कारोबार


काठमाडौं उपत्यकामा विकास हुँदै चार नयाँ शहर, तीनको डीपीआर मन्त्रिपरिषदमा

काठमाडौं उपत्यकामा विकास हुँदै चार नयाँ शहर, तीनको डीपीआर मन्त्रिपरिषदमा

नेपालखबर
जेठ २५, २०७७ आइतबार १४:१०,

काठमाडौं विकास प्राधिकरणले काठमाडौं उपत्यका भित्र निर्माण हुने चार नयाँ शहर मध्ये तीनवटा सहरको डीपीआर स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाउने निर्णय गरेको छ।

काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन अन्तर्गत गठन गरिएको काठमाडौं उपत्यका भौतिक विकास समितिले चारवटा नयाँ सहर निर्माणको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरेको भएपनि तीन वटा सहरको प्रतिवेदन मन्त्रिपरिषद्मा स्वीकृतिका लागि पठाउने निर्णय गरेको छ।

सहरी विकास मन्त्रालयको जिम्मा सम्हालिरहेका भौतिक पूर्वाधार तया यातायात मन्त्री वसन्तकुमार नेम्बाङको अध्यक्षतामा आइतबार बसेको प्राधिकरणको १४ औं बैठकले काठमाडौं इसान, काठमाडौं हरित र काठमाडौं उत्तर तर्फको डीपीआर स्वीकृतका लागि मन्त्रिपरिषद्मा पठाउने निर्णय गरेको प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले बताए।

उनले प्राधिकरणको बैठकमा ललितपुर महानगरपालिकाका मेयर अनुपस्थिति भएपछि काठमाडौं नैऋत्य (दक्षिण पश्चिम)को प्रतिवेदन मन्त्रिपरिषद्को स्वीकृतिका लागि पठाउन रोकिएको बताए।

यस्तै, बैठकले काठमाडौं उपत्यका प्राधिकरण ऐन २०४५ र काठमाडौं उपत्यका प्राधिकरण नियमावली २०६८लाई समय सापेक्ष सुधार गर्नका लागि प्रतिवेदन पेस गर्न समिति गठन गरेको छ।

प्राधिकरणले सहरी विकास मन्त्रालयका सचिवको संयोजकत्वमा चागुनारायण नगरपालिकाका मेयर, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख, उपत्यका विकास प्राधिकरणको सदस्य सचिव र सहरी विकास मन्त्रालयको कानून अधिकृत सदस्य सचिव रहने गरी ५ जनाको समिति गठन गरेको हो।

बैठकमा उपत्यका भित्रका चागुनारायण नगरपालिका, सुर्यविनायक नगरपालिका र तारकेश्वर नगरपालिकाका मेयरहरु, तीनवटै जिल्ला समन्वय समितिका सभापतिहरु र विभिन्न मन्त्रालयका सचिवहरुको समेत सहभागिता रहेको थियो।

एक लाख रोपनी क्षेत्रफल रहेको काठमाडौं ईसान (पूर्व–उत्तर)को डीपीआर निर्माण फिनल्याण्डको हेलेन एण्ड कम्पनी कम्पनी र जेके एसोसिएट्सले गरेको हो। अन्य तीनवटा आयोजनाको डीपीआर निर्माण भने नेपाली कम्पनीले नै गरेका हुन्। चार वटा परियोजनामा काठमाडौं ईसान (पूर्व–उत्तर), काठमाडौं आग्नेय (पूर्व–दक्षिण), काठमाडौं नैऋत्य (दक्षिण–पश्चिम) र काठमाडौं हरित सहर (उत्तर) रहेका छन्। जसमध्ये काठमाडौं ईसानको क्षेत्रफल १ लाख रोपनी छ भने अन्यको १० हजार रोपनी रहेको छ।

परियोजनामा काठमाडौं ईसान (पूर्व–उत्तर) नयाँ सहर विस्तार क्षेत्र जसको कुल क्षेत्रफल १ लाख रोपनी क्षेत्रफल रहेको छ। यो परियोनामा पूर्वतर्फ भक्तपुरको नगरकोट जाने सडक, तेलकोट भन्ज्याङसम्म, पश्चिम क्षेत्र जोरपाटी क्रिकेट स्टेयिगम, मुलपानी, गोठाटार हुँदै मनोहर पुल भक्तपुर जाने पुरानो बाटो सम्म, उत्तर तर्फ साँखु बजार र साँखु जाने मुल सडक र दक्षिण तर्फ भक्तपुर पुरानो बाटोमा पर्ने नेपाल सैनिक प्रतिष्ठान, खरिपाटी लगायतको ठाउँसम्म रहेको छ।

काठमाडौं आग्नेयको कुल क्षेत्रफल १० हजार रोपनी रहेको छ। यो आयोजनामा पूर्वतर्फ अरनिको राजमार्गको सुर्यविनायक चोकदेखि सुर्यविनायक बनलाई बाहिर पार्दै जाने छ। पश्चिम तर्फ खहरेखोला, बालकोट विरुवा सडक, पानी ट्याङ्की, अमरनगर लगायतका ठाउँ रहेको छ। उत्तर तर्फ अरनिको राजमार्गको सिमाना रहेको छ भने दक्षिणमा भक्तपुरको रानीकोट जंगलको छेउसम्म रहेको छ।

काठमाडौं नैऋत्यको कुल क्षेत्रफल पनि १० हजार रोपनी रहेको छ। यसको पूर्वमा छ्यासीकोट देखि फर्सिडोल, बागमती नदीको झोलुङ्गे पुल सम्म, पश्चिममा बागमती नदी, उत्तरमा साविकको सैंवु गाविसको सिमाना, दक्षिणमा बागमनी नदी सम्मको जमिन रहेको छ।

काठमाडौं उत्तरको कुल क्षेत्रलफल पनि १० हजार रोपनी रहेको छ। यो योजनाको पूर्वमा सामाखुसी, टोखा रोड हुँदै बाइपाससम्म, पश्चिममा काभ्रेस्थली बाइपास जाने मुल सडक, उत्तरमा सपनातिर्थ मालुङ हुँदै काभ्रेस्थली र दक्षिणमा ग्रीनल्याड जोकदेखि मनोरथ हुादै महादेव खोला सम्मको क्षेत्र समावेस गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad