कारोबार


युनिभर्सिटी अफ नेपाल र उद्योग वाणिज्य महासंघबीच सम्झौता

युनिभर्सिटी अफ नेपाल र उद्योग वाणिज्य महासंघबीच सम्झौता

नेपालखबर
मंसिर ३, २०८२ बुधबार १७:३७, काठमाडौँ

युनिभर्सिटी अफ नेपाल र नेपाल उद्योग वाणिज्य महासंघबीच ज्ञान आदान–प्रदान, नवप्रवर्तन, अनुसन्धान, रोजगारमुखी पाठ्यक्रम विकास तथा विद्यार्थीको क्षमता अभिवृद्धिसहित विभिन्न १० क्षेत्रमा सहकार्यका लागि पाँच वर्षे सम्झौतापत्र (एमओयू)मा हस्ताक्षर भएको छ। 

बुधबार राजधानी काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै युनिभर्सिटी अफ नेपालको तर्फबाट रजिस्टार सूर्यराज आचार्य र महासंघका तर्फबाट अध्यक्ष चन्द्र प्रशाद ढकालले हस्ताक्षर गरेका छन्।

सम्झौतामा विश्वविद्यालय र निजी क्षेत्रबीच सहकार्य विस्तार गर्दै औद्योगिक अनुभव, इन्टरनसिप अवसर, स्टार्टअप तथा नवप्रवर्तन प्रवर्द्धन, अनुसन्धान तथा विकास, छात्रवृत्ति, विकास कोष र एनडोमेन्ट फण्ड जस्ता गतिविधि संयुक्त रूपमा सञ्चालन गर्ने उल्लेख गरिएको छ।

विश्वविद्यालयले शैक्षिक स्रोत, अनुसन्धान सहयोग, उद्योग–शैक्षणिक सहकार्य, संयुक्त कार्यक्रम सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार उपलब्ध गराउनेछ भने महासंघले औद्योगिक अनुभव प्रदान, पाठ्यक्रम विकासमा सहयोग, इन्टरनसिप तथा रोजगारी अवसर सिर्जना तथा सहकार्यका लागि सहजीकरण गर्ने सम्झौतामा भनिएको छ।

हस्ताक्षर कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विश्वविद्यालय पढिसकेपछि रोजगारी खोज्दै डुल्ने अवस्थाको अन्त्य गर्न विश्वविद्यालयसँग सम्झौता गरिएको बताए। उनले महासंघको सहयोगमा विश्वविद्यालयले दक्ष र क्षमतावान विद्यार्थी उत्पादन गर्नसक्ने विश्वास समेत व्यक्त गरे।

अबको पुस्ताका लागि जागिर खोज्ने नभई जागिर दिने अवस्था निर्माण गर्नुपर्नेमा उनको जोड छ।

उनले विद्यार्थीको क्षमता अभिवृद्धि र औद्योगिक अनुभव प्रदान गर्न विश्वविद्यालय–महासंघबीच सहकार्य भएको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad