ad ad

कारोबार


सोचेभन्दा राम्रो प्रगति गरिरहेको भेरी–बबई डाइभर्सनमा अवरोध र झमेला

सोचेभन्दा राम्रो प्रगति गरिरहेको भेरी–बबई डाइभर्सनमा अवरोध र झमेला

दीपक भट्ट
असोज १४, २०७७ बुधबार ११:३९,

गत वर्ष लक्ष्यभन्दा बढी काम भएको राष्ट्रिय गौरवको आयोजना ‘भेरी बबई बहुउद्देश्यीय आयोजना’को काममा यो वर्ष अवरोध र अन्योल थपिएको छ।

निर्माणको जिम्मा पाएको निर्माण कम्पनी ग्वाँड्डङ–रमण जेभीले काम अघि बढाउन चाहे पनि सकिरहेको छैन। आयोजना सञ्चालकको तर्फबाट असहयोग हुँदा र स्थानीयस्तरबाट झमेला सिर्जना हुँदा समस्या भएको हो।

ठेकेदार कम्पनीलाई अहिले काम गर्न प्राविधिक समस्या देखिएको छ। आयोजना सुरु हुनुअघि फाइनल गरिएको डिजाइनअनुसार ठेक्का लागिसकेर ठेकेदार कम्पनीले निर्माण सुरु गरिसकेपछि पुनः डिजाइन परिमार्जन गरिएको र उक्त डिजाइन आयोजना कार्यालयले पास गराउन नसक्दा निर्माणमा अवरोध सिर्जना भएको ठेकेदार कम्पनीले गुनासो गरेका हुन्।

निर्माण कम्पनीका प्रतिनिधि पिताम्बर सापकोटाले नेपालखबरसँग भने, ‘आयोजना कार्यालयले पुरानो डिजाइनमा काम नगर्न भनिसकेको छ। तर कहिलेसम्म नयाँ डिजाइन आउने हो, त्यो पनि स्पष्ट पारेको छैन। त्यसकारण काम नै अवरुद्ध बनेको छ।’

veri babai jhamela 1

ठेकेदार कम्पनीलाई यसबाहेक अर्को समस्या पनि थपिएको छ। स्थानीयस्तरमा राजनीतिक आवरणमा ठगिखाने केही युवाहरुले पनि झमेला सिर्जना गरेका छन्।

उनीहरु हप्तैपिच्छे केही न केही माग राखेर निर्माण कम्पनीकहाँ आउने गरेका छन्।

कहिले आफ्नो मान्छेलाई जागिर लगाइदिनुपर्यो भन्ने गर्दछन्। कहिले साइडको काम चाहियो भन्ने गर्छन्। यसबाट निर्माण कम्पनीलाई हैरान पारेको छ। ठेकेदार कम्पनीले उनीहरुको माग सम्बोधन गर्दै केहीलाई रोजगार पनि दिएको छ भने केहीलाई साइडको काम समेत दिइरहेको छ।

तर अहिले पनि उनीहरुले ठेकेदार कम्पनीलाई आवश्यकभन्दा पनि बढी मान्छेलाई जागिरमा लगाउन भन्दै दबाब दिने गरेका छन्।

आफ्नो माग सम्बोधन नगरेको भन्दै ठेकेदार कम्पनीको प्रतिनिधिहरुलाई कुटपिट गर्ने खालको धम्की समेत ती युवाहरुले दिने गरेका छन्।

निर्माण कम्पनी ग्वाँड्डङ–रमण जेभीले भने सुरक्षाको प्रत्याभूति दिलाउन माग गरेको छ। कम्पनीका प्रतिनिधि सापकोटाले भने, ‘राज्यले कामको लागि सुरक्षाको प्रत्याभूति दिलाउन सक्नुपर्यो। राष्ट्रिय गौरवजस्तो आयोजनामा काम रोकिनु, अवरोध हुनु राज्यको लागि नै घाटाको विषय हो।’

veri babai jhamela 2

आयोजनामा सुरक्षाकर्मी खटाएर भए पनि उचित सुरक्षाको प्रत्याभूति गराई काम गर्ने वातावरण बनाउन ठेकेदार कम्पनीले माग गरेको छ।

यसरी समस्या देखिरहेको विषयमा आयोजना कार्यालयले भने यसलाई ‘सानोतिनो समस्या’ भनेको छ।

‘यसमा केही समस्या आएकै हो। त्यसलाई मिलाउने काम भइरहेको छ। जग्गाको समस्या थियो, त्यसको समाधान भइसकेको छ। त्यसपछि अर्को समस्या भनेको डिजाइनको हो, त्यो एकदम जायज समस्या पनि हो। त्यसको लागि हामी आयोजनाको तर्फबाट काम गरिरहेको छौँ’, आयोजना कार्यालय सुर्खेतका प्रतिनिधि सुरेश शर्माले भने, ‘स्थानीयस्तरबाट आएको समस्या समाधानको लागि भने हामीले सीडीओ (साब)लगायतसँग समन्वय गराएका छौँ। त्यो समस्या पनि छिट्टै समाधान हुन्छ।’

veri babai jhamela 4

यो आयोजनाको लागत करिब ७ अर्ब रुपैयाँ छ। आयोजनाअन्तर्गत भेरी नदीको पानी बबई नदीमा खसाली उक्त क्षेत्रको करिब ८४ हजार हेक्टर जमिनलाई सिँचाइ गरी सुविधा पुर्याउने योजना छ।

यसको लागि सुरुङको ‘ब्रेक थ्रु’ समेत भइसकेको छ। अर्को चरणअन्तर्गत ४८ मेगावाट बिजुली उत्पादन हुनेछ।

यहाँबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडिनेछ। उक्त आयोजनाको एउटा मुख्य भाग भनेको पावरहाउस निर्माणकार्य हो। यसको निर्माण अहिलेसम्म सुरु भइसक्नुपर्ने थियो तर ठेकेदारलाई साइट हस्तान्तरण नभएकाले सोको काम समेत हुन नसकेको निर्माण कम्पनीको गुनासो छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .