सडक विभागका महानिर्देशक डा. विजय जैसीले निर्माण कम्पनीहरुलाई काममा मोबिलाइज हुन आग्रह गरेका छन्।
अब रुग्ण ठेक्कामा निर्माण व्यवसायीलाई धेरै माया गर्न नसकिने उनले बताएका हुन्।
नेपाल पूर्वाधार पत्रकार समाजले नेपाल निर्माण व्यवसायी महासंघसँगको सहकार्यमा मंगलबार काठमाडौंमा आयोजना गरेको ‘रुग्ण ठेक्का व्यवस्थापनसम्बन्धी’ सरोकारवाला निकायसँग संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन्।
‘रहरले ठेक्का तोडिएको होइन। अन्तिम अवस्थामा आएर ठेक्का तोडिएको हो। यद्यपि, तपाईंहरू काममा मोबिलाइज हुनुस्। अहिले काममा निर्माण कम्पनी मोबिलाइज भएको पनि देखिएको छ,’ उनले भने, ‘ल इज ल (कानुन भनेको कानुन हो)। अब मायाले हुँदैन। सबै काममा लागौँ।’
यस्तै, उनले कतिपय कम्पनीले बोनस पनि खाइरहेको बताए।
‘कतिपय निर्माण कम्पनीले लिएको ठेक्का कुनै पनि रुग्ण भएको छैन। कतिपयको सबै रुग्ण ठेक्का भएको छ,’ उनले भने, ‘अब निर्माण व्यवसायीहरु पनि स्मार्ट हुनुपर्छ।’
Shares

प्रतिक्रिया