहरूमा विस्तार गरेको छ।

बैंकले अवलम्वन गरेको सो रणनीतिको परिणाम स्वरूप बैंकको प्रमुख १० ग्राहकहरूको कुल कर्जा अंश बैंकको कुल कर्जाको ५ प्रतिशत भन्दा कम रहेको छ, जुन समग्र बैंकिङ क्षेत्रकै सबैभन्दा उत्कृष्ट किसिमको र अत्यन्त न्यून जोखिम भएको मध्ये पर्दछ।

गत आर्थिक वर्षमा बैंकले चल्ती तथा बचत निक्षेप तर्फ रू. २२.१२ अर्बले वृद्धि गरी बचत निक्षेप मिश्रणको प्रतिशत ४५ पु-याउन सफल भएको छ जुन समग्र वाणिज्य बैंकहरूको औषत करिब ४४ प्रतिशतको तुलनामा १ प्रतिशत विन्दुले बढी हो।

बैंकले निक्षेप तर्फ पनि साना साना निक्षेप एवम् व्यक्तिगत निक्षेप वृद्धि गर्दै जाने रणनीति अवलम्वन गरी अगाडि बढिरहेको छ। जसको परिणाम स्वरूप प्रमुख १० निक्षेककर्ताहरूको अंश बैंकको कुल निक्षेपमा केबल १० प्रतिशत मात्रै रहेको छ, जुन बैंकिङ्ग क्षेत्रकै उत्कृष्ट मानिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .