कारोबार


महासंघ निर्वाचन : साधारणसभा स्थगित गरेर अर्को मिति किन तय गरिएन?

महासंघ निर्वाचन : साधारणसभा स्थगित गरेर अर्को मिति किन तय गरिएन?

चन्द्र प्रसाद ढकाल
साउन ९, २०७७ शुक्रबार १०:५८,

सरकारले १२० दिनसम्म लगाएको लकडाउन गत मङ्गलबारबाट हटाएको छ। कोरोनाको प्रभाव र त्रास विस्तारै कम हुँदै गएको छ। चैत ११ गतेबाट ठप्प भएको हाम्रो सार्वजनिक जीवन फेरी चलायमान हुन थालेको छ।

जिल्लाभित्र यातायात पूर्णरुपमा सञ्चालनमा आएको छ। सरकारले भदौ १ गतेबाट लामो दूरीका यातायात, राष्ट्रिय र अन्तर्राष्ट्रिय उडानहरु खोल्ने निर्णय गरिसकेको छ। रेष्टुरेण्टहरु खुल्न थालिसेका छन्, होटलहरु पनि साउन १५ गतेबाट खुल्दैछन्। बैंक, वित्तीय संस्था, उद्योग, व्यापार तपाईं हाम्रा कर्पोरेट अफिसहरु स्वास्थ्यसम्वन्धी मापदण्डहरु लागू गरेर पूर्ण रुपमा खुलेका छन्।

जसरी तपाईं हाम्रा उद्योगहरु, कार्यालयहरु, कर्पोरेट अफिसहरु स्वास्थ्यसम्वन्धी मापदण्डहरु लागू गरेर खोलेका छौं। मैले त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघको साधरणसभा पनि पूर्णरुपमा स्वास्थ्यसम्वन्धी मापदण्डहरु लागू गरेर सञ्चालन गरौं भन्ने राय राखेको थिएँ।

यस्तो राय राख्दा महासंघकै पदाधिकारी साथीहरुले स्वास्थ्यभन्दा महासंघ ठूलो हुन सक्दैन भनेर मलाई हतोत्साही बनाउने प्रयास गर्नुभयो। आफ्नो सार्वजनिक जीवनमा मैले पनि स्वास्थ्यभन्दा महासंघ ठूलो हो भनेर कहिल्यै पनि धारणा राखेको छैन्। त्यस्तो म सोच्न पनि सक्दिन।

मैले कोभिडको महामारीमा साधारणसभाको कुरा उठाउँदा स्वास्थ्यसम्बन्धी कुनै पनि कुरामा सम्झौता गर्ने कुरा गरेको छैन्। कोभिड महामारी कै बिच दक्षिण कोरिया र केही युरोपेली देशले निर्वाचन सम्पन्न गरे। हाम्रै देशमा संघीय तथा प्रदेश संसदहरु चले। यसमा हामीले पनि नेपाल सरकारले जारी गरेका स्वास्थ्यसम्वन्धी प्रावधानहरु लागू गरेर साधारणसभा गर्न सकिन्छ भन्ने कुरा राखेको हुँ।

मेरो राय मात्र के थियो भने हामी सजग भएर, स्वास्थ्यसम्वन्धी प्रोटोकलहरु पूर्ण रुपमा लागू गरेर, जसरी तपाईं हाम्रो उद्योग, व्यापार र अफिस खोलेका छौं त्यसैगरी महासंघको साधरणसभा गर्न सक्छौं भने हामीलाई केही लाभ हुन्छ।

जस्तो, यसबाट ५५ वर्ष अघि स्थापना भएको हाम्रो गौरवशाली संस्थाको जुन गरिमा छ, साख छ र मर्यादा छ त्यो गरिमा, साख र मर्यादालाई जोगाउनका लागि हामीले बनाएका जुन विधिविधान छन, ती विधिविधानको पूर्ण परिपालना हुन्छ।

अत्यन्त जटिल पस्थितिमा समेत महासंघले समयमै साधारणसभा सम्पन्न गरेका अनेक उदाहरणहरु छन। कम्तीमा यस्तो अफ्ठ्यारो समयमा पनि हामीले साधारणसभा गरेर हाम्रो गरिमा राख्न सक्यौं भन्ने हुन्थ्यो।

हामीले महासंघको साधारणसभा गर्यौं भने त्यसले हाम्रा साथीहरुको मनोवल पनि उठ्थ्यो। कोरोनाले जसरी हाम्रो मनोविज्ञानलाई विगारेको छ, उद्योग व्यापारलाई तहसनहस बनाएको छ। साधारणसभाकै लागि भए पनि देशभरका उद्योगी व्यापारी साथीहरु भेला भएर छलफल गथ्र्याैं। यसले तपाईं हामीलाई हौसला दिन्थ्यो। हाम्रो मनोवल बढाउँथ्यो भन्ने हो।

चैतमा हुनुपर्ने साधारणसभा लकडाउनका कारण गर्न सकिएन। त्यसपछि पुरानो नेतृत्व आफ्नो जिम्मेवारीबाट पन्छिने र नयाँ नेतृत्वले जिम्मेवारी लिन नचाहने स्थिति रह्यो। यसले गर्दा एकातर्फ यो संस्था बेवारिसे हुन सक्ने अवस्था देखियो भने अर्कोतर्फ यसमा आवद्ध लाखौं उद्योगी, व्यापारी तथा व्यावसायीले अफ्ठ्यारो परिस्थितिमा अभिभावक विहिनको अवस्था महशुस गर्नुपर्यो।

पीडाको यस समयमा उनीहरुको घाउमा मल्हम लगाउने, उनीहरुको आफ्नो भनिएको महासंघ म्याद सकिएको औषधी जस्तो हुन गयो। आवश्यकता पर्दा केही नहुने संस्थाको औचित्य के भन्ने अहिले पीडामा रहेका सबै व्यवसायीको गुनासो पनि छ।

त्यही कारण साधारणसभा भयो भने त्यसले नयाँ नेतृत्व दिन्थ्यो, त्यो नेतृत्वले कोरोनाबाट प्रभावित हाम्रो उद्यम, व्यापारलाई जोगाउन सरकार, नियामक निकायहरुसँग एउटा युनाइटेड भ्वाइस लगेर जान सक्थ्यो भन्ने पनि हो।

यस्तो जटिल परिस्थितिमा हामीलाई सबल, सक्षम र डाइनामिक नेतृत्वको आवश्यकता छ भनेर मैले आवाज उठाउँदा उल्टै मलाई पदमा पुग्न हतार गरेको आरोप लगाउने काम भयो।

जब कि महासंघको साधारणसभाका लागि लिएर मेरो व्यक्तिगत कुरा गर्नुहुन्छ भने यसबाट मलाई तात्विक भिन्नता केही हुँदैन। साधरणसभा अघि म उपाध्यक्ष हुँ, साधरणसभाले मलाई विजयी बनाए पछि पनि म हुने वरिष्ठ उपाध्यक्ष नै हो। म कार्यकारी अधिकार भएको पोस्टमा पुग्ने पनि होइन। त्यसैले महासंघको साधरणसभाबाट मलाई कुनै ठूलो लाभ हुने, वा व्याक्तिगत महत्वाकांक्षा पूरा हुने पनि होइन।

म आज सबै साथीहरुलाई स्पष्ट रुपमा भन्छु, अहिले हामीले जे समस्यालाई भोगिरहेका छौं, ती समस्या समाधानका लागि प्रभावकारी पहल हुन्छ भने, हामी सबै जना एकीकृत भएर अघि बढ्ने हो भने मलाई साधरणसभा दुई/चार दिन वा महिना होइन, चैतमा साधरणसभा गर्दा पनि आपत्ति हुँदैन।

चैतमा हामीले साधरणसभा गर्न नसकेपछि लकडाउनकै बीचमा निर्णय गरेर हामीले साधारणसभा साउन २६ र २७ गतेका लागि तोकेका थियौं। हिजो महासंघका पदाधिकारीको आकस्मिक बैठक राखेर साधारणसभालाई अनिश्चित समयसम्मका लागि धकेल्ने काम भयो।

त्यसमा मलाई केही विषय आपत्तिजनक लागेका छन।

जस्तो हामीले साधारणसभाको मिति कार्यसमितिको बैठकबाट निर्धारण गरेका थियौं। जबकी हामीसँग फेरी कार्यसमिति बैठक बोलाउनका लागि प्रशस्त समय थियो। कार्यसमितिको अधिकारलाई हामीले कुल्चिने काम गर्यौं। यो अत्यन्तै दुखःद कुरा हो। यसले महासंघमा गलत प्रवृत्तिको विकास भएको छ। र मलाई स्यालले कुखुरा लग्यो भन्नेभन्दा पनि स्याल पल्कियो भन्ने कुराले बढी पिरोलेको छ।

हामीले साउन २६ र २७ गतेका लागि तय गरिएको साधारणसभाका लागि सहजीकरण गर्नका लागि नेपाल सरकार समक्ष निवेदन दिएका थियौं। राष्ट्रिय निर्देशन ऐन २०१८ अनुसार स्थापना भएको संस्था भएकाले महासंघका गतिविधिले नेपाल सरकारसँग प्रत्यक्ष सरोकार राख्छन।

यस्तो बेलामा हामीले आफ्ना आन्तरिक र संस्थागत गतिविधि सञ्चालन गर्दा सरकारसँग सहमति लिनु आवश्यक मात्र नभइ अपरिहार्य नै हुन्छ। अर्कोतर्फ सोही ऐनको दफा ६ (२) मा संस्थाले विधानविपरीत कार्य गर्दा हाम्रा यी समग्र गतिविधिहरुले मुलुकको यो गरिमामय संस्था कतै दुर्घटनातर्फ उन्मुख त भएको छैन ? सबैले समयमै सोचौं।

त्यसकारण कम्तीमा हामीले सरकारलाई दिएको निवेदनको जवाफ कुर्नुपर्ने थियो।

साधारणसभा स्थगित गरेर अर्को मिति तयसमेत नगरिँदा यसले कानुनीमात्र नभई हाम्रो नैतिक र सामाजिक जगसमेत कमजोर बनाएको छ। साढे ५ दशक पुरानो संस्था कानुनी रुपमा इतिहासमै कमजोर अवस्थामा पुगेको बेला यसलाई कम्तीमा चुनावी दाउपेचको शिकार बनाउनुहुँदैनथ्यो। यो आफैंमा दुर्भाग्यपूर्ण छ।

(नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ढकालले साधारणसभाको मिति सरेको सन्दर्भमा व्यक्त गरेको धारणा)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad