पछिल्लो एक वर्षमा राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम भैरहवाले तीन वटा नयाँ जातको गहुँ अनुसन्धान गरेको छ।
आर्थिक वर्ष २०७६÷०७७ मा ‘एनएल १३०७’ (बोर्लाग १००), ‘एनएल १३२७’ र ‘एनएल १३६९’ गरी नयाँ तीन जातको गहुँ अनुसन्धान गरेको हो।
अनुसन्धानपछि कृषि मन्त्रालयमा रहेको राष्ट्रिय बीउबीजन समितिमा सिफारिसको तयारी भइरहेको गहुँबाली अनुसन्धानका बाली प्रजनक वरिष्ठ वैज्ञानिक दीपक पाण्डेले जानकारी दिए।
समितिले प्रयोग गर्नका लागि स्वीकृत दिएर राजपत्रमा सूचना प्रकाशन गरेपछि नयाँ जातको गहुँ कार्यान्वयनमा आउनेछ।
‘पहिला खाद्य सुरक्षा भनेर उत्पादन बृद्धिका लागि मात्रै गहुँको जात सिफारिस हुन्थ्यो, अहिले खाद्यान्न विश्लेषण गरेर जिंक तथा आइरन भएका जातहरु अनुसन्धान र उन्मोचनका लागि सिफारिस गरिएको छ’, गहुँबालीका सूचना अधिकृतसमेत रहेका वरिष्ठ वैज्ञानिक पाण्डेले भने।
यो नयाँ जातमा अन्य गहुँमा भन्दा जिंक र आइरनको मात्रा २५ प्रतिशतले बढी हुन्छ। जसले गर्दा यसको स्वाद मिठो हुनुका साथै मानव स्वास्थ्यका लागि निकै फाइदा गर्छ। यस्तै, उत्पादन र उत्पादकत्वसमेत राम्रो हुने दाबी गरिएको छ।
तराईमा राम्रो उत्पादन हुँदै आएका भृकुटी, गौतम जातको गहुँमा पछिल्लो समय खैरो सिन्दुरे, डढुवाजस्ता रोगको प्रकोप बढ्दै गएको छ। यसको विकल्पमा जिंक र आइरनको मात्रा पनि बढी भएको र रोग लाग्ने सम्भावनासमेत न्यून भएका नयाँ जातको गहुँ अनुसन्धान गरिएको पाण्डेको भनाइ छ। अनुसन्धान गरिएको नयाँ जात तराई क्षेत्रमा प्रयोगमा ल्याइने छ।
‘चालू आवको सिजनबाट प्रयोगमा आउनेछ। यसको उत्पादन र उत्पादकत्व राम्रो हुने हाम्रो अनुसन्धानले प्रमाणित गरेको छ’, पाण्डेले भने। अघिल्लो वर्ष ‘भैरहवा लायन ४३४१’ नामको नयाँ जातको गहुँ अनुसन्धानपछि प्रयोगका लागि सिफारिस गरिएको थियो। यो कार्यान्वयनमा आइसकेको छ।
कार्यालयले ४६ वर्षदेखि गहँुको जातीय विकास, गहुँसँग सम्बन्धित प्रविधिको विकास, गहुँको स्रोत तथा बीउको विकासमा अनुसन्धान गर्दै आएको छ। यो अवधिमा ४७ जातका गहुँ अनुसन्धान भइसकेको छ।
यीमध्ये ३२ जातको गहुँ नेपालमा खेती हुँदै आएको छ। कार्यालयकाअनुसार तराईमा १८, पहाडमा १२ र उच्च पहाडमा २ जातको गहुँको खेती हुन्छ। त्रिवेणी, भाष्कर, लुम्बिनी लगायत १२ जातको गहुँमा रोगको प्रकोप तथा उत्पादन र उत्पादकत्व समेत राम्रो नभएका कारण विस्थापित गरिएको छ भने अहिले अनुसन्धान गरिएका तीन जात कार्यान्वयनको प्रक्रिया अघि बढाइएको छ।
यो वर्षबाट धानको मूल बीउ उत्पादन र त्यसको परीक्षण सुरु गरिएको छ। यसवर्ष धानको हाइब्रिड बीउ उत्पादन गर्ने लक्ष्य राखिएको पाण्डेले जनाए। नेपालमा तराईका लागि एनएल ९७१, वाणगंगा, बीएल ४३४१, भृकुटी, गौतम जातको गहुँ उत्तम मानिन्छ। तर, भृकुटी र गौतममा रोगको प्रकोप बढ्दै गएपछि विस्थापित गर्ने तयारी गरिएको छ। अन्य जात भने प्रयोगमै रहनेछन्। यस्तै, पहाडका लागि स्वर्गद्वारी, धवलागिरी, डब्लुके १२०४ लोकप्रिय जात हुन् भने उच्च पहाडमा डाँफे, पासाङ ल्यामु लगायतको जात उत्तम मानिन्छ।
नेपालमा गहुँको जातको विकास गर्दा अन्तर्राष्ट्रिय संस्थाहरुबाट ल्याएर परीक्षणपश्चात् हावापानी सुहाउँदो जातको छनोट गरिन्छ। त्यसपछि विभिन्न गहुँको जातको क्रसबाट नयाँ र उपयुक्त जातको विकास तथा अनुसन्धान हुँदै आएको छ। गहुँको जात विकास गर्दा पूर्व–पश्चिमसम्म रहेका नार्कका स्टेसनहरुमा जाँच गरिन्छ।
कतिपय किसानलाई खेती गर्न लगाएर उत्पादन र उत्पादकत्वको परीक्षण समेत गरिन्छ। नेपालमा करिब २० वटा अनुसन्धान कार्यालयले मूल बीउ उत्पादन गर्दै आएका छन्। उत्पादित बीउ विभिन्न बीउबिजन कम्पनी, कृषि तथा सहकारी कम्पनी, बीउबिजन गर्ने सहकारी तथा निजी उद्योग, अगुवा किसानले प्रयोग गरी बीउ उत्पादन गरी वितरण गर्दै आएका छन्।
नेपालमा ९५ प्रतिशतभन्दा बढी किसानले स्वदेशमै उत्पादित विभिन्न जातको गहुँको बीउ प्रयोग गर्ने गर्छन् भने मुलुकभर ७ लाख ६ हजार ८४३ हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ। उत्पादनका हिसाबले धान र मकै पछि गहुँ तेस्रो बाली हो। प्रयोगका आउनेमध्ये धानपछिको दोस्रो बाली मानिन्छ। नेपालमा सन् १९६० बाट गहुँ अनुसन्धान सुरु भएको थियो।
प्रतिक्रिया