काठमाडौंलगायत देशैभर शुक्रबार अपराह्नदेखि भएको मौसम बदलीको असर विमान उडान तथा अवतरणमा परेको छ।
हुरी, बताससँगै पानी परेसँगै ४ बजे नै अँध्यारो भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण रोकिएको हो।
योसँगै चिनियाँ कम्पनी चाइना इस्टर्नको काठमाडौं आएको जहाज भारतको कलकत्ता डाइभर्ट भएको छ भने नयाँ दिल्लीबाट काठमाडौं उडेको इन्डिगो एयरको जहाज पनि लखनउ डाइभर्ट भएको छ।
त्रिभुवन विमानस्थलका अनुसार ३ः५० मा क्वाललम्पुरबाट आएको बाटिक एयर अवतरण भए पनि त्यसपछिका जहाज डाइभर्ट हुनुपरेको हो।
आन्तरिक उडान पनि मौसमले प्रभावित भएको देखिएको छ। विमानस्थल डिजिटल सूचना बोर्डअनुसार ३ः६ बजे पोखराबाट काठमाडौं आएको बुद्ध एयरको जहाज अवतरण भए पनि त्यसपछि उडान र अवतरण हुनसकेको छैन।
विमानस्थलका अनुसार आन्तरिकतर्फ काठमाडौंबाट भैरहवा, धनगढी, भरतपुरका उडानहरु रद्द भएका छन्।
अहिले काठमाडौंको भिजिबिलिटी ३००० मिटर मात्रै छ। सोही कारण इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आईएफआर) सञ्चालनमा रहेको विमानस्थलले जनाएको छ। आईएफआर भनेको विमानस्थलबाहिरभन्दा लो भिजिबिलिटीका बेला ककपिटभित्रकै सूचकहरु हेरेर गरिने उडान र अवतरण हो।
Shares

प्रतिक्रिया