कारोबार


सीमा नाकामा जाँचै हुँदैन खाद्यान्न पदार्थको घातक विषादी

सीमा नाकामा जाँचै हुँदैन खाद्यान्न पदार्थको घातक विषादी

प्रकाश न्यौपाने
कात्तिक २, २०७७ आइतबार ६:३८,

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तर मापनका लागि एक सय २५ वटा खाद्य पदार्थको न्यूनतम मापदण्ड तोकेको छ।

यसैका आधारमा भारत तथा तेस्रो मुलुकबाट आयात हुने खाद्यपदार्थको देशका १२ वटा मुख्य भन्सार नाकामा आयातनिर्यातको गुणस्तर प्रमाणीकरण हुन्छ।

तर, उपकरण र कर्मचारीको अभावजस्ता कारणले सीमा नाकामा स्थापित गुणस्तर नापजाँच कार्यालयहरुले सामान्य लेबलिङ र प्याकेजिङ हेरेर मात्रै गुणस्तर प्रमाणित गर्छन्। माइक्रोबायोलोजी प्यारामिटरहरु भने जाँच हुँदैन। जसले गर्दा अखाद्य पदार्थहरु नेपाल भित्रिरहेका छन्।

भारतलगायत तेस्रो मुलुकबाट खाद्य पदार्थ आयात गर्दा सुरुमा नेपाल सरकारको अनुमति पत्र चाहिन्छ। आयात गर्ने खाद्यवस्तुको खाद्य आयातनिर्यात तथा गुणस्तर प्रमाणीकरण कार्यालयले हरेक नमूनाको गुणस्तर परीक्षण गरेर स्वस्थकर प्रमाणित गरेपछि मात्रै भन्सार पास हुने व्यवस्था गरिएको छ। तर, लेबलिङ र प्याकेजिङ मात्रै हेरेर गुणस्तर प्रमाणित गर्ने गर्दा अखाद्यपदार्थ नेपाल भित्रिएका हुन्।

‘यहाँ उपलब्ध उपकरणबाट गुणस्तर कार्यालयले अन्न प्रशोधन गरी बनाएका परिकारमा कुल घुलनशील ठोस र एसिडिटीमात्रा, रोगकिरा, खाद्यवस्तुको लेबल, ग्रेडिङअनुसार जलास्म, रिफ्याक्टिभ इन्डेक्स, तेलहनमा एसिडको मान र अपवर्तनी सूचकांक हेर्छ’, गुणस्तर प्रमाणीकरण कार्यालय, रुपन्देहीका प्रमुख दीपक कुँवरले भने, ‘यीबाहेक खाद्य पदार्थहरुमा प्रयोग भएको विषादी, रासायनिक पदार्थ र माइक्रो बायोलोजिकल प्यारामिटरहरु भने परीक्षण गरिँदैन। यो सुविधा यहाँ छैन।’

आयात गरिएको खाद्यपदार्थ भन्सार कार्यालय परिसरमा भित्रिएपछि भन्सारले प्रत्येक खाद्यपदार्थको नमूना निकाली सिल गरेर परीक्षणका लागि गुणस्तर प्रमाणीकरण कार्यालयमा पठाउँछ। त्यसपछि लेबलिङ, प्याकेजिङ र ब्याच नम्बरलगायत रोग, किरा हेरिन्छ। ब्याक्टेरिया हेरिँदैन। जसले गर्दा नवलपरासी र रुपन्देहीका नाकाबाट आयात गरिने खाद्य पदार्थहरु घातक विषादी परीक्षणविनै नेपाल भित्र्याइने गरिएको हो।

प्रशोधित खाद्यवस्तु आयात गर्दा वस्तुको नाम, ब्याच नम्बर, उत्पादन मिति, उपभोग्य मिति, तौल, खाद्युवस्तुमा के–के मिसाएर बनाएको हो, त्यसको नाम र परिमाण, उद्योगको नाम र ठेगाना प्रस्ट देखिने गरी लेखिएको हुनुपर्छ। खाद्य नियमावली २०२७ को दफा १८ ले पनि प्याकिङ गरिएका कुनै पनि खाद्यवस्तुको लेबल अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ। तर, भारतमा आयात गरिने कतिपय खाद्यपदार्थमा लेबलसमेत कायम गरिएको पाइँदैन।

लेबल कायम गरिएका खाद्यवस्तुको प्याकेजिङ आकर्षक त बनाइएको हुन्छ तर त्यसमा रहेको खाद्यपदार्थ कति गुणस्तर छ भन्ने सबै किसिमको जाँच भन्सार नाकाहरुमा हुँदैन। ‘हामीकहाँ भएको उपकरणले जाँच्न मिल्ने खाद्यवस्तु जाँच गर्छौं, नसक्ने काठमाडौं पठाउँछौँ’, खाद्य प्राविधिक पदमराज भुसालले भने।

यहाँ जाँच नहुने खाद्यपदार्थ काठमाडौं पठाउने गरिएको भनिए पनि अहिलेसम्म पठाइएको छैन र घातक विषादी प्रयोग छ÷छैन भन्ने कुरा हेरेकै भरमा आयात अनुमति दिइन्छ।

नवलपरासीको महेशपुर र बेलहिया नाकाबाट आयात गरिने खाद्यपदार्थको जाँच भैरहवामा हुँदै आएको छ । तर, यहाँ जनशक्ति निकै कम छ । चारजना खाद्य प्राविधिकको दरबन्दी भएको कार्यालयमा दुई जना मात्रै छन् । ‘दैनिक ५०–६० नमूना जाँच गर्नुपर्छ । दरबन्दीअनुसार कर्मचारी छैनन्, कम्तिमा ७ जना प्राविधिक भए भने बल्ल काम प्रभावकारी हुन्छ’, कुँवरले भने।

चालू आर्थिक वर्षको साउन यता बेलहिया नाकाबाट आयात गरिएका सात वटा मसलाजन्य पदार्थ, धान र चामल अस्वस्थकर प्रमाणित भएका छन्। १७ मेट्रिक टन मसालजन्य पदार्थ, १३ मेट्रिक टन धान र २० मेट्रिक टन चामल अखाद्य भेटिएको हो। खासगरी अखाद्यवस्तु मिसावट र लेबलिङको समस्या भारतबाट आयात गरिने चामल, चिल्ली पाउडर, अदुवा र खुर्सानीको धुलो, जिरा, धनिया, मिट मसला, किसमिस लगायत स्पाइसिस खाद्यवस्तुमा बढी छ।

अखाद्य भेटिएका मसलाजन्य र धान, चामल उपकरणको प्रयोग नगरि आँखाले हेरेरै अखाद्य भेटिएको हो। जसले गर्दा कतै हामीले गुणस्तरहीन खाद्यपदार्थ प्रयोग गरेर रोगको भारी त बोकिरहेका छैनौ भन्ने प्रश्न तेस्रिएको छ।

उपभोक्ता हीत संरक्षण मंच सिद्धार्थनगर अध्यक्ष नरेन्द्र भण्डारीले कुनै पनि बहानामा विषादी जाँचलाई फितलो गर्न नहुने बताउँदै सरकार जनशक्ति र उपकरण थप गरेर भए पनि सबै किसिमका विषादी जाँच गरेर मात्रै खाद्यपदार्थ आयात गर्नु पर्ने बताए । उनले भने, ‘जनस्वास्थ्यभन्दा अरु ठूलो केही हुनै सक्दैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .