आठवटा शर्त पूरा गर्नेले स्वचालित रुपमा पुनः श्रम स्वीकृति लिन पाउने भएका छन्।
वैदेशिक रोजगार विभागले स्वचालित पुनः श्रम स्वीकृतिका लागि ८ शर्त अघि सारेको हो।
यसअनुसार श्रम स्वीकृति आवेदखन गर्दा यसअघि श्रम स्वीकृति प्राप्त गरेकै देश तथा कम्पनीको लागि पुनः श्रम स्वीकृति आवेदन गरेको हुनुपर्नेछ। त्यसैगरी कम्तीमा तीन महिना अवधि भएको राहदानी हुनुपर्नेछ भने भिसा वैध हुनुपर्ने विभागले जनाएको छ।
कम्पनीसँग करार सम्झौता गरेको हुनुपर्ने, सामाजिक सुरक्षा कोषमा रकम जम्मा गरेको हुनुपर्ने, वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जममा गरेको हुनुपर्ने, आवधिक जीवन बीमा गरेको हुनुपर्ने, वैध भिसा तथा करार सम्झौतालगायतको विषयमा वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा रहेको स्वघोषणा गर्नुपर्नेछ।
०८२ चैत १३ को मन्त्रिपरिषद्बाट स्वीकृत भएको शासकीय सुधारसम्बन्धी सय बुँदै कार्यसूचीको २ नम्बर बुँदामा युवा श्रम तथा रोजगार मन्त्रालयको १० वटा कार्ययोजना राखिएको छ। जसमा वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउनेबारे पुनः श्रम स्वीकृतिलाई पूर्ण स्वचालित बनाउने योजना राखिएको छ।
यसअनुसार यसअघि श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका व्यक्तिहरुले सोही देश तथा कम्पनीको लागि पुनः श्रम स्वीकृति आवेदन गरेमा उक्त शर्त पूरा भएको अवस्थामा स्वचालित प्रणालीमार्फत पुनः श्रम स्वीकृति प्रदान गरिने गरी श्रममन्त्रीस्तरीय निर्णय गत जेठ ३ मा भएको थियो। उक्त प्रणालीमा गलत सूचना भरेमा त्यसको जिम्मेवार भने आफैँ हुनुपर्ने उल्लेख गरिएको छ।
Shares

प्रतिक्रिया