कारोबार


बजारमा खुलेआम बिक्री भए गुणस्तरहीन सेनिटाइजर, कुनै पनि विदेशी ब्रान्ड दर्ता भएनन्

बजारमा खुलेआम बिक्री भए गुणस्तरहीन सेनिटाइजर, कुनै पनि विदेशी ब्रान्ड दर्ता भएनन्

सन्तोष न्यौपाने
भदौ ७, २०७७ आइतबार १०:५६,

मुलुकमा कोरोना संकटको मौका छोपेर बजारमा गुणस्तरहीन सेनिटाइजर आउनथालेका छन्।

मानव स्वास्थ्यमा असर गर्ने त्यस्ता सेनिटाइजर कतिपय आयातित छन् भने कति स्वदेशी उत्पादन नै छन्। सरकारी निकायबाट कडाइका साथ परीक्षण र अनुगमन नहुँदा मापदण्डविपरीतका ‘ह्यान्ड सेनिटाइजर बजारमा बिक्रीवितरणमा प्रश्रय पाएका हुन्।

औषधिजन्य उत्पादनको दर्ता र अनुगमन गर्ने निकाय औषधि व्यवस्था विभागले बजार अनुगमन र परीक्षण गर्दा मापदण्ड नपुगेका सेनिटाइजर भेट्टिएको जनाएको छ। विभागका महानिर्देशक नारायण प्रसाद ढकालले बजारमा रहेका सबै सेनिटाइजर राम्रा छन् भन्न नसकिने बताए।

‘हामीले स्याम्पल (नमूना) परीक्षण गर्दा केही सेनिटाइजर मापदण्डमा असफल भएका छन्’, ढकालले नेपालखबरसँग भने, ‘त्यसैले बजारमा पाइने सबै सेनिटाइजर ठीक छन् भन्न सकिँदैन।’

गुणस्तरहीन सेनिटाइजरमध्ये अधिकांश विभागमा दर्ता नभएको तथा विभागमा समेत दर्ता नगरी अनुमतिविनै उत्पादन भइरहेको पाइएको उनले बताए।

उनका अनुसार कतिपय विदेशबाट आयात गरेका पनि गुणस्तरहीन भेटिएका छन्। दर्ता भएर अनुमति दिएका अधिकांश सेनिटाइजर भने गुणस्तरीय भएको ढकालले दाबी गरे।

कोरोना भाइरस संक्रमणले सेनिटाइजरको खपत ह्वात्तै बढेपछि यसको सस्तो उत्पादनमा होडबाजी चलेको छ। यसको उत्पादनको मापदण्ड पूरा नगरीकन मिथानोल र अन्य केमिकल मिसाएको पाइएको छ। मिथानोलले मानव स्वास्थ्यमा असर गर्छ।

बजारमा प्रशस्त मात्रमा गुणस्तरहीन सेनिटाइजर भेटिएको औषधि उत्पादनक संघका पूर्वअध्यक्ष दिपक प्रसाद दाहालले पनि बताए। नेपालमा सेनिटाइजरको कच्चा पदार्थका रुपमा प्रयोग हुने अल्कोहल औषधि व्यवस्था विभागले चिठी लेखेपछि अल्कोहल उद्योगले दिन्छन्।

तर बजारमा भने कतिपय सेनिटाइजर उद्योगले खान अयोग्य गुणस्तरहीन ‘डिम्याचुअर्ड अल्कोहल’ प्रयोग गरिरहेको दाहालको भनाइ छ। जुन उत्पादन ३०÷४० रुपैयाँ लिटरमा उपलब्ध छ। यस्तो कमसल कच्चा पदार्थको प्रयोग गरेर सेनिटाइजर उत्पादन गरिरहेको उनले बताए।

बजारमा सेनिटाइजरको नाममा खान अयोग्य ‘डिम्याचुअर्ड अल्कोहल’ प्रयोग भइरहेको भए पनि अनुगमनमा भने कडाइ गरिएको छैन। विभागले लकडाउनका कारण तीव्र रुपमा अनुगमन र परीक्षण गर्न नसकेको बताएको छ।

‘हामीले परीक्षण गरिरहेका छौँ तर निषेधाज्ञाले गर्दा बाहिर गएर अनुगमन गर्नसक्ने अवस्था छैन’, ढकालले भने, ‘निषेधाज्ञापछि कडाइ गर्छौँ।’

सेनिटाइजर अनुगमनको लागि थप योजना बनाएको उनले बताए। मंगलबारसम्मको निषेधाज्ञापछि त्यसलाई कार्यान्वयन गर्दै कडाइका साथ अनुगमन गर्ने विभागको योजना छ।

विभागले दर्ता नभएकालाई दर्ता हुने समय दिइरहेको छ। अहिलेसम्म ४० वटा सेनिटाइजर उत्पादक दर्ता भइसकेका छन्। तीमध्ये ३० उद्योगले उत्पादन नै सुरु गरिसकेका छन्।

कुनै पनि विदेशी ब्रान्ड दर्ता भएनन्
नेपाला कोरोना भइरस संक्रमण फैलिएसँगै भारतलगायका मुलुकबाट करोडौका दर्जनौँ सेनिटाइजर आयात भइरहेको भए पनि अहिलेसम्म नियामक निकायमा दर्ता भएका छैनन्।

दर्ता भएर मात्र बिक्रीवितरण गर्नु पर्ने नियम भए पनि विदेशी आयातकर्ताले आनकान गरिरहेका छन्। विभागमा महानिर्देशक ढकालले विदेशबाट आयात हुने कुनै पनि कम्पनी र ब्रान्डका सेनिटाइजर दर्ता नभएको बताए।

‘अहिलेसम्म कुनै पनि विदेशी सेनिटाइजर दर्ता भएको छैन’, ढकालले भने, ‘केहीले निवेदन दिएका छन् तर दर्ता हुनसकेका छैनन्।’

विभागले विदेशबाट आउनेलाई पनि दर्ता भएरमात्र बेचबिखन गर्न भनेको छ। दर्ता नभईकन बेचबिखन भइरहेका त्यस्ता सेनिटाइजरको गुणस्तरमा भने शंका हुन्छ। विदेशीबाट आयात हुने सेनिटाइजर पनि दर्ता हुनुपर्ने र अहिले उनीहरुलाई समय दिइएको ढकालको भनाइ छ।

भन्सार विभागको तथ्यांकअनुसार गत वर्ष कोरोना भाइरस संक्रमण देखिएपछि २४ करोड ५४ लाख ६९ हजार रुपैयाँबराबरको ५३ लाख ९ सय ८९ किलो सेनिटाइजर आयात भएको छ।

औषधि उत्पादकहरुले केही समयअघि विदेशबाट गुणस्तरहीन सेनिटाइजर आयात भइरहेको भन्दै आयात रोक्न विभागलाई अनुरोध गरेका थिए। विभागले भने आयात रोक्नेभन्दा पनि गुणस्तरीय सेनिटाइजर मात्र आयात गर्न दिने जनाएको छ।

अहिलेको अवस्थामा विदेशबाट ल्याएर बेच्नेहरुलाई एकैपटक रोक्न नसकिने ढकालको भनाइ छ। बजारमा सेनिटाइजरको माग उच्च रहेको अवस्थामा आयात रोक्दा अभाव हुने, व्यवसायी डुब्ने स्थिति हुने उनले बताए।

उनीहरुलाई दर्ता प्रक्रियामा ल्याउने काम भइरहेको उनको भनाइ छ।

विदेशबाट गुणस्तरहीन सेनिटाइजर आयात नहोस् भने एलसी खोल्दा विभागको अनुमति लिनुपर्ने भनेर राष्ट्र बैंकलाई पत्र लेखेको उनले बताए। त्यस्तै, औषधि उत्पादन गर्नेले मात्र सेनिटाइजर उत्पादन गर्न पाउने भन्ने नभएको तर औषधि उत्पादन गर्ने उद्योगको जस्तो मापदण्ड पूरा गरेर आए भने अरुले पनि सेनिटाइजर उत्पादनको अनुमति पाउने ढकालले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .