कारोबार


सरकारको आक्रामक दशैँ अनुगमन योजना : व्यापारीले तलमाथि गरे तत्काल नियन्त्रण र थुना

सरकारको आक्रामक दशैँ अनुगमन योजना : व्यापारीले तलमाथि गरे तत्काल नियन्त्रण र थुना

सन्तोष न्यौपाने
असोज ९, २०७७ शुक्रबार ११:८,

कोरोना संकटले बजार शिथिल भइरहेको बेला सरकारले भने ‘आक्रामक’ दशैँ अनुगमन योजना बनाएको छ।

योजनाअनुसार सरकारी अनुगमन टोलीले व्यापारीबाट कुनै गलत काम गरेको भेट्टाएमा तत्कालै नियन्त्रणमा लिएर थुनामा राख्न सक्नेछन्।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न निकायसँग मिलेर बजार अनुगमन गर्नेछ। यसको लाागि थप ३० जना निर्देशन अधिकृत परिचालन हुनेछन्।

‘विभिन्न निकायसँग समन्वय गरेर बजार अनुगमनलाई कडाइका साथ अगाडि बढाइनेछ’, विभागका अनुगमन शाखा निर्देशक सागर मिश्रले नेपालखबरसँग भने, ‘गलत गर्नेलाई तत्काल नियन्त्रणमा लिने र थुन्नेसम्मको कारबाही हुनेछ।’

विभागले दशैँ केन्द्रीय यस अनुगमनलाई असोज १५ बाट सुरु गर्दै छ। अनुगमनलाई योजनाबद्ध रुपमा अगाडि बढाउने भन्दै अहिले तयारी भइरहेको मिश्रले बताए।

अनुगमनलाई व्यापक बनाउन सामान्य प्रशासन मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका थप कर्मचारी परिचालन हुनेछन्। सामान्य प्रशासन मन्त्रालयले १६ जना निर्देशन अधिकृत पठाइसकेको र उनीहरुले बिहीबारदेखि नै काम सुरु गरेको मिश्रले बताए।

त्यस्तै, उद्योग मन्त्रालयले पनि त्यत्ति नै संख्यामा कर्मचारी पठाउन लागेको उनले बताए। सबै गरेर काठमाडौंमा मात्रै झण्डै ३० जना थप अनुगमन अधिकृतले बजार अनुगमन गर्नेछन्।

देशैभरका निर्देशन अधिकृतलाई असोज १३, १४ र १५ गते ‘ओरियन्टेसन’ कक्षा हुँदै छ।

विभागले यो हप्ताभर भने कारबाही नगरी जानकारी र सचेत गराउने जनाएको छ। गुणस्तर मापदण्ड पूरा गर्न, उपभोक्ता संरक्षण ऐनलाई पालना गर्न, कोभिड १९ बाट बच्ने सुरक्षाका उपाय अपनाउन जानकारी गराउने मिश्रले बताए।

‘त्यसपछि हामी एक्सनमा जान्छौँ’, उनले भने।

अनुगमनलाई सशक्त बनाउन थप कर्मचारीसहित डेटिकेटेड प्रहरी सेल, ७७ जिल्लासँग समन्वय र सहजीकरण (इलाका प्रशासन कार्यालय समेत), प्रदेश तथा स्थानीय तहसँगको सहकार्य गर्ने विभागले जनाएको छ।

सात महिनादेखिको कोरोना संकटले अधिकांश समय बजार बन्द भएका छन्। खुले पनि बजार चलायमान हुनसकेको छैन। अनुगमन टोलीले भने व्यापारीलाई कारबाहीमात्र नगरेर बजार सहजीकरण समेत गर्ने मिश्रले बताए।

‘हामीले कारबाही गर्न मात्र बजार अनुगमन गर्ने होइन’, उनले भने, ‘बजार सहजीकरण गर्न र चलायमान बनाउन पनि सहयोग गरिनेछ।’

यसरी हुँदै छ अनुगमन
अनुगमनलाई दशैँ बजारमा केन्द्रित गरिनेछ। दशैँमा धेरै खपत हुने सामानको अनुगमन सम्बन्धित निकायबाट गरिनेछ।

विभागले अनुगमनको क्षेत्र पनि छुट्याएको छ। खाद्यान्न, माछामासु, अण्डा, मिठाइ, दूध तथा दुग्धजन्य पदार्थ, पानी, औषधि, फलफूल, तरकारी, चिनी, लत्ताकपडा, निर्माण सामग्री, एलपी ग्यास, इन्धनका साथै अन्य आवश्यक वस्तु तथा सेवा अनुगमनका क्षेत्र रहेको विभागले जनाएको छ।

विभागको नेतृत्वमा हुने बजार अनुगमनमा अन्य निकाय पनि साथमा रहने छन्। काठमाडौं जिल्ला प्रशासन, काठमाडौं महानगरपालिकालगायतका अन्य सरकारका अनुगमन अधिकार प्राप्त निकायहरु यसमा संलग्न हुनेछन्। उनीहरुको अनुगमनको कार्य क्षेत्र पनि विभाजन गरिएको छ।

यसअनुसार नेपाल गुणस्तर तथा नापतौल विभागले नापतौल, निर्माण सामग्रीको गुणस्तर, पेट्रोलियम पदार्थ तथा एलपी ग्यासहरु अनुगमन गर्नेछ। यस विभाग र यसका ११ वटा कार्यालयबाट अनुगमन हुनेछ।

खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागले मसला, मिठाइ, खाद्य पदार्थ, पानी, दूध तथा दुग्धजन्य पदार्थ र पशुपक्षीको दानाको अनुगमन गर्नेछ। यसले विभाग र अन्य ४३ कार्यालयबाट मुलुकभर अनुगमन गर्नेछ।

त्यस्तै, औषधि, मास्क, सेनिटाइजरलगायतका वस्तुको अनुगमन स्वास्थ्य सेवा विभाग र औषधि व्यवस्था विभागबाट हुनेछ।

अनुगमनमा कृषि विभाग, पशु सेवा विभाग, प्रदेश, स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालयलगायतका निकायको पनि सहकार्य रहने वाणिज्य विभागले जनाएको छ।

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad