कारोबार


धमाधम सटर खाली हुन थाले ठमेल क्षेत्रमा, टिक्ने उपाय खोज्दै घरधनी र व्यवसायी (भिडियाे)

धमाधम सटर खाली हुन थाले ठमेल क्षेत्रमा, टिक्ने उपाय खोज्दै घरधनी र व्यवसायी (भिडियाे)

सन्तोष न्यौपाने
असार ७, २०७७ आइतबार १५:३१,

ठमेल नर्सिङ चोकमा हेन्डिक्राफ्ट (हस्तकला) व्यवसाय गर्ने अग्नि ढकाल यो सिजनमा विदेशी पर्यटकसँग अति व्यस्त हुन्थे।

कतिपय मानिस ठमेलका होटल, रेष्टुरेन्ट सोध्न आउँथे भने कैयौं चाहिँ हेन्डीक्राफ्टका सामान किन्न ठेलमठेल गर्थे।

यो ट्रेकिङ जाने र हिमाल चढ्ने समय हो। यो महिना हिमालबाट फर्केका पर्यटक ठमेल क्षेत्र मै आउँथे। थकाइ मार्थे। रमाइलो गर्थे। स्वदेश फर्किनुअघि मनपर्ने सामान किन्थे।

आइतबार दिउँसो नर्सिङ चोक पुग्दा सडकपेटीमा बसेर सितल हावा खाइरहेका थिए ढकाल। व्यवसाय गरेको २५ वर्षको अवधिमा उनलाई यसरी कहिले पनि फुर्सदिलो बन्नु परेको थिएन।

उनलाई याद छ, यसअघि २०६२-६३ को जनआन्दोलनको समयमा १९-२० दिनसम्म पसल बन्द गरेका थिए। त्यसबाहेक यस्तो ‘बोर’ हुनेगरी सटरको ताला लगाउनु परेको थिएन।

निरन्तर तीन महिनासम्म बन्द गरेको सटरको ताला उनले असार १ गते खोलेर भित्र पसे। गुम्सिएको हावा ह्वाप्पै आयो।

किन्ने मान्छे कोही छैन। उनका ग्राहक अधिकांश युरोप–अमेरिका जस्ता देशका पर्यटक हुन्, जसले नेपालका परम्परागत र कलासंस्कृति बोकेका हस्तकलाका सामग्री औधि मन पराउँछन्।

Bhabishwar Thamel 1

‘यो समय त विदेशी पर्यटक खचाखच हुने बेला हो,’ नेपालखबरसँग कुरा गर्दै ढकालले भने, ‘यो सिजनमा त हामीलाई फुर्सदै हुँदैनथ्यो।’

यस्तो समय अझै कति लम्बिने हो, उनलाई थाहा छैन्। उनलाई यो चाहिँ थाह छ कि आफ्ना ग्राहकहरु रहेका युरोप, अमेरिका जस्ता विकसित देश पनि कोरोना भाइरसका कारण थला परेका छन्। उनले ती देशहरुमा आफ्ना सामानहरु निकै निर्यात गर्थे।

आफ्ना सामान खरिद गर्ने कतिपय ग्राहक समेत कोरोना भाइरसबाट ग्रस्त भएका छन्।

उनले इटालीको एक साथीले सुनाएको पछिल्लो खबर बताए, ‘तिम्रो सामान खरिद गर्ने २ व्यवसायीको कोरोनाका कारण मृत्यु भयो।’

एकातिर मान्छेले ज्यान गुमाइरहेका छन् भने अर्कोतिर व्यवसायको सञ्जाल टुटिरहेको छ। स्वदेशको मात्र होइन, विदेशको बजार समेत बिथोलिएको छ।

भाडा महंगो छ। लकडाउन खुकुलो भएर अन्य व्यवसाय सुचारु भए पनि ठमेल क्षेत्र चलायमान हुने छाँटकाट छैन्। त्यहाँको अधिकांश व्यवसाय विदेशी पर्यटकमा निर्भर छ।

Thamel market

व्यवसायीहरुले अबको एक डेढ वर्षसम्म विदेशी पर्यटक आउने सम्भावना देख्दैनन्। यस्तो अवस्थामा पर्यटकीय क्षेत्र ठमेललाई कसरी बचाउने भन्ने अहिलेको मुख्य समस्या छ।

व्यवसायीहरु पलायन हुन थालेका छन्। सटर खाली हुने क्रम सुरु भएको छ। कतिपय व्यवसायी हिड्ने सुरसार गर्दैछन्।

यही गम्भीर विषयलाई सम्बोधन गर्नका लागि त्यस क्षेत्रका व्यवसायी र घरधनीहरु अहिले छलफलमा जुटेका छन्।

‘यहाँका व्यवसायी र घरधनी दुवै विस्थापित हुन नपरोस् भनेर हामीले विभिन्न उपायको खोजी गर्र्दैछौं,’ ठमेल पर्यटन विकास परिषद् उपाध्यक्ष भविश्वर शर्माले नेपालखबरसँग भने, ‘एक दुई दिनको कुरा होइन, एक वर्षसम्म कसरी दुवै पक्ष टिक्ने भन्ने कुरा छ।’

महिनौंको लकडाउनका कारण व्यवसायी विस्थापित हुने क्रम सुरु भएको छ। कतिपय व्यवसायी सटरको तालचावी बुझाउने क्रममा छन्।

Thamel shop 1

‘अहिलेसम्म डेढ सयवटा सटरहरु खाली भइसके,’ उनले भने, ‘ती व्यवसायीले व्यवसाय गर्नै नसक्ने भन्दै घरधनीलाई तालाचावी बुझाएर हिडिसकेका छन्।’ त्यसरी छाडेर हिड्नेमा पसल, ट्रेकिङ अफिस, रेष्टुराँ र होटल संचालकहरु छन्। उनीहरुले आफ्ना सामान प्याक गरेर बाटो लागिसके।

समस्या समाधान नहुने हो भने यो क्रम अझ बढ्ने देखिन्छ। कास्मिरी व्यवसायीहरुले समेत भाडा तिर्न नसक्ने भन्दै सामुहिक रुपमा हिड्ने योजना बनाएको उनले सुनाए।

उनका अनुसार भारतबाट आएर ठमेल क्षेत्रमा व्यवसाय गर्ने डेढ सय कास्मिरी अब नेपालमा व्यवसाय गर्न नसकिने भन्दै छोडेर हिड्ने सोँचमा पुगेका हुन्।

‘हामीले उहाँसँग छलफल गर्दैछौं। सकेसम्म घरभाडा व्यवस्थापन गर्छौं, घरधनीले तपाईहरुको समस्या बुझेर घटाइदिनु हुन्छ, नजानुस भनेर सम्झाइबुझाई गरेका छौं,’ शर्माले भने, ‘त्यसरी समुहगत रुपमा हिड्न थाले भने यसले घरधनीलाई समेत अप्ठेरो पर्नेछ।’

यस्तै समस्या समाधान गर्ने भनेर शर्माकै संयोजकत्वमा भाडा समायोजन समिति गठन भएको छ। पर्यटन क्षेत्रमा परेका समस्या पहिचान गर्नको लागि यस क्षेत्रका सबै संस्थाहरुको एउटा साझा धारणा बनाउने गरी ठमेल विकास परिषदले शर्माको नेतृत्वमा समिति गठन गरेको छ। समितिले सबै क्षेत्रसँग छलफल तीव्र पारेको छ।

यहाँको समस्या समाधान गर्ने पहिलो उपाय घरभाडा समायोजन हो भन्ने शर्मालाई लागेको छ। एक वर्षसम्म व्यवसायी पलायन नहुने गरी अहिलेको भाडालाई आधा घटाउने पहल भएको छ।

पर्यटन व्यवसायीहरु सबैभन्दा ठूलो मर्कामा परेको एउटा कारण भाडा हो। महिना सकिदा भाडा तिर्नुपर्ने बाध्यता छ भने कतिपय व्यवसायीको सम्झौता सकिएको छ। उनीहरु विस्थापित हुनुपर्ने अथवा नयाँ सम्झौता गर्नुपर्ने अवस्था पनि छ।

Thamel handicraft

‘भाडालाई ५० प्रतिशत घटाउने हो भने केही हदसम्म समस्या समाधान हुन्छ,’ शर्माले भने, ‘त्यसमा अधिकांश घरधनी सकारात्मक हुनुहुन्छ।’

समितिले घरधनी, व्यवसायी र सरोकारवालासँग छलफल चलाएको छ।

अहिलेसम्मको समझदारीमा घरधनीले ५० प्रतिशत भाडा छुट दिन सहमति भएका छन्। एक वर्षसम्म उक्त सम्झौता गर्ने र त्यसपछि त्यतिबेलाको अवस्थाका आधारमा अर्को निर्णय गर्ने भन्ने सहमतितिर कुरा अगाडि बढेको शर्माले बताए।

घरधनी तथा व्यवसायीले आपसी समझदारीमा कसैलाई अप्ठेरो नपार्ने गरी र दुवै पक्षको हित हुनेगरी सहमति गर्ने उनको दावी छ।

यसबाट घरधनीलाई पनि सहज हुने उनको तर्क छ। समुह समुहमा व्यवसायी हिड्न थाले भने त्यस क्षेत्रमा नयाँ व्यवसायी अबको दुई वर्षसम्म आउने सम्भावना उनी देख्दैनन्। कति घरधनी भाडा मै निर्भर भएकाले घर खाली हुनु उनीहरुलाई पनि घाटा छ।

‘५० प्रतिशत भाडा मिनाहा गर्ने र ५० प्रतिशत मासिक रुपमा दिनेगरी अगाडि बढाइएको छ,’ शर्माले भने, ‘यसमा सत प्रतिशत घर धनी सहमति नभए पनि कम्तिमा ७० प्रतिशत सकारात्मक हुनुहुन्छ।’

ठमेल क्षेत्रभित्र पर्ने कान्तिपथदेखि सोह्रखुट्टेभित्र, पकनाजोल, क्षेत्रपाटी, थहिटी र ज्याठालगायत सातोवटा बिन्दूबाट प्रवेश गरिने क्षेत्रलाई ठमेल पर्यटन विकास परिषदले हेरिरहेको छ।

यसपाली यो समस्यालाई छेउछाउका क्षेत्रहरु जस्तै पकनाजोल, धोवीचौर, कालधारा लगायतका ठाउँलाई समेत समेटेर छलफल अगाडि बढाइएको उनले बताए।

यस क्षेत्रमा १० हजार व्यवसायी छन् भने २ हजार घरधनी छन्। शर्माका अनुसार त्यहाँ व्यवसाय गर्नेले १५ हजारदेखि २५ लाखसम्म भाडा तिर्छन्।

‘सामान्य गल्लीको चिया पसलको १५ हजारदेखि २५ लाखसम्म मासिक भाडा तिर्ने होटल व्यवसायी यस क्षेत्रमा व्यवसाय गरिरहेका छन्,’ शर्माले भने, ‘एक घरधनीले औसतमा मासिक ८० हजार घरभाडा बुझ्छन्।’

खर्बौंको लगानी रहेको ठमेल क्षेत्रमा एक दिनमा ५० करोडभन्दा माथिको कारोबार हुन्छ। यहाँ सबैभन्दा धेरै पसल नै छन्। त्यसपछि ट्राभल, ट्रेकिङ, रेष्टुरेन्ट, नाइटक्लब छन्। त्यस्तै सामान्यदेखि पाँचतारेसम्मका होटलहरु छन्।

Thamel shop

यस क्षेत्रमा स्वदेशी मात्र होइन युरोपेली मुलुक, चिनियाँ, भारतीय व्यवसायीहरु पनि छन्।

समितिले घरभाडासँगै विद्युत महसुल, इन्टरनेट, बैंकको व्याज लगायतका समस्यालाई कसरी समाधान गर्ने भनेर छलफल गरिहेको छ। यी समस्या समाधान गर्न भनी सरोकारवाला व्यवसायी, पर्यटनसँग सम्बन्धित संघसंस्था र पर्यटन मन्त्रालयबीच बैठकहरु भइरहेका छन्।

यही विषयमा आइतबार पनि छलफल जारी रह्यो। एक हप्ताभित्र सबै विषयबारे निष्कर्षमा पुग्ने शर्माले बताए।

सम्पुर्ण पर्यटन व्यवसायीको साझा धारणा बनाउने र त्यसलाई ठमेल जस्तै पोखरालगायतका पर्यटकीय क्षेत्रमा समेत लागु गर्न सकिने उनको भनाइ छ।

पछिल्लो दुई चार दिनदेखि यस क्षेत्रका पसलहरु खोलिएका छन्। पसल खोल्नेले पनि व्यवसाय गर्न नभई सरसफाइ र घर बस्दा वाक्क लागेर पसल खोल्न आएको बताउँछन्।

भएका सामानमा थप क्षति नहोस् भनेर नै पसल खोलेको उनीहरुले बताए। पस्मिनाहरुमा कीरा लागेको छ। कतिपय सामान मुसाले काटेको छ। सडकसँग जोडिएका पसलमा पानी छिरेको छ।

महंगा सामान थप क्षति नहोस् भनेर दिनको एक दुई घण्टा पसल खोलेको उनीहरुको भनाइ छ।

दिनको एक दुई घण्टा पसल खोल्दा हावा खेल्छ, सफा हुन्छ भनेर खोलेको ठमेलमा फेन्सी पसल गर्दै आएकी शोभा महर्जनले बताइन।

‘धुलो छ, त्यसलाई सफा गर्न एकछिन पसल खोलेको हो,’ महर्जनले भनिन्, ‘ग्राहक नै नभएपछि व्यवसाय त के हुनु।’

Thamel handicraft masks

अन्य क्षेत्रहरु चलायमान भइरहेको बेला ठमेल क्षेत्रमा कसरी पर्यटक तान्ने भन्ने विषयमा पनि व्यवसायीले केही प्याकेज घोषणा गर्ने शर्माले बताए।

अहिलेको लागि होटल, टुर, ट्रेकिङ, रेष्टुराँ सबैले ४० प्रतिशत छुटमा प्याकेज घोषणा गर्ने बारेमा परिषद् र व्यवसायीबीच छलफल भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .