ad ad

कारोबार


लकडाउनमा तस्करको निशानामा वन

लकडाउनमा तस्करको निशानामा वन

नारायण अधिकारी
बैशाख १८, २०७७ बिहिबार १०:३५,

लकडाउनको समयमा वन क्षेत्रमा तस्करी बढेसँगै गस्तीलाई तीव्र पारिएको छ। हिँडडुल गर्न नपाउने भएपछि वन क्षेत्रमा अवैधरूपमा छिर्नेहरुको संख्या बढ्दै गएको डिभिजन वन कार्यालय चितवनले जनाएको छ।

लकडाउनको समयमा शहरबाट गाउँ आएकाहरु घाँस दाउरा गर्न वन क्षेत्र जाने र उनीहरुसँगै तस्करहरु पनि पस्ने भएकाले नियमित गस्तीसँगै टूर गस्तीसमेत शुरु गरिएको हो। कार्यालयका प्रमुख पदमराज नेपालका अनुसार कर्मचारीले नियमितरूपमा वनभित्रको विभिन्न क्षेत्रमा गरिने गस्ती (टूर गस्ती) लाई तीव्र बनाइएको छ। तस्करी गरेको जानकारी भएसँगै तत्काल पुग्ने गरी कार्यालयमा कर्मचारी तयारी अवस्थामा राखिएको नेपालको भनाइ छ।

वन पैदावर कटानी, चोरी निकासी, वन्यजन्तुको शिकार हुने क्रम बढ्न थालेपछि वन क्षेत्रमा निगरानी बढाइएको हो। स्थानीय प्रशासन, जनपथ प्रहरी, सशस्त्र प्रहरी बलको सहयोगसमेत लिँदै गस्तीलाई बलियो बनाइएको छ। वन उपभोक्ता समूह र वन समूहलाई समेत चनाखो रहन आग्रह गरिएको छ। अरु बेलाको तुलनामा लकडाउनको समयमा वन निशानामा पर्न थालेको नेपालले बताए। उनले भने, ‘गाउँवस्तीमा चहलपहल कम भएको मौका छोपेर काठ तस्करी हुन थालेको छ, नियन्त्रण गर्न हामी चनाखो छौँ।’

जिल्लामा कोराक, राप्ती, खैरहनी, कालिका, खगेडी, हरिपुर, भरतपुर, इच्छाकामनासहित आठ सवडिभिजन कार्यालय छन्। जिल्लामा ९१ सामुदायिक र ४३१ कबुलियती वन छन्। डिभिजन वन कार्यालयअन्तर्गत ५७ हजार ६५० हेक्टर वन क्षेत्र पर्छ। जसमध्ये सामुदायिक वनतर्फ २१ हजार ५०० हेक्टर, कबुलियती वन एक हजार ५६१ हेक्टर, वरण्डाभार संरक्षित वन १० हजार ३०२ हेक्टर, धार्मिक वन १० हेक्टर रहेको छ। जिल्लामा सशस्त्र वनरक्षक २३ र वनरक्षक २४ जना छन्। अधिकांश वनहरुमा हेरालु राखिएका छन्।

यसैबीच डिभिजन वन कार्यालय चितवनले लकडाउनको मौका छोपी काठ तस्कर गर्ने तीन जनालाई पक्राउ गरेको छ। कार्यालयका प्रमुख नेपालका अनुसार उनीहरुलाई १० थान साइकल, एक थान मोटरसाइकल र २४० क्यूफिट काठसहित पक्राउ गरिएको हो। पक्राउका क्रममा अन्य व्यक्ति भागेका छन्। गर्दास र शक्तिखोर क्षेत्रको बरण्डाभार क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको उनले जानकारी दिए। पक्राउ परेकाहरुलाई वन ऐनअन्तर्गत मुद्दा दर्ता गर्ने तयारी गरिएको नेपालले बताए। अहिले अनुसन्धानको काम भइरहेको छ।

कार्यालयका योजना शाखा प्रमुख सहायक वन अधिकृत बालकृष्ण खनालले बरामद भएका काठ र साइकल, मोटरसाइकललाई डिभिजन वन कार्यालय, सवडिभिजन कार्यालय रहेका शक्तिखोर, पदमपुरमा सुरक्षित राखिएको छ। तस्करका गिरोह नै नियन्त्रण गर्न गस्तीलाई प्राथमिकता दिइएको उनले बताए। उनका अनुसार लकडाउनकै समयमा घाइते, टुहुरा तथा असहाय वन्यजन्तु (चित्तल, बँदेल, मृग आदि) को उद्वार तथा उपचारका क्रममा सात वन्जन्तुको मरेका छन्। लकडाउनकै बेला डिभिजन वन कार्यालय मातहतको १२६ हेक्टर वन क्षेत्रमा लागेको वन डढेलो नियन्त्रण गरिएको उनले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .