संयुक्त राज्य अमेरिकाको वासिङटन डीसीमा रहेका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले बिहीबार एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दासँग भेटवार्ता गरेका छन्।
विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा उनी अमेरिकामा छन्।
उक्त भेटमा अर्थमन्त्री खनालले एसियाली विकास बैंकले खासगरी पूर्वाधार विकासका क्षेत्रमा नेपाललाई लामो समयदेखि गर्दै आएको योगदानको चर्चा गरे।
मन्त्री खनालले वर्तमान सरकार निजी क्षेत्रको विकासका लागि लगानीयोग्य वातावरण बनाउन दृढ रहेको बताए।
साथै एसियाली विकास बैंकको लगानीमा हाल निर्माण भएका ठूला पूर्वाधार आयोजनाबारे बताउँदै अध्यक्ष कान्दालाई नेपाल भ्रमणको लागि निमन्त्रणा गरे। अध्यक्ष कान्दाले नेपालमा भएको राजनीतिक परिवर्तन र सुशासन कायम गर्ने विषयमा जिज्ञासा राखेका थिए। साथै उनले नेपाल भ्रमणको निमन्त्रणा दिएकोमा धन्यवाद दिँदै उपयुक्त समयमा नेपाल भ्रमण गर्न आफू इच्छुक भएको बताए।
अर्थमन्त्री खनालले आजै विश्व बैक र अन्तर्राष्ट्रिय मुद्रा कोषको दक्षिण पूर्वी एसियाली समूहको गभर्नरहरुको बैठकमा बोल्दै नेपालमा जलविद्युत् उत्पादन र सूचना प्रविधि पूर्वाधार विकासमा लगानी गर्न आग्रह गरे। विकास आयोजनाको कार्यान्वयनमा ढिलाइ भएको चर्चा गर्दै मन्त्री खनालले विश्व बैंकलाई आयोजना कार्यान्वयनका मापदण्ड र निर्देशिकालाई थप सरल बनाउन सुझाव दिए।
मन्त्री खनालले वित्तीय क्षेत्रको स्थायित्वका लागि तयार गरिने विश्वव्यापी मापदण्ड बनाउन आवश्यक भए पनि कार्यान्वयनका क्रममा कुनै देश विशेषको स्थानीय आवश्यकता र परिवेशलाई पनि उत्तिकै ध्यान दिन अन्तर्राष्ट्रिय मुद्रा कोषलाई आग्रह गरे। सो अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको समेत उपस्थिति थियो।
Shares

प्रतिक्रिया