प्रभावकारी विकास सहकार्यका लागि विश्व साझेदारीको उच्चस्तरीय बैठक (जीपीईडीसी) अघि नेपाल र बंगलादेशले क्षेत्रीय सहजीकरणसम्बन्धी कार्यक्रम आयोजना गरेका छन्।
अमेरिकी सहर न्युयोर्कमा उक्त उच्चस्तरीय बैठक शनिबार र आइतबार भएको छ। प्रभावकारी विकासका लागि जीपीईडीसीले विश्व प्रतिबद्धतालाई जोड दिनुअघि नेपालको नेतृत्व र बंगलादेशको सहनेतृत्वमा उक्त कार्यक्रम गरेको हो। नेपालको तर्फबाट अर्थ मन्त्रालयले सहभागिता जनाएको छ। नेपाल जीपीईडीसीको सदस्य पनि हो।
उच्चस्तरीय बैठकअघि साइड इभेन्टका रुपमा यस्तो कार्यक्रम गरिएको नेपाली प्रतिनिधिले जनाएका छन्। उक्त बैठकमा ४० सहभागी थिए भने एसिया प्रशान्त क्षेत्रका १० देशका प्रतिनिधिले सहभागिता जनाएका थिए। बैठकमा सभ्य समाज, निजी क्षेत्र, संसद, बहुपक्षीय संघसंस्थाबाट सहभागिता भएको बताइएको छ। कार्यक्रमलाई यूएनडीपी र डीएफआईडीले सहयोग र समर्थन गरेका थिए।
बैठकमा नेपाल, बंगलादेश, कम्बोडिया, इन्डोनेसिया, म्यान्मार, फिलिपिन्स, जापान र यूएनडीपीका आठ जना सरकारी प्रतिनिधिले छलफल गरेका थिए। राष्ट्रसंघले अघि सारेको सन् २०३० सम्म दिगो विकास लक्ष्य प्राप्त गर्न वित्तीय अन्तर रहेको सो क्रममा जानकारी गराइएको थियो। नेपालले उक्त लक्ष्य पूरा गर्न जीडीपीको ४८ प्रतिशत लगानी प्रतिवर्ष आवश्यक पर्नेबारे पनि अवगत गराइएको थियो।
कार्यक्रममा अर्थसचिव राजन खनालले प्रभावकारी विकासका लागि उच्चस्तरीय बैठकले गरेको सहकार्यप्रति जीपीईडीसीलाई आभार व्यक्त गरेका थिए।
कार्यक्रममा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहयोग विभागका सहसचिव श्रीकृष्ण नेपाल पनि सहभागी थिए।

प्रतिक्रिया