लगानी बोर्डमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई लैजाने चर्चा बढेको छ।
बोर्डका सीईओ रहेका महाप्रसाद आधिकारी नेपाल राष्ट्र बैंकको गभर्नर बनेपछि रिक्त रहेको पदमा १२ जनाले आवेदन फर्म बुझाए पनि सरकारले ज्ञवालीलाई लैजाने सम्भावना बलियो देखिएको हो।
प्राधिकरणमा ज्ञवालीको कार्यकाल सकिन २ महिना मात्र बाँकी छ। हाल सत्तापक्षसँग राम्रो सम्बन्ध रहेको कारण पनि उनको चर्चा बढेको छ। त्यस्तै, विदेशी लगानीकर्तासँग पनि ज्ञवालीको राम्रो सम्बन्ध रहेकाले बोर्डमा उनलाई लैजान खोजिएको स्रोतको दाबी छ।
उनी विशेष गरी नेकपाका महासचिव विष्णु पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीका ‘नजिकका व्यक्ति’ मानिन्छन्।
साथै नेकपाका अन्य प्रभावशाली नेतृत्वको नजिकका व्यक्तिहरु पनि लगानी बोर्ड जान इच्छुक देखिएका छन्। नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल नजिक मानिने कृष्णप्रसाद आचार्यले पनि बोर्डको सीईओ बन्न आवेदन दिएका छन्। उनमा कर्मचारी सञ्चय कोषमा काम गरेको अनुभव समेत छ। उनी हाल नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्थाका अध्यक्ष समेत हुन्।
त्यस्तै नेकपाकै अर्का अध्यक्ष प्रचण्डनिकट मानिने सुशील भट्टले पनि आवेदन दिएका छन्। सबैभन्दा पहिले आवेदन फर्म बुझाएका उनी हाल राष्ट्रिय योजना आयोगका सदस्य समेत रहेका छन्।
अहिले आयोगमा भौतिक पूर्वाधार क्षेत्रको जिम्मेवारी लिएर काम गरिरहेका भट्टको सरकारले ल्याएको योजना बैंकको नीति बनाउन प्रमुख भूमिका छ। विशेष गरी जलविद्युत् क्षेत्रमा विदेशी कम्पनीको एजेन्टको रुपमा काम गरेको अनुभव समेत उनीसँग छ।
मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयका अनुसार आवेदन फर्म बुझाउनेहरुमा बोर्डमा परामर्शदाताका रूपमा कार्यरत इन्जिनियर आशिष गजुरेल, विद्युत् नियमन आयोगका पूर्वसदस्य रामकृष्ण खतिवडा र विशेष आर्थिक क्षेत्र प्राधिकरणका पूर्वकार्यकारी निर्देशक चण्डिका भट्ट, नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, पूर्वसहसचिव लक्ष्मीविलास कोइराला रहेका छन्।
त्यस्तै कोरियामा विदेशी लगानीबारे नै अध्ययन गरेर आएका डा. सरोज कोइराला, माछापुच्छ्रे बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, कानुन सेवामा कार्य अनुभव रहेका शेरजङ कार्की र त्रिविका अर्थशास्त्रका सहप्राध्यापक रमेशचन्द्र पौडेलले पनि बोर्डको सीईओका लागि आवेदन दिएका छन्। पौडेल पनि माधव कुमार नेपाल निकट मानिन्छन्।
अहिले सत्तारुढ दल नेकपामा राजनीतिक उचारचढाव आइरहँदा सरकार परिर्वतनको चर्चा समेत चलिरहेको छ। तर सरकार परिवर्तन नहुँदासम्म ज्ञवाली नै पक्कापक्की रहेको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताए। ती अधिकारीले भने, ‘सरकार परिर्वतन भएको खण्डमा मात्रै अरुको सम्भावना रहन्छ।’
बोर्डको सीईओको छनोट प्रक्रिया समेत सरकारले सुरु गरिसकेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा ३ सदस्यीय टोली गठन समेत भइसकेको छ। टोलीमा योजना आयोगका उपाध्यक्ष पुष्प कँडेल र अर्थशास्त्री गोविन्द नेपाल सदस्य छन्।
आवेदन परेकोमध्ये ३ जना छनोट हुनेछन्। छनोट भएका उनीहरुको नाम अर्थमन्त्री खतिवडाले मन्त्रिपरिषद्मा पेश गर्नेछन्। त्यसपछि मन्त्रिपरिषद्ले एक जनालाई बोर्डको सीईओमा नियुक्त गर्नेछ। सीईओ असार महिनाभित्रै नियुक्ति हुने सम्भावना प्रबल रहेको छ। महाप्रसाद अधिकारीको कार्यकाल पनि असारसम्म मात्रै रहेको थियो। सीईओको कार्यकाल अवधि ४ वर्ष हुनेछ।
अर्थमन्त्री खतिवडाले विशेष गरी विदेशी लगानीमा बढी ध्यान दिने हुँदा विदेशी लगानीकर्ताहरुसँग सम्बन्ध भएको र काम गर्न सक्ने व्यक्तिहरुबाट नै ३ जनाको खोजी गर्नेछन्। जसमा ज्ञवाली पहिलो रोजाइमा पर्ने प्रधानमन्त्री कार्यालयका अधिकारीहरुको बुझाइ छ।
ज्ञवालीले प्राधिकरणमा राम्रो काम गरेको र पुनर्निर्माणको काम अन्तिम चरणमा पुर्याएका छन्। उनलाई प्राधिकरणमा दोहो¥याएर सीईओ बनाइएको थियो।
सीईओको लागि योग्यता
सरकारले गरेको आवेदनअनुसार मान्यताप्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, वाणिज्यशास्त्र, कानुन, इन्जिनियर वा विकास परियोजनासम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र लगानी प्रवद्र्धन, परियोजना विकास, सार्वजनिक खरिद, सार्वजनिक निजी साझेदारी, विकास प्रशासन, बैंकिङ, वित्तीय तथा औद्योगिक व्यवस्थापनको क्षेत्रमा कम्तीमा १० वर्षको व्यवस्थापकीय अनुुभव हासिल गरेको योग्यता हुनुुपर्नेछ।

प्रतिक्रिया