बैंक अफ काठमाण्डू लिमिटेडको कर्मचारी संघले राष्ट्रिय आविष्कार केन्द्रलाई २ लाख ५१ हजार रुपैयाँ नगद सहयोग गरेको छ।
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको प्रकोपबाट सृजना भएको कठिन परिस्थितिमा सीमित स्रोत साधनका बीच संक्रमण नियन्त्रणको प्रयासका लागि अग्रस्थानमा रहेर नेपालभित्र नै व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) उत्पादन गर्दै आइरहेको राष्ट्रिय आविष्कार केन्द्रलाई यस बैंकको कर्मचारी संघद्वारा वित्तीय सहयोग हस्तान्तरण गरेको बैंकले जनाएको छ।
आविष्कारको क्षेत्रमा ठूलो योगदान गर्दै विभिन्न सामाजिक कार्यमा खटिरहेका डा. महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रको नेत्तृव गर्दै आएका छन्। बैंकको कर्मचारी संघका अध्यक्ष अरुण श्रेष्ठले राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुनलाई एक समारोहको बीच उक्त सहयोग हस्तान्तरण गरेका हुन्।
राष्ट्रिय आविष्कार केन्द्रद्वारा उत्पादन गर्दै आईरहेको व्यक्तिगत सुरक्षात्मक उपकरणको उत्पादनमा सहयोग पुग्ने विश्वास स्वरुप उक्त सहयोग रकम हस्तान्तरण गरिएको र अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई सहयोग गर्न उत्साहित गर्ने विश्वास लिएको बैंकको कर्मचारी संघको प्रमुख श्रेष्ठले जानकारी दिए।
बैंकको कर्मचारी संघले विभिन्न सामाजिक उत्तरदायित्व वहन गर्दै सामाजिक कार्यमा बैंक संगै अग्र स्थानमा रही सेवा गरिरहेकोे छ।
प्रतिक्रिया