निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनी एनसेलले एक बल्क एसएमएस सेवा प्रदायकमार्फत ठूलो संख्यामा एक राजनीतिक सन्देश एसएमएसमार्फत प्रसारण भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
उक्त अनधिकृत एसएमएस एनसेलका ग्राहकलाई प्रसारण भएको नपाईएको पनि एनसेलले स्पष्ट पारेको छ।
‘घटनाको समीक्षा तथा सम्भावित जोखिमको मूल्याङ्कनपछि, उक्त एसएमएस प्रसारण गर्ने कम्पनीसँग साझेदारी गरेको भ्यालु एडेड सर्भिस कम्पनी आकाश टेकलाई सचेत गराइएको छ’ बुधबार एक विज्ञप्ति प्रकाशित गरी एनसेलले भनेको छ, ‘एनसेलले दूरसञ्चार सेवाको अनधिकृत वा राजनीतिक उद्देश्यका लागि हुने दुरुपयोगप्रति शून्य सहनशीलताको नीति अपनाउँदै आएको छ।’
एनसेलले प्रचलित कानून, नियम, नैतिक मापदण्ड तथा ग्राहकको डाटा गोपनीयता उल्लङ्घन गर्ने कुनै पनि सामग्रीका लागि आफ्ना सेवाको प्रयोग कडाइका साथ निषेध गर्दै आएको पनि स्पष्ट पारेको छ।
सूचना सुरक्षा र डाटा गोपनीयताका लागि आईएसओ २७००१ र आईएसओ २७७०१ मान्यता प्राप्त गर्ने नेपालकै पहिलो दूरसञ्चार कम्पनीका रूपमा, एनसेल ग्राहकको डाटा सुरक्षा र वैयक्तिक गोपनीयतामा उच्चतम मापदण्ड कायम गर्दै आएको जनाएको छ।
एनसेलमा ग्राहकको व्यक्तिगत डाटा सुरक्षित राख्न प्राविधिक, सञ्चालनगत तथा सम्झौतागत सुरक्षात्मक व्यवस्था लागू गरिएको जानकारी दिँदै ‘ग्राहकको डाटा कुनै पनि अनधिकृत उद्देश्यका लागि साझा गरिँदैन वा दुरुपयोग हुन दिइँदैन’ भनेको छ
‘एनसेल एक जिम्मेवार सेवा प्रदायकका रूपमा सधैं प्रचलित कानूनको पालना गर्दै आफ्ना ग्राहक तथा सरोकारवालाको विश्वास कायम राख्दै निरन्तर सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ’ विज्ञप्तिमा भनिएको छ।
Shares

प्रतिक्रिया