कारोबार


वित्तीय प्रणालीमा ३ वर्षदेखि खर्बौँको पैसा निष्क्रिय, तरलता व्यवस्थापन गर्न बैंकहरूलाई धौधौ

जेनजी प्रदर्शनले तरलताको समस्या लम्बिने निश्चित, घटायो नयाँ ऋणको माग
वित्तीय प्रणालीमा ३ वर्षदेखि खर्बौँको पैसा निष्क्रिय, तरलता व्यवस्थापन गर्न बैंकहरूलाई धौधौ

सम्झना घिमिरे
कात्तिक १७, २०८२ सोमबार १३:२४, काठमाडौँ

करिब ३६ महिनादेखिको अधिक तरलता व्यवस्थापन गर्न बैंकहरूलाई समस्या पर्नथालेको छ।

२०७९ बाटै सुस्ताएको कर्जा लगानीले बैंकिङ प्रणालीमा पैसा अधिकको अवस्था सिर्जना गरेको थियो भने पछिल्लो समय आर्थिक सूचकमा सुधार देखिँदा कर्जा माग वृद्धि हुने अपेक्षा थियो।

तर गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनसँगै कर्जाको माग बढ्न नसक्दा तरलता अझै केही वर्ष लम्बिने देखिएको छ।

अहिले बैंकहरू तेस्रो त्रैमासिक रिपोर्ट तयार गरिरहेका छन्। अधिक तरलताका कारण पहिलो त्रैमासिकमै बैंकहरूको लागत थप बढेको रिपोर्ट सार्वजनिक हुनसक्ने सम्भावना बढेको छ। 

कर्जा लगानी सुस्ताइरहेका बेला जेनजी आन्दोलनले निजी क्षेत्रको मनोबल खस्काएपछि नयाँ ऋण लगानी अपेक्षित हुन नसकेको बैंकर बताउँछन्।

यसले तीन वर्षदेखि भोग्दै आएको तरलता व्यवस्थापनको समस्या अझै केही वर्ष लम्बिने देखिएको हो।

०७९ असोजमा बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८७ प्रतिशत थियो। त्यसयता घटेर ७४ प्रतिशतमा आइपुगेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार अहिले बैंकिङ प्रणालीमा करिब १० खर्ब बराबरको रकम थुप्रिएर बसेको छ। बैंकहरुले भदौ महिनामा ५६ अर्ब कर्जा प्रवाह गर्दा करिब ९० अर्ब निक्षेप स्वीकार गरेका थिए।

जेनजी प्रदर्शनपछि कर्जा लगानीमा देखिएको सुस्तताले बैंकिङ प्रणालीमा थप रकम थुप्रिने सम्भावना बढेको बैंकरहरू बताउँछन्। 

‘आन्दोलनपछि ऋण प्रवाहको अवस्था झन् नाजुक भएको छ, नयाँ ऋण माग घटेको छ, प्रक्रियामा गइसकेकाहरूले पनि रोक्नका लागि अनुरोध गर्दै छन्’, एक बैंकरले नेपालखबरसँग भने। 

उनका अनुसार व्यवसायीको मनोबल घट्दा नयाँ लगानी बढ्न नसकेको हो। तीन वर्षदेखि अपेक्षित रुपमा कर्जा लगानी गर्न नसकेका बैंकहरुलाई जेनजी आन्दोलनपछि थप समस्या बन्न थालेको छ। यसले आवश्यकताभन्दा १० खर्ब बढी पैसा बोकेर बसेको बैंकिङ क्षेत्रलाई नै थप समस्या सिर्जना भएको छ। 

‘१० खर्बबराबरको तरलता लिएर बसिरहेका छौँ, यसले भोलिको दिनमा जोखिम ननिम्त्याउला भन्न सकिन्न’, उनले भने, ‘यो वित्तीय प्रणालीको अर्को ठूलो जोखिम हो।’ 

सामान्यतया बैंक तथा वित्तीय क्षेत्रमा कुल निक्षेपको २० प्रतिशत तरलता हुनु राम्रो मानिन्छ। त्यसैले राष्ट्र बैंकले कुल निक्षेपको २० प्रतिशत तरलता अनिवार्य गरेको छ। त्यसमाथिको अवस्थालाई भने तरलता बढी भएको मानिन्छ। 

अहिले ३५ प्रतिशतको हाराहारीमा खुद तरलता बैंकहरूसँग छ। जसमा १० खर्ब रकम अधिक हो। 

केन्द्रीय बैंकले तरलता व्यवस्थापन गर्नकै लागि अहिले स्थायी निक्षेप सुविधासँगै निक्षेप संकलन पनि तीव्र पारेको छ। खासमा स्थायी निक्षेप सुविधाबाट व्यवस्थापन हुन नसकेपछि निक्षेप संकलन पनि हप्तामा दुई पटकसम्म गर्न थालेको छ। यति हुँदा पनि व्यवस्थापनमा समस्या भइरहेको जानकार बताउँछन्। 

वित्तीय प्रणालीमा अधिक तरलता भएको अवस्थामा बैंकदर घट्छ। अहिले बैंकदर घटेर २.७५ प्रतिशतमा छ। अधिक तरलताका कारण राष्ट्र बैंकले तल्लो सीमालाई घटाएपछि बैंकहरूको ब्याजदर निरन्तर खस्कँदै गएको हो। 

ब्याजदर घटेसँगै ब्याज आम्दानीमा खुम्चिएका बैंकहरूले अहिले सस्तो दरका लामो अवधिका ऋणहरूलाई कम गर्न थालेका छन् भने छोटो अवधिका ऋणहरूलाई विशेष प्राथमिकता दिइरहेका छन्। 

तरलता सहज हुने परिस्थिति बिग्रिँदै गएपछि बैंकहरूले भविष्यमा पर्न सक्ने लागतलाई न्यूनीकरण गर्न स्थिर ब्याजमा प्रवाह हुने लामो समयावधिका कर्जाहरूको तुलनामा छोटो अवधिको कर्जालाई प्राथमिकतामा राख्न थालेका हुन्। 

अहिले वाणिज्य बैंकहरूले १० वर्षमाथिको समयावधि भएका स्थिर प्रकृतिको कर्जामा न्यूनतम ८ देखि अधिकतम ११ प्रतिशतसम्म ब्याज कायम गरेका छन्। यसले भविष्यमा पनि सस्तो ब्याजमै कर्जा प्रवाह गर्नुपर्ने अवस्था सिर्जना हुने भन्दै केही बैंकले भने स्थिर र लामो समयावधिका ऋणहरूलाई कम गर्न थालेका हुन्। 

‘दोहोरो अंकको ब्याज रहेका बैंकहरूले रोकेका छैनन् तर लामो समय अवधिको ऋणमा पनि एकल अंकको ब्याज भएका बैंकहरूले भने भविष्यमा बढ्ने लागतको अनुमान गरेर अहिले नै त्यस्ता कर्जा रोकेका छन्’, ती बैंकरले भने।

त्यसो त अहिले कतिपय बैंकहरूले ठूला संस्थागत निक्षेपहरू स्वीकार गर्न मानिरहेका छैनन्। व्यक्तिगत निक्षेपहरू नै बढिरहेको र बैंकको ब्याज भुक्तानी बढाएको बेलामा बैंकहरूले संस्थागत निक्षेपहरू लिन आनाकानी समेत गर्दै आएको व्यवसायीहरू बताउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad