ad ad

कारोबार


बारीमै कुहिन थाल्यो नास्पाती, किसानलाई घरखर्चको चिन्ता

बारीमै कुहिन थाल्यो नास्पाती, किसानलाई घरखर्चको चिन्ता

नेपालखबर
भदौ १६, २०७७ मंगलबार ९:२१,

कोरोना भाइरस (कोभिड-१९) ले विश्वभरी नै ठूलो जनधनको क्षति गरेको छ। गत वर्षको डिसेम्बरमा चीनको वुहानबाट उत्पत्ति भएको कोभिड-१९ बाट विश्वभरी करोडौँ जनता प्रभावित भएका छन्।

नेपालमा पनि कोरोनाले नराम्ररी प्रभावित गरेको छ। हजारौँको संख्यामा संक्रमित छ भने, २ सय भन्दा बढीको मृत्यु भइसकेको छ। यति मात्रै होइन उद्योग धन्दा व्यापार व्यवसाय पनि ठप्प प्रायः छन। किसानले आफ्नो बारीमा फलाएका तरकारी र फलफूल बजार अभावमा कुहिएर जाने अवस्थामा रहेको छ।

निषेधाज्ञाका कारण बिक्री नभएर भक्तपुरको सूर्यविनायक नगरपालिकामा दूध सडकमा फ्याकिएको भदौ १३ गते मात्रै हो। संघ, प्रदेश र स्थानीय सरकार लगायत सम्पूर्ण सरोकारवालाको ध्यान कोरोना नियन्त्रणतर्फ केन्द्रित हुँदा किसानका उत्पादन सडकमा फलिने, बारीमा कुहिएर जाने घटना घट्नु नौलो कुरा होइन।

सम्पूर्ण राज्यशक्ति कोरोना केन्द्रित हुँदा आफ्नै बारीको उत्पादन बजारसम्म पुर्‍याउन नपाउँदा किसानहरु पीडित त बनेका छन् नै जीविकोपार्जनका आधार नै खोसिएको महसुस पनि गर्न थालेका छन्।

संघीय राजधानी काठमाडौंको दक्षिण क्षेत्रमा रहेको दक्षिणकालीका किसानको बारीमा फलेको नास्पाती बारीमै कुहिने अवस्थामा पुगेको छ।

नास्पाती फल्ने मूख्य सिजन, नास्पाती बिक्रीबाट आएको पैसाले घरखर्च धान्दै आएका त्यहाँका अधिकांश किसानलाई कोरोनाको भन्दा कोरोनाका कारण आफ्नो उत्पादन बारीमै कुहिने चिन्ताले पिरोलेको छ।

विगतमा स्थानीय ठेकेदारहरुले बारीमै पुगेर नास्पाती किन्ने गरेकोमा यो वर्ष कोरोना र कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेको लक डाउन (निषेधाज्ञा) का कारण आएका छैनन्।

दक्षिणकाली नगरपालिका ८ छइमलेका तेजबहादुर लामालाई नास्पातीको बजार व्यवस्थापन कसरी गर्ने भन्दा बारीमै कुहिएर खेर जाने पो हो की भन्ने चिन्तामा छन्। गत वर्ष ९० हजार बराबरको २ सय बोरा नास्पाती बिक्री गरेका उनको खेतबारीमा ३४ बोट नास्पाती छन्। यो वर्षपनि २ सय बोराभन्दा बढी फलेपनि बिक्री नै नहुँदा घरखर्च कसरी धान्ने लामालाई समस्या परेको छ।

विगत वर्षहरुमा प्रतिव्यक्ति कम्तिमा ७० हजार देखि १ लाखसम्मको नास्पाती बिक्री गर्दै आएका त्यहाँका किसानहरु यो वर्ष सिजन सकिनै लाग्दा पनि बजार व्यवस्थापनमा समस्या हुँदा समस्यामा परेका हुन्। जीविका चलाउने आधार नै नास्पाती भएपनि बिक्री नहुँदा सरकारले व्यवस्थापन गरिदिए हुन्थ्यो नी भन्छन् अर्का किसान पूर्ण बहादुर तामाङ।

विश्वव्यामी महामारीका रुपमा फैलिएको कोरोना नियन्त्रणका लागि सरकारले पूर्वाधार निर्माण, उपचार र स्वास्थ्यसंस्थाहरुको व्यवस्थापन गरिरहेको छ, यो सकारात्मक पक्ष नै हो। तर महामारी नियन्त्रणका क्रममा हुने निषेधाज्ञा तथा लक डाउनका कारण किसानको उत्पादनले उचित बजार नपाउँदा कुहिने अवस्थामा रहेका फलफुल, तरकारी लगायतका स्थानीय उत्पादनको व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .