कारोबार


चार वर्षयता अल्झिएको नलगाड जलविद्युत्को मुआब्जा वितरण यही वर्ष सकिने

चार वर्षयता अल्झिएको नलगाड जलविद्युत्को मुआब्जा वितरण यही वर्ष सकिने

नेपालखबर
साउन २, २०७६ बिहिबार ६:४८,

लामो समयदेखि अर्थाभावका कारण किस्ता–किस्तामा वितरण हुँदै आएको नलगाड जलविद्युत् निर्माणस्थलको मुआब्जा स्थानीयवासीले यसै आर्थिक वर्षमा सबै रकम पाउने भएका छन्। सरकारले सबै मुआब्जा दिने गरी दुई अर्ब ७२ करोड रकम विनियोजन गरेपछि छ हजार रोपनीको मुआब्जा यसै वर्षमा वितरण हुने वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताएका हुन्।

चार वर्षअघिदेखि मुआब्जा वितरणकार्य सुरु गरिए पनि रकम अभावमा अहिलेसम्म बाँधस्थल अँधेरीखोलामा १ सय ५० रोपनी र विद्युत्गृह निर्माणस्थलको २ सय ५० रोपनीको मात्र मुआब्जा वितरण गरिएको थियो। अब बाँधस्थलका स्थानीयवासीको जग्गा अधिग्रहण गरी मुआब्जा वितरणको काम सुरु हुने मन्त्री बस्नेतले जानकारी दिए। उनले भने, ‘लामो समयदेखि रकम अभावका कारण काममा तीव्रता दिन सकिएको थिएन, अहिले पूरै बजेट व्यवस्था गरेर ‘ब्रेकथ्रु’ गरेका छौँ।’

मुआब्जा वितरण गरिएको ठाउँमा योभन्दा अगाडि प्रतिरोपनीको चार लाख ७५ हजारका दरले वितरण गरिएको थियो। अब जग्गाको मूल्याङ्कन गरेर जिल्ला प्रशासन कार्यालयले सरोकारवालाको बैठक बोलाई नयाँ दरभाउ तोकेर मापदण्ड बनाई मुआब्जा वितरणको काम हुनेछ। अब केही दिनमै प्रभावित क्षेत्रको जग्गा रोक्का गर्ने कार्य सुरु हुने कम्पनीले जनाएको छ । एक हजार रोपनीभन्दा बढी जग्गा अधिग्रहण हुने नलगाड जलविद्युत् कम्पनीले जानकारी दिएको छ। बजेट अभावमा जग्गा अधिग्रहणको काम रोकिएकामा अब पूर्णरूपमा अधिग्रहण गरी काम सुरु हुनेछ। प्रत्येक वर्ष सरकारले बजेट छुट्याए पनि बजेट अपुग हुँदै काम अगाडि बढ्न सकेको थिएन।

कम्पनीको विस्तृत योजना प्रतिवेदन (डीपीआर) काम चार महिनाभित्र सकिने सम्भावना रहेको कम्पनीका इञ्जिनियर पदम थापाले जानकारी दिए। स्मेक, एमडब्लुएच कन्सलटेन्टले विस्तृत योजना प्रतिवेदन बनाउने जिम्मा लिएको छ। तोकिएको समयमा प्रतिवेदन दिन नसकेको कन्सलटेन्टलाई छ महिना मिति थपिएको भए पनि, थपिएको मिति सकिनसमेत एक महिना बाँकी रहँदा काम पूरा नहुने देखिएको छ।
बत्तीस महिनाभित्र निर्माणकार्य पूरा गर्ने भनी सम्झौता गरिएको भए पनि सो निर्धारण गरिएको समयमा काम पूरा नहुँदा छ महिना थपिएको थियो। सामग्री ढुवानी, सुरक्षा अनि विस्फोटक पर्दाथको समयमा आपूर्ति नहुँदा निर्धारित समयमा काम पूरा गर्न नसकेको कन्सलटेन्टले बताएको छ। यो आयोजना निर्माण भएमा ४१० मेगावाट विद्युत् उत्पादन हुने लक्ष्य राखिएको छ। बारेकोट गाउँपालिकाको अँधेरीखोलामा बाँध निर्माण र नलगाड नगरपालिका–७ दल्लीमा भूमिगत विद्युत्गृह निर्माण हुनेछ। तीन सय ४५ मिटर लामो भूमिगत सुरुङ निर्माण गरी माटोको अवस्था पत्ता लगाउन विगत ३८ महिनादेखि काम सुरु भए पनि पूरा भएको छैन।

विद्युत्गृह निर्माणका लागि तीन सय ४५ मिटर सुरुङ निर्माण गरी माटोको अवस्था पत्ता लगाउन काम सुरु भए पनि मिति सकिन एक महिना बाँकी रहँदासम्म २३५ मिटर मात्र निर्माण गरिएको आयोजनाका इञ्जिनियर थापाले बताए। सरकारले अबको १० वर्षभित्र सात प्रदेशमा १२ ठूला आयोजना सम्पन्न गर्ने लक्ष्य लिएर कर्णाली प्रदेशमा ४१० मेगावाटको नलगाड जलाशययुक्त आयोजना अघि बढाउने योजना अगाडि सारेको थियो। त्यस्तै नलगाड जलविद्युत् कम्पनी निर्माणका लागि आवश्यक विद्युत् उत्पादन गर्ने उद्देश्यले निर्माण गर्ने भनिएको ताँसुगाड जलविद्युत् आयोजनाको डीपीआर निर्माणकार्य भर्खर सुरु भएको छ। डीपीआर निर्माणको जिम्मा लिएको डिजाएड कन्सल्टेन्ट नयाँबानेश्वरले बीचमै काम छाडेर सम्पर्कमा नआएपछि समस्या भएकामा अहिले पुनः काम गर्न थालेको थापाले बताए।

उक्त कामका लागि ८८ लाखमा ठेक्का लिएर ४३ लाख रकम भुक्तानी लिएको र बाँकी रकम नलिएरै सम्पर्कमा नआएपछि सरोकार समितिका अध्यक्ष गणेशप्रसाद सिंहलगायतको टोलीले चर्को दबाब दिएपछि पुनः काममा फर्केको छ। ताँसुगाड जलविद्युत् आयोजनाबाट चार दशमलव पाँच मेगावाट विद्युत् उत्पादन गरेर नलगाड जलविद्युत् कम्पनी निर्माण गर्ने लक्ष्य राखिएको छ। दुई वर्षभित्र प्रतिवेदन बुझाउने सम्झौता भए पनि डिजाएडले पाँच वर्ष पूरा भए पनि प्रतिवेदन बुझाएको छैन। त्यस्तै जिल्लाको नलगाड नगरपालिका–७ को दानीपिपलमा ४०० केभी प्रसारणलाइनको सबस्टेसन निर्माणकार्यका लागि जग्गा अधिग्रहण गरेर मुआब्जा वितरणकार्य सुरु गर्ने तयारी अन्तिम चरणमा पु¥याएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए।

जाजरकोटका सात स्थानीय तहमा केन्द्रीय लाइन विस्तार अभियानकार्य ७० प्रतिशत पूरा भएको नेपाल विद्युत् प्राधिकरण जाजरकोट वितरण केन्द्रका प्रमुख लोकबहादुर खड्काले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad