ad ad

कारोबार


फेसबुक पेजमार्फत सामान बेच्नेबाटै ठगिए उपभोक्ता, आठ बिक्रेता कारबाहीमा

फेसबुक पेजमार्फत सामान बेच्नेबाटै ठगिए उपभोक्ता, आठ बिक्रेता कारबाहीमा

सन्तोष न्यौपाने
असोज २९, २०७७ बिहिबार १२:४,

तपाईंले फेसबुक चलाउँदै गर्दा आकर्षक फोटोसहित सामान बिक्री गर्ने फेसबुक पेज पक्कै देख्नुभएको होला।

कतिले त्यही फेसबुकबाट सामान पनि किन्नुभएको होला। अझ कति त्यस्ता पेज स्पोन्सर (प्रायोजित) समेत गरिएका हुन्छन्।

तर, त्यसरी सामान किन्दा ख्याल गर्नुहोस्, सबैले गुणस्तर र फेसबुक वालमा देखिएजस्तो सामान बेच्दैनन्। सरकारी अनुगमनका क्रममा कतिपय त्यस्ता फेसबुक पेजबाट व्यवसाय गर्नेले गुणस्तरहीन र भनेभन्दा फरक सामान बेचेको पाइएको छ।

त्यसरी सामान किन्दा ठगिएको भनेर गुनासो गर्नेहरु ह्वात्तै बढेका छन्।

पछिल्लो समय सहरी क्षेत्रमा अनलाइन सपिङ व्यवसाय फस्टाउँदै जाँदा सामाजिक सञ्जालबाट व्यापार गर्नेको संख्या बढ्दै गएको छ।

खासगरी काठमाडौं उपत्यकामा फेसबुक पेज बनाएर व्यवसाय गर्नेहरु तीव्ररुपमा वृद्धि हुँदै गएका छन्। त्यस्ता फेसबुक ग्रुपबाट बिक्री भएका सामानमा भने उपभोक्ताबाट धेरै गुनासो आउन थालेका छन्।

उपभोक्ताबाट अनलाइन सपिङ भन्दै विभिन्न सामाजिक सञ्जालबाट सामान किनेका उपभोक्ताबाट गुनासो आउन थालेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुगमन अधिकृत ध्रुव खनालले बताए।

त्यस्ता फेसबुक पेजबाट बिक्री भएका सामानको गुणस्तर नभएको, उपभोक्ताले भनेको सामान नपु¥याएको, खरिद र बिक्री गर्ने बिल समेत देखाउन नसकेको जस्ता कैफियत भेटिएको छ।

‘अनलाइन व्यवसायको नाममा फेसबुक ग्रुपबाट सामान किन्ने उपभोक्ताबाट धेरै गुनासो आएका छन्’, खनालले नेपालखबरसँग भने, ‘गुनासोको आधारमा केहीलाई कारबाही पनि गरेका छौँ।’

त्यसरी आएका गुनासोका आधारमा केही अनलाइन कारोबार गर्ने व्यवसायीहरु कारबाहीमा परेका छन्।

विभागको अनुगमन टोलीले उपभोक्ताको गुनासोको आधारमा अनुगमन गर्दा पछिल्ला दुई दिनमा आठवटा अनलाइन व्यवसायी कारबाहीमा परेका हुन्।

कारबाहीमा परेका कुनै पनि अनलाइन करोबारीले खरिद बिल र बिक्री बिल देखाउन नसकेको विभागले जनाएको छ। कुनै पनि व्यवसाय गर्नेले उपभोक्ता संरक्षण ऐनअनुसार खरिद बिल र सामान बिक्रीपछि बिक्री बिल देखाउनुपर्छ।

बिलहरु देखानउ नसक्ने व्यवसायलाई दण्डसजायको व्यवस्था रहेको विभागका अनुगमन शाखा निर्देशक सागर मिश्रले बताए।

विभागको अनुगमन टोलीले मंगलबार गरेको अनुगमनका क्रममा अनलाइन कारोबार गरिरहेको सिद्धार्थ इन्टरप्राइजेजलाई कारबाही गरेको छ। सिद्धार्थ इन्टरप्राइजेजलाई ऐनअनुसार २० हजार रुपैयाँ जरिवाना तिराइएको छ।

त्यसैगरी, बुधबार गरिएको अनुगमनका क्रममा फेसबुक पेजबाट व्यापार गर्ने सात कम्पनी कारबाहीमा परेका छन्। उनीहरुले विभागका अधिकारीलाई खरिद र बिक्री बिल देखाउन सकेनन्।

त्यसरी कारबाहीमा पर्नेमा कन्काई हर्वो होम, पीआर सप, सरस्वती फेन्सी स्टोर, मेक इन नेपाल ग्रुप, स्मार्ट ग्यालरी, खोपी ट्रेडर्स र सुप्रिम स्टोर रहेका छन्।

सुप्रिम स्टोर उपभोक्ता संरक्षण ऐनअनुसार पाँच हजार रुपैयाँ जरिवानामा परेको छ भने कन्काई हर्वो होमलाई १५ हजार रुपैयाँ जरिवाना गरिएको छ।

अनलाइन कारोबार गर्ने अन्य कम्पनीलाई भने १५ हजार रुपैयाँका दरले कारबाही गरिएको विभागले जनाएको छ।

प्रायः कम्पनीहरुले महंगो मूल्यमा बेच्नलाई खरिद बिल नदेखाउने मिश्र बताउँछन्। ‘सुरुमा उहाँहरुले खरिद बिल देखाउनुहुन्न’, मिश्रले भने, ‘खरिद बिल नभएपछि बिक्री बिल हुने कुरा भएन।’

यसरी फेसबुक पेज वा ग्रुप बनाएर अनलाइन व्यापार गर्नेहरुले प्रायः अन्य कम्पनीको सामान लिएर बेच्ने गर्छन्। ती सामानहरुबाट धेरै नाफा राख्ने हुनाले कारोबार स्पष्ट देखाउन नसक्ने विभागका अधिकारीहरु बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .