अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) ले विदेशी मह आयातलाई रोक्दै नेपाली महलाई प्राथमिकताका साथ प्रवद्र्धन गर्न सरकारसँग आग्रह गरेको छ।
महासङ्घले आज विज्ञप्ति जारी गरी विदेशी महको आयात रोक्न र माहुरीपालक किसानहरूलाई तालिम, प्रशिक्षण, अनुदान दिँदै मह उद्योगहरूको आवश्यक अनुगमनसहित स्वदेशी मह उत्पादन क्षेत्रको प्रवद्र्धनको कार्यक्रम अघि सार्न सरकारसँग आग्रह गरेको हो।
विज्ञप्तिमा भनिएको छ, ‘कृषिप्रधान देश नेपालको दुई तिहाइ जनसङ्ख्या आफ्नो जीवन र जीविकाका लागि कृषि पेसामा आश्रित रहेको र देशको अर्थतन्त्रमा झन्डै एक तिहाइ हिस्सा ओगट्ने भएकाले सरकारले गर्ने सामान्य नीतिगत निर्णयहरूले पनि जनसङ्ख्याको ठूलो हिस्सा र समग्र अर्थतन्त्रमा गम्भीर प्रभाव पर्न जान्छ।’
महासङ्घले परालको काठमाडौँ उपत्यकाका पशुपालक तथा च्याउ उत्पादनका निम्ति पराल ल्याउने क्रममा चाङ देखाएर विगत केही समयदेखि भँवरलोड/ओभरलोड भएको भन्दै तराईका विभिन्न जिल्लामा प्रहरीले प्रतिट्रक रु ५०० देखि एक हजारसम्म घूस लिएर ढुवानीको ट्रक छाड्ने गरिएको भन्दै दोषीमाथि कारबाहीको माग पनि गरेको छ। घूस लिने भएको कारण केही दिनदेखि परालको ढुवानी पूर्ण रूपमा बन्द गरिएको महासङ्घका अध्यक्ष चित्रबहादुर श्रेष्ठको भनाइ छ।
अध्यक्ष श्रेष्ठले भनेका छन्, ‘यो देशभर धान–पराल भित्र्याउने र बिक्री वितरण गर्ने समय हो। धानको भण्डारका रूपमा रहेको तराईका किसानहरूले धान–पराल बेच्ने र पहाड तथा विशेषगरी काठमाडौँ उपत्यकाका पशुपालक तथा च्याउ उत्पादक किसानले ठूलो मात्रामा पराल खरिद गरी भित्र्याउने समय हो, त्यसैले तसर्थ यस कार्यमा संलग्न भ्रष्ट प्रहरीहरूलाई कारबाही गर्न र परालको ढुवानीलाई सहजीकरणसहित अविलम्ब खुलाउन हामी जोडदार माग गर्दछौँ।’ रासस
Shares

प्रतिक्रिया