ad ad

कारोबार


राष्ट्र बैंकको पूर्वबजेट छलफलः ‘वेबिनार’मा जोडिए विज्ञ र निजी क्षेत्रका प्रतिनिधि

राष्ट्र बैंकको पूर्वबजेट छलफलः ‘वेबिनार’मा जोडिए विज्ञ र निजी क्षेत्रका प्रतिनिधि

नेपालखबर
बैशाख २६, २०७७ शुक्रबार ९:५८,

नेपाल राष्ट्र बैंकले पूर्वबजेटकालीन अन्तर्क्रिया कार्यक्रम गरेको छ।

गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/०७८ को बजेट तथा कार्यक्रम तर्जुमाको निम्ति सुझाव संकलन गर्ने उद्देश्यले पूर्वबजेटकालीन भर्चुअल अन्तर्क्रिया कार्यक्रम गरेको हो।

विगत वर्षहरूमा नेपाल राष्ट्र बैंकले प्रत्यक्ष रूपमा यस्तो कार्यक्रम गर्दै आए पनि हाल कोरोना संक्रमण महामारीका कारण वेबिनारमार्फत गरेको हो। वेबिनार भनेको इन्टरनेटमार्फत गरिने छलफल हो।

मुलुक बन्दाबन्दी अवस्थामा रहेको र सामाजिक दूरी कायम गर्नुपर्ने अवस्थासमेत रहेकोले बैंकले चालू वर्ष वेबिनारमार्फत उक्त कार्यक्रम आयोजना गरेको जनाएको छ।

सो अवसरमा बैंक तथा वित्तीय संस्था, पुँजी बजार, उद्योग, वाणिज्य, कृषि, पर्यटन, निर्यात व्यवसायी, सहकारी, घरेलु तथा साना उद्योगलगायत आर्थिक क्षेत्रसँग सम्बद्ध संस्थाका प्रतिनिधिहरू एवम् अर्थविज्ञहरुले सुझाव दिएका थिए।

बैंकका प्रवक्ता एवम् अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले अन्तर्क्रियाको उद्देश्यबारे बताउँदै वेबिनार कार्यक्रमको सहजीकरण गरेका थिए।

उक्त वेबिनार कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष, त्रिभुवन विश्वविद्यालय, अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, होटल एसोसिएसन अफ नेपाल, नेपाल चेम्बर अफ कमर्स, नेपाल पोल्ट्री व्यवसायी महासंघ, नेपाल निर्यात परिषद्, नेपाल बैंकर्स एसोसिएसन, डेभलपमेन्ट बैंकर्स एसोसिएसन अफ नेपाल, नेपाल वित्तीय संस्था संघ, नेपाल लघुवित्त बैंकर्स संघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल इन्भेष्टमेन्ट फोरम, नेपाल सुनचाँदी व्यवसायी संघलगायतका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

उनीहरूले आ–आफ्नो क्षेत्रसँग सम्बन्धित विषयमा धारणा राख्दै कोभिड–१९ को विषम परिस्थितिका कारण आफ्नो क्षेत्रमा परेको असर न्यूनीकरणका लागि आगामी आर्थिक वर्ष २०७७/७८ बजेटले समेट्नुपर्ने आवश्यक नीतिगत सुझावहरू प्रस्तुत गरेको राष्ट्र बैंकले जानकारी दिएको छ।

गभर्नर अधिकारीले कोभिड–१९ ले अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरणको निम्ति नेपाल राष्ट्र बैंक केन्द्रित रहेको उल्लेख गर्दै सहभागीहरूबाट प्राप्त सुझावहरूसमेतको आधारमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६९ को उपदफा (४) बमोजिम नेपाल सरकारसमक्ष पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन पेश गरिने जानकारी दिए।

कार्यक्रममा बैंकका डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठका साथै बैंकका विभिन्न विभागका विभागीय प्रमुखहरूको समेत उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .