कारोबार


४५ प्रतिशतभन्दा बढी विषादी भेटिए तरकारी फलफूल खानु हुँदैन

४५ प्रतिशतभन्दा बढी विषादी भेटिए तरकारी फलफूल खानु हुँदैन

दीपक भट्ट
असार २९, २०७६ आइतबार ६:४७,

बिहान झिसमिसे नहुँदै कालिमाटी फलफूल तथा तरकारी बजार ब्यस्त भइसक्छ। धादिङ, चितवन, चित्लाङ, काभ्रे एवं भारतबाट आएको तरकारी यहाँ आउँछ। खुद्रा पसलेहरुले किनेर राजधानीका विभिन्न ठाउँमा पुर्याउँछन्। 

अर्थात् कालिमाटी तरकारी बजार राजधानीबासीलाइ तरकारी तथा फलफूल आपूर्ति गर्ने मुख्य थलो हो।

कालिमाटी तरकारी बजारभित्र विषादी परीक्षण गर्ने एउटा आधुनिक ल्याब छ। यहाँ दैनिक तरकारीको विषादी परीक्षण हुनेगर्छ। बिहान करिब ६ बजे परीक्षण गरिने तरकारी र फलफूलको नमुना यहाँ आइपुग्छन्। तरकारी तथा फलफूलमा विषादी भएको शंका लागेमा परीक्षण गर्ने यो देशको आधुनिक प्रयोगशाला हो।

विश्व बजारमा पाइने विषादी मध्ये २२ प्रकारका विषादी नेपालमा प्रतिबन्धित छन्। प्रतिबन्धमा नरहेका विषादिको मात्रा यही प्रयोगशालामा जाँच हुन्छ।

‘प्रतिबन्ध नलागाइएका विषादी पनि मानव स्वास्थ्यको लागि हानिकारक नै हुन्छन्। तरकारीमा त्यस्ता विषादीको मात्रा कति छ भनेर ल्याबमा हेर्ने गरिन्छ’, कालिमाटीस्थित प्रयोगशालाका ल्याब टेक्नीसियन राजिव राजभण्डी भन्छन्।

उनका अनुसार विषादीको मात्रा तरकारीमा ४५ प्रतिशत भन्दामाथि देखिए त्यो खानु हुँदैन। ३५ देखि ४५ प्रतिशत रहेको तरकारी केही दिन राखेर मात्रै प्रयोग गर्न सकिन्छ। प्रयोगशालाले ४५ प्रतिशतभन्दा माथि विषादी रहेको वा त्योभन्दा कम रहेको भनेर परीक्षण गर्छ र रिपोर्ट दिन्छ।

kalimati bazarकालिमाटीस्थित तरकारी बजार। तस्विर: प्रविन कोइराला 

यसरी हुन्छ ल्याब परीक्षण

राजभण्डारीका अनुसार तरकारी तथा फलफूलको नमुना लिई त्यसलाई टुक्रा–टुक्रा बनाएर काटिन्छ। त्यसलाई दुई भागमा बाँडिन्छ। एउटा समूहलाई काब्रामेइट र अर्कोलाई अर्गानोफोस्फेट भनेर विभाजन गरिन्छ। काब्रामेइटलाई एक एमएल र अर्गानोफोस्फेटमा दुई एमएल इथाइनोल राखेर मिक्सचरमा २० सेकेण्डजति घुलाइन्छ। त्यसपछि अर्गानोफोस्फेटमा तातोपानी प्रयोग गरेर २० मिनेट जति भित्रको हावालाई बाहिर आउन नदिइ राखिन्छ। यसरी घुलाएपछि विषादीको मात्रा कति छ मापन हुन्छ।

प्रयोगशालाबाट आएको विषदीको मात्रात्मक रिर्पोट सबैभन्दा पहिले फलफूल तथा तरकारी विकासबोर्ड हुँदै कृषि विभागलाई दिइन्छ। अत्यन्तै विषादीयुक्त तकारी भएको खण्डमा मात्रै त्यस्ता तरकारीमाथि नियमन हुने गर्छ। बाँकी अवस्थामा यो जाँचलाई लिएर खासै कडी कडाउ गरिँदैन। अधिक विषादीयुक्त तरकारीलाई भने विभाग तथा मन्त्रालयबाट आदेश लिएर आयातमा रोक लगाउने गरेका छन्।

कस्तो छ विषादी परीक्षणको अवस्था
नेपालमा २०७१ भन्दा पहिले विषादी जाँच हुँदैनथ्यो। त्यसपछि देशका विभिन्न ठाउँमा ५ वटा ल्याब स्थापना गरिएका छन्। कालिमाटीमा हरेको ल्यावले मात्रात्मक अवस्था बताउँछ। केन्द्रिय कृषि ल्याबले कुन प्रकारको विषदी कति प्रयोग भएको छ त्यसले पूर्ण रिपोर्ट दिन्छ। अन्य प्रयोगशाला केवल विषादी भए नभएको मात्र थाह दिनसक्छन्।

कृषि मन्त्री चक्रपाणि खानाल मानव स्वास्थ्यलाई प्रतिकूल असर पर्ने विषादी जाँच गरेर रोक्न सरकार प्रतिबद्ध रहेको बताउँछन्। ‘नेपालमा एक सय ७० जातका झण्डै तीन हजार विषादीको सूचिकृत भएका छन्। ती विषदी कति मात्रामा तरकारीमा रहेका छन् त्यसको निगरानी राख्ने कुरामा सरकार प्रतिवद्ध छ’, उनी भन्छन्।

कृषि उत्पादन आधुनिकीकरण हुँदै जाँदा पछिल्लो समय विश्वभरि नै विषादीको प्रयोग बढ्दो छ। नेपाल र भारतमा पनि विषादी प्रयोग भइरहेको छ। ‘विषादी कति मात्रामा कसरी प्रयोग गर्ने भन्ने मात्र सवाल हो। सरकार मानव स्वास्थ्यलाई प्रत्यक्ष असर पर्ने विषादी प्रयोग गर्न नदिनेतर्फ दृढ छ’, मन्त्री खनाल भन्छन्।

सरकारले २०७६ असार २ गतेदेखि भारत तथा तेस्रो देशबाट आयात हुने तरकारी एवं फलफूलको अनिवार्य विषादी परीक्षण गर्ने नियम बनाएको छ। यसअघि बिना रोकटोक तरकारी तथा फलफूल नेपाल भित्रिँदै आएका थिए। सरकारको नयाँ नीतिपछि केन्द्रीय कृषि ल्याबमा तरकारी र फलफूलको विषादी परीक्षण सुरु गरिएको थयो। भारतीय दूतावासले पत्र पठाएपछि विषादीको चेकजाँच रोकिएको छ।

कृषिमन्त्री खनालले शुक्रबार कालिमाटी प्रयोगशाला अवलोकन गर्दै सबै तरकारीको विषादी परीक्षण जरुरी नभएको बताए। ‘कुनै पनि देशमा हरेक तरकारी परीक्षण गर्नैपर्ने बाध्यकारी नियम छैन। भारतमा पनि त्यस्तो नियम छैन, चीनमा पनि त्यस्तै नियम छैन। नेपालको तरकारी कतार जान्छ त्यहाँ विषादी चेकजाँच हुँदैन’, उनले भने, ‘शंका लागेमा त्यसको परीक्षण गर्ने र मापदण्डभन्दा बढी विषादी मात्रा देखिए त्यस्लाई रोक लगाउने नै हो।’

भिडियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad