ad ad

कारोबार


सौराहाका होटल त खुले, तर ग्राहक आएनन्

सौराहाका होटल त खुले, तर ग्राहक आएनन्

नेपालखबर
साउन २४, २०७७ शनिबार ३:४४,

चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल खुले पनि ग्राहक नआएपछि व्यवसायी निराश भएका छन्।

होटल खुलेसँगै एक दुई दिन चहलपहल भए पनि बस्ने र खाने गरी ग्राहक नआएको व्यवसायीको भनाई छ।

विदेशी पर्यटक नआउने भए पनि स्थिति सहज हुने र आन्तरिक पर्यटक आउने व्यवसायीको चाहना थियो। तर विभिन्न स्थानमा कोरोनाको सङ्क्रमण बढेपछि व्यवसायीको चाहना पूरा हुन सकेन।

क्षेत्रीय होटल संघका निवर्तमान अध्यक्ष सुमन घिमिरे उत्साहका साथ होटल खोलिएको भए पनि ग्राहक नआएको बताए। होटल खुलेको भोलिपल्ट आफ्नो होटलमा तीन कोठा बुक भएको तर पछि स्थगन गरिएको उनले बताए।

जंगल सफारी लजका सञ्चालक घिमिरेले भने, ‘होटलमा सात जना कर्मचारी कार्यरत छन्, सात दिन भयो आजसम्म ग्राहक आएका छैनन्।’

सौराहाका सबै होटलको अवस्था यस्तै रहेको उनले बताए। ‘हाम्रो अपेक्षा पर्यटक नभए पनि मानिसको आवतजावत हुन्छ। बास बस्न ग्राहक आउँछन् भन्ने थियो, त्यो पनि भएन,’ उनले भने। आउँदो भदौ १ गतेदेखि आन्तरिक विमान सञ्चालनमा नआएमा होटल बन्द गर्ने सोचमा आफू पुगेको उनले बताए।

होटलसँगै रेष्टुराँ पनि खुलेका छन् तर ग्राहक छैनन्। रेष्टूराँ एण्ड बार एशोसिएशन (रेवान)का अध्यक्ष दीपेन्द्र खतिवडा ग्राहकको आवतजावत अलिअलि भए पनि खाएर बस्ने गरी ग्राहक नआएको बताए।

लामो समयसम्म बन्द गर्नुपर्दा पीडामा रहेका व्यवसायीले जेनतेन खोलेको भए पनि ग्राहक नआएपछि निराश भएको उनको भनाई छ। शुरुका दिनमा केही उत्साह जगाएको भए पनि देशका ठाउँठाउँमा कोरोना बढ्दै गएपछि त्रासले ग्राहक नआएको उनले बताए।

सौराहामा एक सयको हाराहारी रेष्टुराँ छन्। तीमध्ये ५६ रेवानका सदस्य हुन्। आधाभन्दा बढी रेष्टुराँ थोरै कर्मचारी राखेर खुलेका छन्। सौराहामा होटलको सङ्ख्या ११० छ जहाँ पाँच हजार ५०० हाराहारी कर्मचारी कार्यरत छन्।

चितवन राष्ट्रिय निकुञ्ज घुम्न पर्यटक यहाँ आउने गर्छन्। कोरोनापछि लकडाउनसँगै बन्द भएका होटल यही साउन १५ गतेदेखि सञ्चालनमा आएका हुन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .