कारोबार


लगानी गर्न र लाभांश लैजान सजिलो व्यवस्थापछि गभर्नरले भने– ढुक्क भएर विश्वबजारमा पखेटा फैलाउनुस्

लगानी गर्न र लाभांश लैजान सजिलो व्यवस्थापछि गभर्नरले भने– ढुक्क भएर विश्वबजारमा पखेटा फैलाउनुस्

फाइल तस्बिर


नेपालखबर
पुस १५, २०८२ मंगलबार १२:३०, काठमाडौँ

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले नेपाल भित्रिने र बाहिरिने दुवै लगानीलाई सजिलो बनाइदिएलगत्तै ढुक्क भएर विश्वबजारमा पखेटा फैलाउन आग्रह गरेका छन्। त्यसमा राष्ट्र बैंकले साथ दिने उनले बताएका हुन्।

राष्ट्र बैंकले दुवै प्रकृतिका लगानीमा सहज व्यवस्था गरेको भोलिपल्ट सामाजिक सञ्जालमा उक्त आग्रह गरेका हुन्। 

विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ संशोधन गरेर सोमबार राष्ट्र बैंकले विदेशी लगानीकर्तालाई लाभांश लैजानका लागि सजिलो व्यवस्था गरिदिएको छ भने आईटी कम्पनीहरूलाई विदेशमा लगानी लैजान नि:शर्त सुविधा दिएको छ। 

संशोधित विनयमावलीमार्फत विदेशी लगानी तथा सोबाट आर्जित रकम फिर्ता लैजान राष्ट्र बैंकको स्वीकृति लिनुपर्नेलगायतका प्रक्रियागत झन्झट हटेर बैंकबाटै सिधै लैजान पाउने व्यवस्था गरिएको छ।

‘वैदेशिक लगानीकर्ताहरुले पेपरवर्क धेरै भयो भनेर गुनासो गरेको सन्दर्भमा नाफा लैजान राष्ट्र बैंकको स्वीकृति लिनु नपर्ने गरिएको छ’, उनले भने।

यस्तै आईटी कम्पनीहरुलाई चालू आर्थिक वर्षबाट १० लाख अमेरिकी डलरबराबरको लगानी विदेश लैजाउन पाउने बाटो खुला गरिएको छ। 

उनले अब साना पुँजी भएका त्यस्ता कम्पनीले पनि २५ हजार डलरसम्म विना शर्त विदेशमा लगानी गर्न पाउने नयाँ व्यवस्था गरेका छन्।

नेपाली व्यवसाय विस्तारउन्मुख हुनुपर्ने बताउँदै गभर्नर पौडेलले संशोधित व्यवस्थाको नतिजा हेरेर थप सीमाहरू संशोधन गर्दै जाने बताएका छन्। उनले २०२१ सालबाटै वैदेशिक लगानी गर्न प्रतिबन्ध लगाइएको र त्यसको पहल दूरगामी असर पार्ने प्रकृतिको भन्दै अब विश्व बजारमा पनि नेपाली आईटी उद्योगहरू प्रवेश गर्नुपर्ने बताएका छन्। 

‘अब युवाहरुलाई अनुरोध– ढुक्क भएर नयाँ प्रोडक्ट निकाल्नुहोस्, विश्व बजारमा आँखा लगाउनुहोस्, पखेटा फैलाउनुहोस, मेहनत गर्नुहोस्, नेपालबाटै जित्नलाई संसार हुनेछ’, उनले भनेका छन्। 

गभर्नर पौडेलले बैंकिङ क्षेत्र विश्व बजारमा प्रवेश गर्न चाहने उद्योगलाई विस्तारमा सहयोग गर्न तयार हुने समेत आश्वासन दिएका छन्।
 
युवा आईटी व्यवसायीहरुलाई उनले भने, ‘नीतिगत सहज गरिदिएँ, अब विश्वबजारमा पखेटा फिँजाऊ।’ 

उनका अनुसार गएको केही वर्षमा नेपालको आईटी क्षेत्रले राम्रो मिहिनेत गरेको छ। अर्थ मन्त्रालयले गरेको कम्पनीहरू खोल्न सहज गर्ने, एफडीआईमा सीमा संशोधन गर्ने, करको दर विश्वसनीय बनाउनेजस्ता सुधारको आंशिक फलस्वरुप २ वर्षअघि वैदेशिक लगानीमा ४० वटाजति आईटी कम्पनी खुलेकामा एक वर्षअघि लगभग ४०० कम्पनी खुलेको पौडेलले जानकारी दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad