कारोबार


चीनको चाङ्शा उड्यो हिमालय एयरलाइन्स

चीनको चाङ्शा उड्यो हिमालय एयरलाइन्स

नेपालखबर
बैशाख १८, २०७७ बिहिबार १४:४३,

कोभिड–१९ सम्बन्धी अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन हिमालय एयरलाइन्सको जहाज चीनको चाङ्शा उडेको छ।

नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने हिमालय एयरलाइन्सको न्यारोबडी जहाज आज साँझ ६ः०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चाङ्शाका लागि उडान भरेको कम्पनीले जनाएको छ। काठमाडौंबाट उडान भरेको यो जहाज आज राति १२ः५ बजे चाङ्शास्थित हुवानघुवा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ। एयरवस ३२० कलसाइन नाइनए एएलडब्लु कार्गो जहाज शुक्रबार बिहान ६ः४० बजे काठमाडौँ विमानस्थलमा अवतरण गर्ने तालिका रहेको छ।

चीनबाट स्वास्थ्य सामग्री ल्याउनका लागि चार्टर्ड उडान गरिएको कम्पनीका ब्राण्ड तथा सेवा सुधार विभाग प्रमुख उज्ज्वला दलीले बताए। नेपालको निजी क्षेत्र र चीनको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सले लकडाउनको अवधिमा चीनमा यो दोस्रो चार्टर्ड उडान हो। यसअघि यही वैशाख १४ गते चीनको ग्वाङ्जाओमा चार्टर्ड उडान गरेको थियो।

हिमालयको जहाज चाङ्शाबाट स्वास्थ्य सामग्री लिएर शुक्रबार बिहान काठमाडौं अवतरण गर्नेछ। लकडाउनको अवस्थामा चीनको ग्वान्जाओबाट स्वास्थ्य मन्त्रालय तथा विभिन्न व्यवसायीले जहाज चार्टर्ड गरी स्वास्थ्य सामग्री ल्याइरहेका छन्।

हिमालय एयरलाइन्सले यस उडानका लागी आवश्यक लजिस्टिक सेवाशर्तहरुका लागि नियामक निकायबाट स्वीकृति पाएअनुसार सबै प्रकारका आधारहरु पूरा गरेर चाङ्शा उडान भरेको कम्पनीले विज्ञप्तिमार्फत उल्लेख गरेको छ।

हिमालयको चाङ्शासँग एयर लिंक पहिले नै स्थापित छ। कोभिड–१९को प्रकोप अघि नै हिमालयले २० नोभेम्बर २०१९ देखि मध्यचीनको हुनानप्रान्तको राजधानीचाङ्शाको साप्ताहिक सीधा उडान गर्दै आएको छ।

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले पछिल्लो ग्वाङ्जाओ कार्गो उडान सफलतापूर्वक सञ्चालन गरेको र चाङ्शा कम्पनीको उडान स्थलहरू मध्ये एक भएकाले दोस्रो कार्गो उडानका लागि सहज भएको बताए।

उनले कोभिड–१९को प्रकोप हुनुभन्दा अघि नै चीनका पाँच शहरहरुमा उडान सेवा शुरु गरिसकेको र यी हवाई पूलहरूमार्फत महामारीका विरूद्ध लडाइँ जित्नु र राष्ट्रको आपूर्तिलाई सहज गर्न अत्यावश्यक मेडिकल सामग्री ल्याउन कम्पनी तयारी अवस्थामा रहेको बताए।

नेपाल नागरिक उड्डयन प्राधिकरणको विशेष स्वीकृति प्राप्त गरिसकेपछि, हिमालय एयरलाइन्सको फ्लाईट क्रुले नेपाल सरकारको निर्देशनअनुसार स्वास्थ्य सुरक्षाका उपायहरू अपनाएको कम्पनीले जनाएको छ। उक्त कार्गो जहाजले चिकित्सा उपकरण, परीक्षण किट, व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), मास्क र पञ्जालगायत अन्य कोभिड–१९ औषधिजन्य सामग्री ल्याउनेछ।

नेपालको निजी क्षेत्र र चीनको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सले अबुधाबी, दमाम, दोहा, ढाका, क्वालालम्पुर, बेइजिङ्ग र छोङ्गिनसहित अन्य मुलुकका नौ गन्तव्यमा उडान भर्दै आएको छ।

हिमालयले अहिले आठ बिजनेस क्लास र १५० इकोनोमीक्लास सीट भएका तीन ए३२०–२१४ सिरिज र आठ बिजनेस क्लास र १२० इकोनोमीक्लास सीट भएको एक ए३१९–११५ एयरक्राफ्टले सेवा उपलब्ध गराउँदै आएको छ। एयरलाइन्सको निकट भविष्यमा ल्हासा उडान शुरु गर्ने योजना छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad