कारोबार


नेपाल र जर्मनीबीच वित्तीय र प्राविधिक सहयोगसम्बन्धी सम्झौता

नेपाल र जर्मनीबीच वित्तीय र प्राविधिक सहयोगसम्बन्धी सम्झौता

नेपालखबर
असोज २२, २०८२ बुधबार १७:७, काठमाडौँ

नेपाल सरकार र संघीय गणतन्त्र जर्मनीबीच वित्तीय सहयोग र प्राविधिक सहयोगसम्बन्धी दुई महत्त्वपूर्ण सम्झौताहरुमा आज हस्ताक्षर सम्पन्न भएको छ। 

यी सम्झौताहरुले नेपालको ऊर्जा, स्वास्थ्य, कृषि, शासन तथा समावेशी विकासका प्राथमिकतालाई सहायता गर्ने लक्ष्य लिएको अर्थ मन्त्रालयले जनाएको छ।

अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्मा र काठमाडौँस्थित नेपालका लागि जर्मनीका राजदूत उडो भोल्जले हस्ताक्षर गरेका हुन्।  

वित्तीय सहयोग सम्झौताअन्तर्गत जर्मन सरकारले पावर डिस्ट्रिब्युसन स्ट्रेन्थेनिङ कार्यक्रममा २० मिलियन युरो सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। यस परियोजना नेपालको विद्युतीय वितरण प्रणालीको स्तरोन्नति र सुदृढीकरणमा केन्द्रित हुनेछ, जसले देशभरि भरपर्दो र प्रभावकारी विद्युत सेवा सुनिश्चित गर्ने अर्थ मन्त्रालयको भनाइ छ।

यो परियोजना नेपाल विद्युत् प्राधिकरणमार्फत कार्यान्वयन गरिनेछ र त्यसका लागि नेपाल विद्युत प्राधिकरण र जर्मन विकास बैंक केएफडब्ल्यूबीच कार्यान्वयन सम्झौता पनि हुनेछ। यो सम्झौताको कार्यान्वयन पाँच वर्षभित्र अर्थात् ५ सेप्टेम्बर २०२९ सम्ममा सम्पन्न हुनुपर्ने उल्लेख गरिएको छ।

प्राविधिक सहयोग सम्झौता सन् १९७४ मा हस्ताक्षर गरिएको दीर्घकालीन ढाँचागत सम्झौता र सन् २००९ मा संशोधित सम्झौतामा आधारित रहेको छ। यसअन्तर्गत २१ मिलियन युरोसम्मको अनुमानित प्रतिबद्धतासहित जर्मनीले विभिन्न क्षेत्रमा सहयोग पुर्‍याउनेछ। 

यसअनुसार स्वास्थ्य क्षेत्रमा राष्ट्रिय लैङ्गिक समानता तथा सामाजिक समावेशी रणनीतिका लागि निरन्तर समर्थन प्रदान गर्दै स्वास्थ्य प्रणालीमा गुणस्तरीय पूर्वाधारलाई थप स्तरीय बनाउन, कृषि तथा निजी क्षेत्र विकासमा, समावेशी र जलवायु-प्रतिकारशील आर्थिक विकासलाई प्रवर्द्धन गर्ने ग्रेप (ग्रिन रिजिलियन्ट एग्रिकल्चरल सेन्टर्ड प्राइभेट सेक्टर इकोनोमिक डेभलपमेन्ट कार्यक्रम, शासन क्षेत्रमा राजस्व क्षेत्र सुधारमा आधारित परियोजना अघि बढाइने भएको छ। यसबाट दिगो विकासमा योगदान पुर्‍याउने लक्ष्य छ।

त्यसैगरी अध्ययन तथा विज्ञ कोषमार्फत सल्लाहकार तथा प्राविधिक सहायता प्रदान गरिनेछ। यस प्राविधिक सहायता सम्झौताको कार्यान्वयन समेत पाँच वर्षभित्र अर्थात् ५ सेप्टेम्बर २०२९ सम्ममा सम्पन्न हुने उल्लेख गरिएको छ।

अर्थ मन्त्रालयका सहसचिव शर्माले जर्मनीको निरन्तर सहयोगप्रति आभार व्यक्त गरेका थिए। राजदूत उडो भोल्जले यो नयाँ प्रतिबद्धताले ऊर्जा, दिगो आर्थिक विकास र स्वास्थ्य क्षेत्रमा नेपाल र नेपाली जनतासँगको सहकार्यलाई अझ प्रगाढ बनाएको बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad