कारोबार


काठमाडौँका लागि धेरै उडान गर्ने एयर इन्डिया र इन्डिगोका विमानहरूमा भेटियो गम्भीर त्रुटि

काठमाडौँका लागि धेरै उडान गर्ने एयर इन्डिया र इन्डिगोका विमानहरूमा भेटियो गम्भीर त्रुटि

इन्डिगोको जहाज


नेपालखबर
माघ २३, २०८२ शुक्रबार १२:३३, काठमाडौँ

नेपाली आकाशमा सबैभन्दा बढी उडान भर्ने भारतीय वायुसेवा कम्पनीका विमानहरूमा गम्भीर प्राविधिक समस्या देखिएको छ। भारतको नागरिक उड्डयन राज्यमन्त्री मुरलीधर मोहोलले बिहीबार लोकसभामा प्रस्तुत गरेको तथ्याङ्कअनुसार भारतीय एयरलाइन्सका करिब ५० प्रतिशत विमानमा बारम्बार दोहोरिने प्राविधिक त्रुटि (रिकरिङ डिफेक्ट) फेला परेका हुन्।

विशेषगरी नेपालमा दैनिक धेरै उडान गर्ने वायु सेवा कम्पनीहरू- एयर इन्डिया र इन्डिगोका विमानहरूमा यस्तो समस्या बढी देखिएको छ।

फाइनान्सियल एक्सप्रेसका अनुसार भारत सरकारले गत वर्ष जनवरीदेखि यस वर्षको फेब्रुअरी ३ सम्म ६ वटा वायुसेवा कम्पनीका ७५४ विमानहरूको प्राविधिक परीक्षण गरेको थियो। 'जाँच गरिएकामध्ये ३७७ विमानमा एक पटकभन्दा बढी प्राविधिक खराबी देखिएको छ,' मन्त्री मोहोलले सदनमा भने। यो भनेको कुल विमानको ठीक ५० प्रतिशत हिस्सा हो।

सबैभन्दा खराब अवस्था एयर इन्डियाको देखिएको छ। यसका १६६ विमानको विश्लेषण गर्दा १३७ वटामा बारम्बार समस्या भेटिएको छ। त्यस्तै, भारतको सबैभन्दा ठूलो वायुसेवा कम्पनी इन्डिगोका ४०५ विमानमध्ये १४८ वटामा 'रिपिटेटिभ डिफेक्ट' फेला परेको छ। भारतीय उड्डयन बजारको ८५ प्रतिशत हिस्सा ओगट्ने यी दुई कम्पनी नै सुरक्षा जोखिमको सूचीमा अगाडि देखिनु चिन्ताको विषय हो।

नेपाल उडानमा संशय यी दुई एयरलाइन्सले काठमाडौंबाट दिल्ली, मुम्बई र कोलकाताका लागि दैनिक करिब १० वटा उडान भर्दै आएका छन्। एयर इन्डियाले दिल्लीबाट दैनिक ३(४, मुम्बईबाट १ र कोलकाताबाट १ उडान गर्छ। उता, इन्डिगोले पनि दिल्लीबाट ३ देखि ४ र मुम्बईबाट १ सीधा उडान भर्दै आएको छ।

इन्डिगोले दक्षिण भारतीय सहरहरू बेंगलुरु, चेन्नई र हैदराबादबाट दिल्ली वा मुम्बई ट्रान्जिट बनाएर काठमाडौं ल्याउने यात्रुको संख्या पनि ठूलो छ। कोलकाताबाट भने उसले मागअनुसार सिजनल उडान मात्र गर्ने गरेको छ। नेपालका लागि मुख्य 'कनेक्टिभिटी' दिने विमानमै बारम्बार प्राविधिक समस्या देखिनुले यात्रुको सुरक्षा जोखिम बढाउँछ।

गत वर्ष ३ हजार ८ सय ९० निगरानी निरीक्षण र ५ सय ५० रात्रिकालीन निरीक्षण गरिएको थियो। प्राविधिक जनशक्तिको अभाव टार्न कर्मचारीको दरबन्दी ६ सय ३७ बाट बढाएर १ हजार ६३ पुर्‍याइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad